०२ साउन २०८३, शनिबार
आलेख

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९
'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको कालिदास बनेर गठबन्धनको विपक्षमा उभिए । माओवादी र कांग्रेसले ७ जुनीसम्म कहिल्यै नछुट्टिने भनेर वाचा कसम खाँदै मंगलसूत्र पहिरिएर बिहे गरेका हैनन् भनेर काला, गोरा, खैरा सबैले बुझ्नु अपरिहार्य छ ।

नेपाली सेना र माओवादी लडाकु एउटै ब्यारेकभित्र भात खान सक्ने, निदाउन र परेड खेल्न सक्ने तर कांग्रेसले हँसिया हथौडामा भोट हाल्दा तोरीखोलाको वनझाँक्रीजस्तो काँप्नुपर्ने किन ? माओवादीले पनि रूखमा भोट हालेर दस्तावेजीकरण गरिएको कुनै बेलाको प्रधान शत्रुसँग मितेरी साइनो लगाउँदैछन् । छोराछोरीको भविष्यका लागि अर्कैसँग दोस्रो विवाह गरेर गएकी श्रीमती त फर्काएर ल्याउनुपर्छ भने देश र जनताको भविष्यका लागि कांग्रेस-माओवादी मिल्दा के फरक पर्छ ?

ओलीबामार्फत् संविधानमाथि पटक-पटक हमला हुँदा कांग्रेस रत्यौली खेलेर, कुरौनी बाँडेर बस्न सक्दैनथ्यो । माओवादी पनि राजा योगेन्द्र मल्ल मर्दा ३१ वटी रानी सती गएजस्तै सती जान सक्दैनथ्यो । ओलीबा साइबेरियाबाट नेपाल आउन उडेको  खोया हाँसजस्तै तेज गतिमा अगाडि बढिरहेका थिए । बरु निरंकुश भनिएका राजाले जनताको नासो जनतालाई नै फिर्ता दिएका थिए, तर ओलीबाले त आफैँसँग लिएर जान खोजेका थिए ।

कांग्रेस र माओवादीसहितको चुनावी गठबन्धन मूलत: २०६२/०६३ को जनआन्दोलनको गठबन्धन बराबर हो । फरक यति हो, त्यतिखेरको गठबन्धन संविधान सभाका लागि थियो, यतिखेरको गठबन्धन संविधान रक्षाका लागि हो । यो प्रचण्डले चुनाव जित्ने वा हार्नेसँग सरोकारको विषय नै हैन । महात्मा गान्धी, नेल्सन मण्डेला, होची मिन्हा, आङ सान सू ची र प्रचण्डले चुनाव जिते पनि, नजिते पनि खासै फरक पर्दैन । संसारका देखिएका ९० प्रतिशत सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनहरू चुनाव जितेर गरिएका हैनन् ।

गिरिजाबाबुले प्रचण्डको काँधमा सुम्पिएको अभिभारा

आफ्नो भौतिक जीवनको अन्तिम मिनेटतिर अस्पतालको शय्याबाट गिरिजाबाबुले 'बाँकी शान्ति प्रक्रिया र देशलाई कता लैजाने, कस्तो प्रणाली विकसित गर्ने त्यो तपाईंको जिम्मा' भनेर प्रचण्डको हात समातेका थिए । गणतन्त्र नेपालका नायकद्वय गिरिजाबाबु र प्रचण्ड एकै हलमा नारिएका गोरुजस्ता थिए । र, परिवर्तनको रक्षा गर्ने बलियो आधार गिरिजाबाबुले प्रचण्डको अनुहारमा देखेका थिए ।  गिरिजाबाबु र प्रचण्डको एकता इतिहासको विशेष तर निर्मम परिस्थितिको उपज थियो । गिरिजाबाबुको निधन भएपछि प्रचण्डले भनेका थिए, 'कांग्रेसले त एउटा सभापति गुमायो होला तर आज मैले अभिभावक गुमाएको महशुस गरेको छु ।'

