
सङ्खुवासभा जिल्लाको विभिन्न क्षेत्रमा फौजी कीराको प्रकोप बढेको छ ।
फौजी कीराले मकै र आलुको पात र मुना खाएर नष्ट गरेपछि कृषक चिन्तित बनेका छन् ।
यहाँको चिचिला, सिलिचोङ, मकालु र सभापोखरी गाउँपालिकामा लगाइएको आलु र मकैमा अमेरिकी फौजी कीराले क्षति पुर्याएको हो । हुर्किसकेको मकैको बिरुवा र फल्न लागेको आलुको सबै पात खाइदिएपछि कृषक चिन्तित बनेका हुन् ।
झन्डै दुई हप्ताअघिदेखि लाग्न सुरु गरेको कीराले अहिले मकैबारी खाली हुन लागेको सिलिचोङ गाउँपालिका–२ का कमलराज कुलुङले जानकारी दिए । बिरुवाको पात र मुना खाइदिएपछि फलको आस नभएको कुलुङले बताए ।
चिचिला गाउँपालिका–२ मा मकैसँगै लगाएको आलु पनि कीराले सखाप पारेको छ । गाउँपालिकाले यो क्षेत्रलाई आलु पकेट क्षेत्र घोषणा गरेपछि आलु खेती विस्तार भएको थियो तर आलुको बोट नै कीराले सखाप बनाएपछि फल्ने आशा मरेको किसानको गुनासो छ ।
“अब फल लाग्ने बेला भयो, बोट नै छैन, कसरी आलु फल्ला र ?” चिचिला–२ का रमेश राईले भन्नुभयो । बेलैमा कीराको नियन्त्रण नगरे अनिकाल बेहोर्नुपर्ने राईको चिन्ता छ । अमेरिकी फौजी कीराको प्रकोप बढे पनि स्थानीय सरकारको तयारी नहुँदा नियन्त्रण हुन सकिरहेको छैन । कीराले बाली सखाप पार्दासमेत गाउँपालिकाबाट पर्याप्त सहयोग नपाएको कृषकको गुनासो छ । गोरखापत्र दैनिकमा ध्यान कुलुङले खबर लेखेका छन् ।