२३ असार २०८३, मंगलबार
लोकान्तर विशेष रिपोर्ट– २

कांग्रेसको मत विश्लेषण: जितेका १३३ र हारेका १४१ तहमा ५०० भन्दा कम मतान्तर [तथ्यांकसहित]

कांग्रेसको मत विश्लेषण: जितेका १३३ र हारेका १४१ तहमा ५०० भन्दा कम मतान्तर [तथ्यांकसहित]

वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा दोस्रो स्थानमा खुम्चिएको नेपाली कांग्रेस यसपटक पहिलो दल बन्ने दाबीसहित चुनावी मैदानमा उत्रिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता बदर र एमाले विभाजनको लाभ उठाउँदै सत्तामा उक्लिएको कांग्रेस कम्युनिस्ट घटकहरूलाई पुन: मिल्नबाट रोकेर चुनावमा बाजी मार्ने रणनीतिमा देखिन्छ ।

त्यसो त सत्ता घटक दलहरूबीच चुनावी तालमेलको बहस पनि भइरहेको छ । तर, प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र एकाधबाहेकका कांग्रेस नेता गठबन्धनका विषयमा सकारात्मक देखिन्नन् ।

कम्युनिस्ट विभाजनको लाभ मिल्ने आन्तरिक हिसाबकिताबमा रहेको कांग्रेसले तालमेललाई पुन: वाम गठबन्धन बन्न नदिने रणनीतिका रूपमा मात्र उपयोग गर्ने सम्भावना छ ।

कांग्रेस उपसभापति धनराज गुरुङसहित केही नेताले त गठबन्धन सहयात्री दलहरूलाई निकै होच्याउने खालको अभिव्यक्ति दिइरहेका छन् ।

कांग्रेस चुनावलाई लिएर यति धेरै आत्मविश्वासी बन्ने अवस्था छ त ? त्यससम्बन्धी कुनै निचोडमा पुग्न अघिल्लो स्थानीय तह निर्वाचनमा प्राप्त मत परिणामले केही हदसम्म सघाउँछ ।

अघिल्लोपटक स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीच देशका विभिन्न स्थानमा चुनावी तालमेल भएको थियो । तर, त्यो देशव्यापी भने बन्न सकेन ।

तालमेल त्यति फलदायी नभएपछि प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा यो गठबन्धन कायम रहन सकेन ।

पार्टी नै एकता गर्ने घोषणासहित नेकपा एमाले र नेकपा माओवादी केन्द्र वाम गठबन्धन बनाएर चुनावमा होमिए । परिणाम स्वरूप कांग्रेस एमालेभन्दा झण्डै आधा सिट जीतेर दोस्रो स्थानमा खुम्चिएको थियो ।

तर, स्थानीय तह निर्वाचनको नतिजा हेर्दा भने एमाले र कांग्रेसबीच त्यति ठूलो अन्तर देखिन्न ।

त्यतिबेला एमालेले २९४ स्थानीय तहमा जीत हात पार्दा कांग्रेसको पोल्टामा २६६ स्थानीय तह परेको थियो ।

यो नतिजा कांग्रेसका लागि सुखद् नभए पनि त्यति बेला दोस्रो स्थानमा रहेका स्थानीय तहको हिसाबकिताब गरेर कांग्रेस अलि बढी नै आत्मविश्वासी बनेको देखिन्छ ।

२०७४ को स्थानीय निर्वाचनमा के थियो कांग्रेसको स्थिति ? त्यतिबेलाको मत परिणामलाई विस्तृतमा नियालौं :

१३३ स्थानीय तहमा ५०० भन्दा कम मतान्तरले विजयी,३३ वटामा सयभन्दा कम

७५३ स्थानीय तहका लागि भएको निर्वाचनमा दोस्रो भएको नेपाली कांग्रेसले २ सय ६६ स्थानीय तहमा जीत हात पारेको थियो ।

यसमध्ये मनाङको नारफू गाउँपालिकामा कांग्रेस उम्मेदवार मिङ्मा छिरिङ लामा निर्विरोध निर्वाचित भएका थिए ।

४४ नगरपालिका र ८९ गाउँपालिका गरी १३३ स्थानीय तहमा कांग्रेसले ५०० भन्दा कम मतान्तरले जीत हात पारेको थियो ।

३३ स्थानीय तहमा त कांग्रेसका गाउँपालिका अध्यक्ष तथा नगरपालिका प्रमुखका उम्मेदवार १०० भन्दा कम मतान्तरले विजयी भएका थिए ।