कांग्रेस र माओवादीको चुनावी एकतालाई लिएर धेरै वैचारिक प्रश्न उठेका देखिन्छन् । छिनछिनमै कुरा फेर्ने भनेर सामाजिक सञ्जालमा प्रचण्डलाई छेपारो पनि भनिएका छन् । तर डायनामिक नभएको भए उनी २० वर्षअगाडि नै मारिइसकेका हुने थिए भनेर तिनीहरूले बुझ्नुपर्दछ । माओवादी आन्दोलन समग्रमा एक रणनीति थियो र त्यो रणनीति पूरा गर्न त्यसका नेतृत्वकर्ता प्रचण्डले छिनछिनमै कुरा फेर्नै पर्थ्यो । फेरि युद्धको नेतृत्व गरेको कमान्डरले गौतम बुद्धको नक्कली अवतार रामकुमार बम्जनजस्तो अनिश्चितकालसम्म आँखा चिम्म गरेर बस्न पनि त सक्दैन ।

प्रचण्डजस्तै गिरिजाबाबु पनि गतिशील थिए । उनले पनि छिनछिनमै कुरा नफेरेको भए शायद १७ हजारको ठाउँमा आज १७ लाख भनेर लेख्नुपर्थ्यो । गिरिजाबाबुलाई कलंक भनेर दुत्कार्नेहरू पनि कैयौं छन्, तर उनी परिवर्तनका नायक हुन् । देशको संविधान नै बदल्नका लागि प्रचण्डले गरेको युद्ध र आन्दोलनलाई फ्युजन गराएर नारायणहिटी दरबार खाली गराइदिने गिरिजाबाबु देशको सच्चा अविभावक थिए । उनी कांग्रेसको मात्रै सभापति थिएनन्, देशकै सभापति थिए ।

छोराछोरीको भविष्यका लागि अर्कैसँग दोस्रो विवाह गरेर गएकी श्रीमती त फर्काएर ल्याउनुपर्छ भने देश र जनताको भविष्यका लागि कांग्रेस-माओवादी मिल्दा के फरक पर्छ ?

आज प्रचण्ड एक्लै भएका छन् । र पनि उनलाई प्रतिगमनकारी बाँझो खेत जोत्नैपर्ने जिम्मेवारी आइलागेको छ । जुवा तान्ने सहकर्मी गोरु चाहिएको छ । घुँडा टेक्ने, थाक्ने छूट छैन । आफ्नै सहोदर भाइबहिनीले समेत सभापतिमा मतदान नगरेको तथ्य मनन गर्दै शेखर कोइरालाहरूले पनि राष्ट्रको जीवनलाई केवल अंकगणित वा हारजीतसँग तुलना गर्नुहुँदैन ।

माओवादीलाई खुला राजनीतिमा ल्याउँदा कांग्रेसलाई राजनीतिक रूपमा क्षति हुने थाहा पाएरै पनि शान्ति र स्थिरताका लागि गिरिजाबाबुले बुढेसकालमा दिल्ली पुगेर १२ बुँदे सहमति गरेका थिए । गिरिजाबाबुको आत्माको शान्तिका लागि यतिखेर कोइराला परिवार र समग्र कांग्रेसले प्रचण्डलाई भरपूर सहयोग गर्नु आवश्यक छ ।

गिरिजाबाबु र प्रचण्डको सहकार्य कुनै वैचारिक मत मिलेका कारण भएको थिएन । देशको तत्कालीन परिस्थिति र राजनीतिक घटनाक्रमले उनीहरू एक हुनु आवश्यक थियो । हाल शेरबहादुर देउवा नेतृत्वको कांग्रेस र प्रचण्डको गठजोड पनि देशको विशेष राजनीतिक घटनाक्रमका कारण खडा भएको हो । हिजो बीपी कोइरालाले प्रजातन्त्रको लडाईं पनि कम्युनिस्टहरू सँगै मिलेर लडेका थिए ।

पञ्चायतविरुद्धको संघर्ष पनि एक्लाएक्लै भएको हैन । आजको यो गठबन्धन परिवर्तनलाई उल्टाउन खोज्ने प्रतिगमनकारी, प्रतिक्रान्तिकारी तत्त्वका विरुद्ध हो भन्ने बुझ्नुपर्दछ । एउटा प्रचण्ड चुनाव हार्ने वा जित्ने विषय हैन, यो त देशले हार्ने कि जित्ने भन्ने प्रश्न हो ।

