१० असार २०८३, बुधबार

विद्यालयमा पालैपालो खाजा बनाउँदै अभिभावक, विद्यार्थीलाई घरकै वातावरण महसूस

विद्यालयमा पालैपालो खाजा बनाउँदै अभिभावक, विद्यार्थीलाई घरकै वातावरण महसूस

बागलुङको काठेखोला गाउँपालिका–७ रेशकी आशा गुरुङको २ महिनापछि विद्यालयमा खाजा बनाउने पालो आयो । विद्यालयले खबर गरेपछि उनी सबै काम छाडेर विद्यालयमा खाजा बनाउन पुगिन् ।

विद्यालयको चेमना गृहमा दिनभर लगाएर खाजा बनाएपछि गुरुङको काम बालबालिकालाई खाजाको भाग लगाइदिने हो ।

प्राथमिक तहका सबै विद्यार्थीले खाजा खाइसकेपछि मात्र उनी घर फर्किइन् ।

रेश नुन्थला माध्यमिक विद्यालयमा गुरुङका २ छोराछोरी अध्ययनरत छन् । गुरुङ मात्रै होइन, विद्यालयमा प्राथमिक तहमा अध्ययन गर्ने सबै विद्यार्थीका अभिभावकको पालो हरेक २ महिनामा आउँछ ।

सरकारले उपलब्ध गराएको निःशुल्क खाजा कार्यक्रमअन्तर्गत रेश नुन्थला माविले अभिभावकले नै खाजा बनाएर खुवाउने कार्यक्रम बनाएको छ ।

विद्यालयले अभिभावककै सल्लाहमा बनाएको सो नियमले अहिले सबैलाई सजिलो भएको छ । ‘खाजा खर्च दिएर पठाउनुभन्दा यहीँ खाजा बनाएर खुवाउँदा केटाकेटी खुशी छन्, ताजा पनि हुन्छ,’ गुरुङले भनिन्, ‘२ महिनामा १ पटक विद्यालय आउँदा यहाँको वातावरणबारे हामीलाई जानकारी हुन्छ, सरहरूलाई सल्लाह दिन पाइन्छ ।’

सामुदायिक विद्यालयप्रति अभिभावकको चासो बढाउनकै लागि अनिवार्य खाजा बनाउने कार्यक्रम तयार गरिएको प्रधानाध्यापक ओमबहादुर थापाले बताए । ‘उहाँहरू यहाँ आउँदा सरसल्लाह हुन्छ, आफ्ना बालबालिकाको पढाइ र विद्यालयबारे समेत थाहा पाउनुहुन्छ,’ थापाले भने, ‘धेरै विद्यार्थी छन्, २ महिनामा खाजा बनाउन पालो आउँछ ।’ 

सरकारले विद्यार्थीको खाजावापत दिने रकमबाट विद्यालयले सामग्री खरिद गर्छ । विद्यालयकै चमेना गृहमा खाजा बनाउनका लागि सबै सामग्री तयार पारिएको हुन्छ । कोदोको पिठो, सुजी, चना, अण्डा, रोटीलगायत खाजा बनाएर अभिभावकले विद्यार्थीलाई खुवाउँछन् । अभिभावकको पालो भने विद्यालयले तोक्छ । 

प्राथमिक तहमा ७० विद्यार्थी अध्ययनरत छन् । ‘विद्यालयका सूचना पुर्‍याउन होस् वा यहाँका शिक्षक कर्मचारीलाई जिम्मेवार बनाउन होस्, दिनदिनै अभिभावक उपस्थित हुँदा धेरै सहज हुन्छ,’ थापा भन्छन्, ‘सामुदायिक विद्यालयको पढाइ र शिक्षक कर्मचारीको विषयमा अनावश्यक हुने टीकाटिप्पणी समेत कम हुन्छन् ।’

अभिभावक नै विद्यालयमा पुगेर खाजा खुवाउँदा विद्यार्थीले घरको वातावरण महसूस गर्ने गरेका उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्