३१ स्थानीय तहमा १०१ देखि २००, २५ वटामा २०१ देखि ३००, २२ वटामा ३०१ देखि ४००, २२ वटामै ४०१ देखि ५०० सम्मको मतान्तरले कांग्रेस उम्मेदवारहरूले बाजी मारेका थिए ।

७२ वटा स्थानीय तहमा ५०१ देखि १००० सम्मको मतान्तर रहेकोमा २९ स्थानीय तहमा १००१ देखि १५०० तथा ३१ स्थानीय तहमा १५०० भन्दा माथिको मतान्तरले कांग्रेस उम्मेदवार विजयी भएका थिए ।

ताप्लेजुङमा झिनो जीत,धादिङको नीलकण्ठमा सबैभन्दा बढी मतान्तर

कांग्रेसले सबैभन्दा झिनो मतान्तरले जीत हात पारेको स्थानीय तह ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका हो ।

त्यहाँ कांग्रेसका विश्वनाथ सिटौलाले एमालेका लक्ष्मीबहादुर यक्सोलाई १३ मतले पराजित गरेका थिए ।

मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा १६ र सिन्धुलीको तीनपाटन गाउँपालिकामा १९ मतले कांग्रेसले बाजी मारेको थियो ।

धादिङको नीलकण्ठ नगरपालिका कांग्रेसले सबैभन्दा बढी मतान्तरले जीत हात पारेको स्थानीय तह हो ।

कांग्रेस उम्मेदवार भीमप्रसाद ढुंगानाले एमालेका अर्जुनकुमार श्रेष्ठलाई ६ हजार १ सय ७६ मतान्तरले पराजित गरेका थिए ।

उक्त स्थानीय तहमा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो ।

उपप्रमुखमा माओवादीका मनराज भण्डारी विजयी भएका थिए ।

गाउँपालिकातर्फ भने तनहुँको ऋषिङ गाउँपालिकामा कांग्रेसले सबैभन्दा बढी मतान्तरले जीत हात पारेको थियो ।

कांग्रेसका राजेन्द्रकृष्ण श्रेष्ठले एमालेका भूपालसिंह थापालाई २ हजार ४ सय ५२ मतले पराजित गरेका थिए ।

यी दुवै स्थानीय तहमा कांग्रेस उम्मेदवारले निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवारभन्दा झण्डै दोब्बर मत ल्याएका थिए ।

हेर्नुहोस्, कांग्रेसले जितेका स्थानीय तहहरूको पूरा विवरण :

३१९ स्थानीय तहमा कांग्रेस दोस्रो,१४१ वटामा ५ सयभन्दा कम मतान्तर

अघिल्लो निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी रहने सबालमा कांग्रेस सबैभन्दा अगाडि थियो ।

३१९ स्थानीय तहमा प्रमुख र अध्यक्षका कांग्रेस उम्मेदवार दोस्रो स्थानमा सीमित भएका थिए ।

त्यसमध्ये १ सय ४१ स्थानीय तहमा कांग्रेस उम्मेदवारहरूले ५ सयभन्दा कम मतान्तरले हार व्यहोरेका थिए ।

१०० भन्दा कम मतान्तरले हार्ने कांग्रेस उम्मेदवारको संख्या नै ३४ थियो ।

३८ स्थानीय तहमा १०१ देखि २००, २३ वटामा २०१ देखि ३००, २८ वटामा ३०१ देखि ४००, १८ वटामा ४०१ देखि ५०० सम्मको मतान्तरले कांग्रेस उम्मेदवार पराजित भएका थिए ।

७४ वटा स्थानीय तहमा ५०१ देखि १००० सम्मको मतान्तर रहेकोमा ३४ स्थानीय तहमा १००१ देखि १५०० तथा ७० स्थानीय तहमा १५०० भन्दा माथिको मतान्तरले कांग्रेस निराश बनेको थियो ।

कमल गाउँपालिकामा गोलाप्रथामा हार,चौरपाटीमा १ मतले निराश

झापाको कमल गाउँपालिकामा मत बराबर आएपछि गोलाप्रथा गर्दा कांग्रेस उम्मेदवार हुकुमसिंह राई पराजित भएका थिए । कांग्रेसले सबैभन्दा झिनो अन्तरले हारेको कमल गाउँपालिकामा नै हो ।

त्यसैगरी अछामको चौरपाटी गाउँपालिकामा कांग्रेसका भीमबहादुर साउद एमालेका हर्कबहादुर साउदसँग १ मतले पराजित भएका थिए ।

पर्साको बिन्दबासिनी गाउँपालिकामा कांग्रेसलाई संघीय समाजवादी फोरमले ८ मतले पराजित गरेको थियो ।


salt training

कमेन्ट गर्नुहोस्