राजनीतिमा सबै कुरा सम्भव छ । गिरिजाबाबुसँग मिलेर विस्तृत शान्ति प्रक्रिया अगाडि बढाउनु र राजनीतिकरूपमा देशले फड्को मारेर आजको स्थितिमा आइपुग्नु प्रचण्डले भन्ने गरेको राजनीतिमा असम्भव भन्ने कुरा केही छैन भन्ने दर्शनको स्वत: पुष्टि हो । एमालेसँगको एकता पनि संविधानको रक्षा, गणतन्त्रको रक्षाका आधारमा भएको थियो । तर रक्षक नै भक्षक भएपछि त्यो आधार स्वत: भत्किएको हो ।

शायद केपीबाले संसद् विघटन गरेर संविधान मास्ने खेलको प्रारम्भ नगरेको भए आज माओवादी र कांग्रेस एक ठाउँमा आउनुपर्ने स्थिति बन्ने नै थिएन ।

प्रचण्ड अस्थिर भएको हुँदै हैन, यो त प्रचण्ड झन् गतिशील भएको हो । कांग्रेसले आफ्नो विचार बन्धकी राखेको पनि हैन, यो त देशको संविधान र प्रणाली रक्षाका लागि केही समय सहकार्य गरेको मात्र हो । गिरिजाबाबुले भनेजस्तै सहमति, सहकार्य र एकता हो । २०५७ सालदेखि पोस्टरमा मात्रै प्रचण्ड देखिनु, प्रचण्ड भन्ने मान्छे छ भन्ने कुराको अस्तित्व २०६३ साल असार २ गते बालुवाटारको पत्रकार सम्मेलनबाट मात्र पुष्टि हुनु र २०६५ सालमा त्यही प्रचण्ड गणतन्त्र नेपालको प्रधानमन्त्री बन्नु यी सबै सहमति, सहकार्य र एकताका उपज हुन् ।

गिरिजाबाबु र प्रचण्डले  हस्ताक्षर गरेको शान्ति सम्झौता र त्यसपश्चातको संकल्प तथा प्रतिबद्धताको फलस्वरूप नेपालमा संविधान सभामार्फत नयाँ संविधान लेखिएको, राजतन्त्रको अन्त्य भई धर्म निरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको कुरा नेपालको मान्छेलाई मात्र हैन चराचुरुङ्गीहरूलाई पनि थाहा छ । संविधानमाथि बारम्बार हमला हुनु त्यो देशमाथिको हमला त हो नै प्रचण्डमाथिको हमला पनि हो । त्यो भन्दा धेरै गिरिजाबाबुमाथिको हमला पनि हो । यसकारण यो स्थानीय चुनावमा भोटको आदान-प्रदान गरेर कांग्रेस र माओवादी फेरि पनि एकपटक लोकतन्त्र, गणतन्त्र र संविधानवादको पक्षमा उभिनुपर्दछ ।

केपीबाको समूह कहिल्यै पनि माओवादी आन्दोलन र प्रचण्डसँग नरम हुन सकेनन् । गणतन्त्रमा कहिल्यै अपनत्व ग्रहण गरेनन् । यतिसम्म कि २०६२/०६३ सालमा गिरिजाबाबुको टाउको फुट्नेगरी जनआन्दोलन हुँदा केपीबा टेलिभिजनमा समाचार हेरेर घरभित्रै बसेका थिए ।

आज पनि केपीबा बालकोटमा टेलिभिजन हरेर बसिरहेका छन् । रातभरि नसुतेर अनिदो बसी शकुनी चाल रचिरहेका छन् । तर, जब कांग्रेस र माओवादी रणनीतिक रूपमा एक भएर अगाडि बढे, ओलीबाका विकेटहरू एकपछि अर्को गर्दै गिरिरहेका छन् । सम्भवत: यो महिनाको अन्तिमसम्ममा ओलीबासँग गिर्न बाँकी केही हुँदैन ।

यसरी हेर्दा वैशख ३० गते स्थानीय निर्वाचन पनि हो, गिरिजाबाबु र प्रचण्ड मिलेर ल्याएको परिवर्तनको रक्षा गर्ने दिन पनि हो ।

salt training

कमेन्ट गर्नुहोस्