
पछिल्लो पुस्ताकी लोकप्रिय गायिका रचना रिमालको स्वर अब फिल्ममा पनि सुन्न पाइने भएको छ ।
दुई वर्षको छोटो अवधिमा १ हजार बढी गीतमा गुञ्जिएको उनको स्वर अब फिल्ममा समेत गुञ्जिने भएको हो । उनले केही फिल्मको गीतमा आफ्नो स्वर दिइसकेकी छिन् ।
रचनाले ‘धुर्मुस–सुन्तली’को फिल्म ‘म त मर्छु कि क्या हो’मार्फत पाश्र्व गायनको यात्रा शुरू गरेकी हुन् । यद्यपी, यो फिल्म हलमा रिलिज नभएर ओटीटी प्लेटफर्ममा सार्वजनिक भइसकेको छ ।
अबभने, रचनाको स्वर सिनेमा हलको पर्दामा समेत सुन्न पाईने भएको छ । लक्ष्मण सुनार निर्देशित फिल्म ‘बुलाकी’ र राजबहादुर साने निर्देशित फिल्म ‘सिल्ली फो’मा रचनाको स्वर रहने भएको छ । यी दुई फिल्मको गीतमा रिमालले आफ्नो स्वर दिइसकेकी छिन् ।
‘यी फिल्मका लागि गीत गाईसकेकी छु,’ रचनाले लोकान्तरसँग भनिन् ‘अर्को एउटा फिल्मको गीत पनि गाईसकेकी छु । अन्य फिल्मका लागि पनि कुरा भईरहेको छ । यद्यपी, तय भएको छैन् ।’ फिल्मका लागि गीत गाउन पाउँदा खुशी लागेको उनले बताएकी छिन् ।
रचनाका ‘फोटो फिरिममा’, ‘उनको प्रीति’, ‘मिनरल वाटर’, ‘सम्झिनी पानी छम्किनी’, ‘भन साइँला’ जस्ता थुप्रै गीत चर्चित छन् ।