
निजी शैक्षिक संस्थाहरूले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने भएका छन् ।
हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीहरूमा मानसिक दवाद पर्ने र अध्ययन पाठ्यक्रम पनि समयमा अध्यापन गराउन नसकिने भन्दै निजी शैक्षिक संस्थाहरूले सरकारले निर्णय नमान्ने बताएका हुन् ।
सरकारले निजी शैक्षिक क्षेत्रसँग छलफल र परामर्श नगरी अचानक अव्यवहारिक निर्णय गरेको भन्दै उनीहरूले गुनासो समेत गरेका छन् ।
उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) का महासचिव लोकबहादुर भण्डारीले सरकारले निजी शैक्षिक संस्थाहरूसँग बिना कुनै छलफल हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय नमान्ने बताए ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीहरूमा मानसिक दवाव पर्ने र पढाएको नबुझ्ने भन्दै सरकारको निर्णय मान्न नसक्ने बताए ।
महासचिव भण्डारीले सरकारले दिने सर्वाजनिक बिदा पनि धेरै रहेको र सार्वजनिक बिदाको कटौती नगरी हप्ताको दुई दिन बिदा दिँदा पाठ्यक्रम पढाएर नसकिने स्पष्ट पारे ।
उनले सरकारले दुई दिन बिदा दिने कुराको वास्तविक कारण पनि नदिएकोले निजी शैक्षिक संस्था शनिवार बाहेकका दिनमा खुल्ने बताए ।
महासचिव भण्डारीले भने,‘यो निर्णय अपर्झट आएकाले हामीले यसको बारेमा छलफल गर्नु आवश्यक छ । तर हामीलाई त्यो समय नै पुग्दैन । अरु सार्वजनिक बिदा धेरै छन् । सार्वजनिक विभिन्न बिदा नहुने हो भने यो बिदालाई स्वीकार्नु हुन्थ्यो ।’
त्यस्तै राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघका सचिव विष्णु पराजुलीले सरकारले निजी क्षेत्रसँग छलफल नै नगरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको भन्दै आपत्ति जनाए ।
उनले कर्मचारीहरुलाई हेरेर सो निर्णय गरेको तर विद्यालयको हकमा त्यो लागू गर्न नसकिने बताए ।
सचिव पराजुलीले सरकारको हप्तामा दुई दिन बिदा दिने निर्णइ अव्यवहारिक भएको भन्दै निजी क्षेत्रमा काम गर्ने कर्मचारीहरुका लागि पनि दुई दिन बिदा दिने निर्णयले महत्व नराख्ने धारणा राखे ।
सचिव पराजुलीले शिक्षामा वार्षिक १३ करोड बढी खर्च हुन्छ भनेर हप्तामा दुई दिन बिदा गर्नु व्यवहारिक नभएको बताए ।
उनले कोरोनाबाट थला परेको शैक्षिक क्षेत्रलाई उठाउनु पर्ने बेला पुनः निरुत्साहीत हुने गरी निर्णय गर्नु दुर्भाग्यपूर्ण रहेको बताए ।