
पाँचदलीय सत्ता गठबन्धनबीच केन्द्रीय स्तरबाट तालमेल भएको पोखरा महानगरपालिकामा कांग्रेस कार्यकर्ताले के गर्लान् भन्ने आम चासो र कौतुहलता छ ।
तालमेल नगरी पार्टीले एक्लै चुनाव लड्ने भन्दै कांग्रेस कास्कीका नेताहरू पटक–पटक सभापति शेरबहादुर देउवालाई भेट्न काठमाडौं पुगेका थिए ।
जिल्ला तहको आग्रहविपरीत नेकपा एकीकृत समाजवादीलाई पोखराको मेयर छाड्न कांग्रेस सभापति देउवा राजी भए । तर, उम्मेदवारी मनोनयनको दिनसम्म आइपुग्दा कांग्रेसका बागीले उम्मेदवारी दिए । फिर्ता पनि भयो । केही असन्तुष्टि देखिए पनि कांग्रेसका सक्रिय कार्यकर्ता गठबन्धनबाट मेयरको उम्मेदवार बनेका नेकपा एसका नेता धनराज आचार्यको पक्षमा भोट माग्दै हिँडेका छन् ।
आइतवार पोखराको जिरोकिलोस्थित एक पार्टी प्यालेसमा चुनावी रणनीति बनाउन गठबन्धनका नेता कार्यकर्ताको भेला थियो, जहाँ बहुसंख्यक कांग्रेस कार्यकर्ता थिए । गठबन्धनबाट मेयरका प्रत्यासी धनराज आचार्यले सम्बोधन गर्ने कार्यक्रममा उपस्थित कांग्रेस कार्यकर्ता गठबन्धनलाई सफल बनाउन प्रतिबद्ध देखिए ।
‘कांग्रेसको बलियो आधार रहेको पोखरामा पार्टीको तर्फबाट मेयरको उम्मेदवार नहुँदा म व्यक्तिगत रूपमा असन्तुष्ट थिएँ, तर पार्टीले निर्णय गरिसकेको अवस्थामा गठबन्धनको उम्मेदवारलाई जिताउनु मेरो दायित्व र कर्तव्य हुन आउँछ,’ कांग्रेसका स्थानीय कार्यकर्ता दुर्गा तिमल्सिना (६५)ले भने । उम्मेदवार फेरिएकोमा एमालेभित्र असन्तुष्टि रहेकाले आफूहरूले चुनाव जित्ने उनले दाबी गरे ।
‘राष्ट्रिय राजनीतिलाई ट्र्याकमा लैजान पनि पाँचदलीय गठबन्धन गर्नुपरेको हो । स्थानीय स्तरमा हाम्रो उम्मेदवार डायनामिक भएकाले चुनाव जित्न कठीन छैन,’ तिमल्सिनाले लोकान्तरसँग भने ।
बहुसंख्यक नेता कार्यकर्ता चुनाव प्रचारमा हिँडे पनि केही भने तटस्थ बसेका छन् ।
नेपाली कांग्रेसकी महासमिति सदस्य माया बराल क्षेत्री कार्की पोखराको मेयरका लागि नगर कमिटीबाट सिफारिशमा परेकी थिइन् । गठबन्धन गर्दा नेकपा एसका धनराज बरालले मेयरको टिकट पाएपनि माया गठबन्धनको चुनाव प्रचारमा हिँडेकी छिन् ।
‘आफू हारेर पनि संविधान र देश बचाएको कांग्रेसको इतिहास छ । यसपटक पनि संविधानको रक्षार्थ बनेको गठबन्धनलाई जोगाइराख्न तालमेल गर्नुपर्ने भयो । पार्टीले गरेको निर्देशन मान्न हामी बाध्य छौं,’ कार्कीले लोकान्तरसँग भनिन् ।
२०७४ सालमा नेकपा एमालेले पोखरामा मेयर जिते पनि प्रतिबद्धता अनुसारको काम गर्न नसकेको उनको आरोप छ । ‘पोखराका सार्वजनिक जग्गा मिचिएका छन् । पोखराको पहिचान बनेको ताल पुरिँदा पनि संरक्षण भएन । वडा नम्बर १४ को कार्यालयमा चोरी भयो । त्यसैले यसपटक यहाँका मतदाताले सक्षम मेयर खोजेका छन्,’ कार्कीले भनिन् ।
कांग्रेसभित्रको असन्तुष्टिले गर्दा चुनाव जित्न सकिने एमालेको विश्लेषण छ । तर, कांग्रेसका कार्यकर्ताहरू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिका कारण आक्रोशित देखिए । ‘पूर्व प्रधानमन्त्री भइसकेको व्यक्तिले कांग्रेसको घोषणपत्रलाई पागलहरूको प्रलाप भन्नुभयो, उहाँका यस्तै अभिव्यक्तिका कारण पनि कांग्रेस कार्यकर्ता एमालेको उम्मेदवार पराजित गर्नुपर्ने मनोविज्ञानमा छन्,’ कांग्रेसका स्थानीय कार्यकर्ता प्रकाश अधिकारीले भने ।
नेपाली कांग्रेसका तर्फबाट पोखरा महानगरपालिका ६ का वडाध्यक्षका उम्मेदवार जगतबहादुर पहारी केही कार्यकर्ताले असन्तुष्टि जनाएपनि संस्थागत रूपमा कांग्रेस चुनावी तालमेलको पक्षमा रहेको दाबी गर्छन् ।
‘मेरो वडाबाटै हामीले तालमेलको शुरूआत गरेका थियौं, माओवादी केन्द्र र एसलाई एक–एक खुल्ला सदस्य दिएर तालमेल गरेका छौं,’ सोही वडाका पूर्वअध्यक्ष समेत रहेका पहारीले लोकान्तरसँग भने, ‘बाहिर प्रचार गरिएजस्तो कांग्रेसमा विद्रोह र असन्तुष्टि होइन । हामीले मित्रवत ढंगले तालमेल गरिरहेका छौं ।’
