
स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा मधेश प्रदेशमा दल अदलबदल तीव्र बनेको छ । वैशाख ३० गतेका लागि घोषित चुनावको मिति नजिकै आइसक्दा पार्टी परित्याग र प्रवेशको लहर चलेको हो ।
टिकट नपाउने भएपछि बार्गेनिङ गरेर अर्को दलमा जाने प्रवृत्ति देखिएको छ । विशेषगरी विभिन्न पदका आकांक्षीहरू अस्थिर बनेका छन् ।
राजनीतिक दलका शीर्ष नेताहरूको ध्यान मधेश प्रदेशमा केन्द्रित भएका कारण त्यहाँका नेता तथा कार्यकर्तादेखि स्थानीय तहका जनप्रतिनिधिहरू समेत तानातानमा छन्।
वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगी फागुन २८ गते जनता समाजवादी पार्टी (जसपा) परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका थिए ।

मधेश प्रदेशको एक मात्र महानगर वीरगञ्जका प्रमुख सरावगीलाई पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफैं वीरगञ्ज पुगेका थिए।
जसपाबाट निर्वाचित भएका सरावगीले जसपामा चरम जातीयता हावी भएको तथा जसपाकै कार्यकर्ताहरूबाट असहयोग भएका कारण पार्टी परित्याग गरेको बताएका थिए ।
जसपा परित्याग गर्ने सोच धेरै पहिलेदेखि बनाएका उनी नेपाली कांग्रेसमा जान चाहेका थिए । तर मेयरको टिकट पक्का नहुने देखिएपछि उनले एमाले रोजेको चर्चा छ ।
सरावगी एमाले प्रवेश गर्नुअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता राजेशमान सिंह पार्टी परित्याग गर्दै एमाले प्रवेश गरेका थिए ।
वीरगञ्जमा पत्रकार सम्मेलन गरेर उनले लोसपा परित्याग गरी एमाले प्रवेश गरेको घोषणा गरेका थिए ।
सिंह अघिल्लोपटक साविक राष्ट्रिय जनता पार्टी (राजपा) बाट महानगर प्रमुखका लागि उम्मेदवार बनेका थिए ।
सरावगी एमाले प्रवेश गरेपछि सिंह एमाले परित्याग गरेर जसपामा प्रवेश गरेका हुन् । अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराईलगायत शीर्ष नेता वीरगञ्ज पुगेर सिंहलाई पार्टीमा स्वागत गरेका थिए ।
एमाले पार्टीबाट सरावगीले नै मेयरको टिकट पाउने सम्भावना देखेपछि सिंह एमाले छाडेर जसपामा प्रवेश गरेका हुन् । सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेल वा गठबन्धन गरे जसपाले वीरगञ्ज महानगरमा उम्मेदवारी दिन पाउने सम्भावना छ ।
त्यसो भए गत स्थानीय निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी रहेका सिंह जसपाको उम्मेदवार बन्ने सम्भावना छ ।
एमालेबाट अघिल्लोपटक बसरुद्दीन अन्सारीले टिकट पाएका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओली बिरामी भएर थाइल्यान्डमा उपचार गराउँदा उनको उपचारमा लागेको सबै खर्च अन्सारीले व्यहोरेको कुरा बाहिर आएको थियो ।
ओलीसँग धेरै निकट सम्बन्ध रहेका अन्सारी सरावगीको प्रवेशपछि असन्तुष्ट देखिएका छन्।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता शिव पटेल लोसपा परित्याग गर्दै एमालेमा प्रवेश गरेका छन् ।
गत फागुन २८ गते एमालेको बहादुरमाई नगरकमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममार्फत पटेल एमाले प्रवेश गरेका थिए ।
पर्सा जिल्लाको सदरमुकाम वीरगञ्ज महानगरबाट १४ किलोमिटर मात्र दुरीमा रहेको उक्त नगरपालिकाको मेयर बन्ने इच्छा उनले राखेका छन् । चैत ६ गते एमालेले काठमाडौंमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनलाई अध्यक्ष ओलीले औपचारिकरूपमा स्वागत गरेका थिए ।
सद्भावना पार्टीबाट राजनीति शुरूआत गरेका उनले मधेश आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । राजपामा हुँदा उनी केन्द्रीय महासचिव समेत भएका थिए । मधेशवादी दलका नेताले मधेश आन्दोलनलाई भजाएर जनतालाई धोका दिएको हुनाले एमाले प्रवेश गरेको उनको भनाइ छ ।
'मधेशलाई अब पहिचानको आवश्यकता छैन, मधेशलाई समृद्धिको खाँचो छ, त्यो समृद्धि एमाले अध्यक्ष ओलीको नेतृत्वमा पूरा हुन्छ,' पटेलले भनेका थिए ।
सप्तरीकी एमाले नेतृ रञ्जु ठाकुर चैत ९ गते एमाले परित्याग गरी जसपामा प्रवेश गरेकी छिन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले उनलाई पार्टीमा स्वागत गरे ।
दोस्रो संविधानसभा निर्वाचनमा एमालेका तर्फबाट समानुपातिक सांसद बनेकी ठाकुर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समितिको सभापति समेत भइसकेकी छन् ।
उनका पति मिहिर ठाकुरलाई ओलीले नै राष्ट्रिय मानव अधिकार आयोगको सदस्यमा सिफारिश गरेका थिए।
ओली प्रधानमन्त्री भएका बेला संवैधानिक परिषदको बैठकबाट विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिश गरिएको थियो । पूर्व न्यायाधीश ठाकुरलाई ओलीले राष्ट्रिय मानव अधिकार आयोगको सदस्यमा सिफारिश गरेका थिए । ठाकुर अहिले पनि आयोगको सदस्यको रूपमा कार्यरत छन् ।
यी त उदाहरण मात्र हुन्। आजभोलि दिनदिनै मधेशमा पार्टी त्याग्ने र प्रवेश गर्ने लहर चलेको छ ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुरसहितका शीर्ष नेताहरू पछिल्लो समय मधेश पुगेका छन् ।