पोखराको लेकसाइडमा भेटिएका अर्का एक कांग्रेस कार्यकर्ताले भने तालमेलका कारण आफ्ना शुभेच्छुकहरूमा असन्तुष्टि बढेको बताए ।
‘हारजीत जे भएपनि कांग्रेस एक्लै चुनावमा जानुपर्थ्यो, कम्युनिस्टहरूको भर हुँदैन भन्ने शुभेच्छुकहरू पनि हुनुहुन्छ,’ चुनाव प्रचारमा हिँडेका ती कार्यकर्ताले भने ।
पोखरामा भेटिएका कतिपय कार्यकर्ता भने गठबन्धनको पक्षमा लाग्ने/नलाग्ने खुलेनन् ।
कांग्रेसको तर्फबाट भरपूर सहयोग पाएका छौं– नेकपा एस
पोखरा महानगरमा मेयरको उम्मेदवार पाएको नेकपा एसका नेताहरू कांग्रेसको तर्फबाट सहयोग पाएको बताउँछन् । अन्य ठाउँमा कांग्रेस र गठबन्धनका उम्मेदवार जिताउन आफ्नो तर्फबाट इमान्दार प्रयत्न हुने र पोखरामा कांग्रेसबाट सोही अनुसारको व्यवहार अपेक्षा गरिएको उनीहरू बताउँछन् ।
‘हामीले एमालेमा विद्रोह गरेकै कारण शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्न सम्भव भएको हो, नत्र देउवा कसरी प्रधानमन्त्री बन्नुहुन्थ्यो ? गण्डकी प्रदेशमा हाम्रो एकजना पनि मन्त्री छैनन्, तैपनि हामी हाम्रो सरकार भनिरहेका छौं । अनि कांग्रेसले हाम्रो उम्मेदवारलाई सहयोग नगरे कसरी गठबन्धन चल्छ ?’ कास्की जिल्ला इञ्चार्ज समेत रहेका पोलिटब्युरो सदस्य श्रीनाथ बरालले लोकान्तरसँग भने ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेस उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दै एमालेले मेयर र उपमेयर जितेको थियो । कांग्रेसभित्रको असन्तुष्टिका कारण आफूहरूले यसपटक पनि सहज जीत हासिल गर्ने नेकपा एमालेको विश्लेषण छ ।
एसका इन्चार्ज बराल विगतमा एमालेले चुनाव जित्नुमा आफूहरूको महत्त्वपूर्ण भूमिका रहेको र अहिले परिस्थिति बदलिएको दाबी गर्छन् । ‘विगतमा एमालेको मतान्तर हामीसहितको संख्या हो, धनराज बराल जस्तो लोकप्रिय नेता र कार्यकर्ता नरहँदा पनि एमालेको हालत उस्तै छ र ?’ बरालले भने, ‘रूखमा भोट हाल्ने बानी परेकाले सूर्यमा पो हाल्दैनन्, कलममा हाल्न केही अप्ठ्यारो छैन नि !’
कांग्रेसका नेताहरू धनराजलाई अगाडि लगाएर हिँडेकाले आफूहरूले कांग्रेसप्रति आशंका नगर्ने एसका नेताहरूले बताए । नेकपा एसका अर्का केन्द्रीय सदस्य चूडामणि जंगलीले पनि कांग्रेसका कार्यकर्ताले इमान्दारीपूर्वक सहयोग गरिरहेको बताए ।
‘अहिलेसम्म पोखराले व्यक्तिलाई मेयर बनायो अब पोखरालाई बनाउने मेयर निर्वाचित गर्नुपर्छ भनेर कांग्रेसका साथीहरू लाग्नुभएको छ, उहाँहरूको इमान्दारितामा प्रश्न छैन,’ जंगलीले भने ।
सामाजिक क्षेत्रमा सक्रिय र व्यक्तिगत रूपमा मिलनसार रहेका कारण कांग्रेस कार्यकर्ताहरू धनराजको पक्षमा खुलेर लागेको उनले दाबी गरे ।
कस्तो थियो विगतमा नतिजा ?
२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका मानबहादुर जीसी मेयरमा निर्वाचित भएका थिए । ६० हजार १ सय १८ मतसहित जिसी विजयी हुँदा कांग्रेसका रामजी कुँवरले ४६ हजार ४ सय १६ मत प्राप्त गरेका थिए ।
उपमेयरमा पनि एमालेकै मञ्जु गुरुङ ५६ हजार ४ सय ४८ मतसहित विजयी भएकी थिइन् । कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ मत प्राप्त गरेकी थिइन् ।
यसपटक पोखरा महानगरपालिकामा ३९ हजार मतदाता थपिएका छन् । यी मतदाताले आफूहरूलाई भोट हाल्ने नेकपा एमाले र नेकपा एसका तर्फबाट मेयरका प्रत्यासीहरूको दाबी छ ।
मेयरका एमाले उम्मेदवार कृष्ण थापा सत्ता गठबन्धनले गरेको तालमेलले आफूलाई चुनाव जित्न रोक्न नसक्ने दाबी गर्छन् ।
‘गठबन्धन त कागजमा छ, यहाँ कहाँ गठबन्धन छ ? वार्डमा कांग्रेसका आफ्नै उम्मेदवार छन् । यो गठबन्धनलाई जनताले मन पराएका छैनन्,’ थापाले भने ।