सबै पार्टीका शीर्ष नेताले मधेशमा पुगेको बेला पार्टी प्रवेश कार्यक्रम आयोजन गरेर अर्को पार्टी परित्याग गरेर आउने नेता कार्यकर्तालाई आ-आफ्नो पार्टीमा प्रवेश गराउने गरेका छन् ।
यो क्रम स्थानीय चुनावको उम्मेदवारी मनोनयन दर्ता हुने दिनसम्म चलिरहने देखिन्छ । त्यसबाहेक सबै राजनीतिक दलहरूले स्थानीय निर्वाचनलाई लक्षित गरेर प्रशिक्षण कार्यक्रम समेत गरिरहेका छन् ।
राजनीतिक विश्लेषक रोशन जनकपुरी चुनावको मुखमा पार्टी प्रवेशको लहरलाई संसदीय व्यवस्थाले जन्माएको चरम अवसरवाद भन्छन् ।
'अहिले कुनैपनि नेता तथा कार्यकर्ता राजनीतिक दलको विचार, सिद्धान्त वा दर्शनका कारण पार्टी प्रवेश गरेको देखिएको छैन,' जनकपुरीले लोकान्तरसँग भने, 'नाफा हुन्छ कि भनेर एउटा पार्टीमा गयो, त्यहाँ जाँदा पनि नाफा नहुँदा फेरि अर्को पार्टीमा जाने प्रवृत्ति देखिएको छ ।'
चुनावमा टिकट पाउनका लागि चन्दा दिनेदेखि पार्टी प्रवेश गर्नेसम्मका गतिविधि भइरहेको बताए ।
'राजनीतिक दलका नेताहरूलाई पनि आमजनताको मुद्दा उठाउने, जनताका लागि योगदान गर्नसक्ने योग्य, सक्षम व्यक्तिभन्दा चन्दा दिनसक्ने व्यापारी, ठेकेदार नै चाहिएको छ, त्यसकारण यस्तो अवसर खोज्नेहरूको बिगबिगी बढेको हो,' जनकपुरीले भने।
जनकपुरका वरिष्ठ पत्रकार तथा साहित्यकार रामभरोस कापडी पनि पद र पैसाको आकर्षणका कारण नेता तथा कार्यकर्ताहरूमा एउटा पार्टी छाड्ने र अर्को पार्टी प्रवेश गर्ने प्रवृति बढेको बताउँछन् ।
अहिले राजनीतिबाट नैतिकता नै हराएको उनले बताए ।

'राजनीतिमा नैतिकता ह्रास आएको छ, वर्षौं संघर्ष गरेर बस्दै आएको पार्टीमा टिकट, पद नपाउँदै क्षणभरमा आवेगमा आएर पार्टी परित्याग गर्ने र अर्को पार्टी प्रवेश गर्ने प्रवृति मधेशमा बढेको छ,' कापडीले लोकान्तरसँग भने, 'धैर्यताको अभाव देखिएको छ, तत्काल पद चाहिने आकांक्षाका कारण पनि त्यस्तो भएको हो।'
सामान्य आर्थिक अवस्था भएकाहरू पनि चुनाव जितेपछि अस्वभाविक ढंगले सम्पन्न बनेको भन्दै उनले सोही कारण जसरी पनि टिकट चाहियो भन्ने मनोवृत्ति देखिएको बताए ।
'जुनसुकै हालतमा टिकट चाहियो भन्ने मनोविज्ञान विकसित भएको देखिन्छ । जसरी पनि पद र पैसा चाहियो भन्ने मनोविज्ञान देखिएको छ,' उनले थपे, 'तर पद र पैसाको लोभमा एउटा पार्टी छाडेर अर्को पार्टीमा जानेहरू त्यो पार्टीमा पनि लामो समय टिक्दैनन् ।'
नेता कार्यकर्तामा धैर्यता र इमान्दारिता नहुँदा यस्तो समस्या मौलाएको उनको टिप्पणी छ ।