
यो साता तीन दिन खुला रहेको शेयर बजार झन्डै ११८ अङ्कले घटेको छ ।
यो साता सोमबार, बुधबार र बिहीबार मात्रै कारोबार भएको हो ।
वैशाख १५ गते बिहीबार २,३५६.१७ मा बन्द भएको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन बिहीबार २,२३८.६२ मा अडिएको छ ।
बिहीबार नेप्से परिसूचक न्यूनतम २२२५.७९ र उच्चतम २२७५.४२ बीच रह्यो ।
बिहीबार शेयर बजारमापक नेप्से परिसूचक ३७.०६ अङ्कले ओरालो लागेर २२३८.६२ को बिन्दुमा पुगेर रोकिएको हो ।
सेन्सेटिभ इन्डेक्स पनि ४.३४ अङ्कले ओरालो लागेर ४३२.५५ को बिन्दुमा पुगेर रोकिएको छ । समग्रमा साताको अन्तिम दिनको शेयर बजार १.६३ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि ०.९९ प्रतिशतले ओरालो लागेको छ । बिहीबार एक अर्ब ६५ करोड ४५ लाख ६१ हजार २४७ रुपियाँको कारोबार भएको छ ।
बिहीबारको कारोबार रकम अघिल्लो साताको बुधबारयताको सबभन्दा बढी हो ।कारोबार भएको सेयरको सङ्ख्या पनि बढेर ४६ लाख ७४ हजार ९४० कित्ता शेयर पुगेको छ । बुधबार २७ लाख ३६ हजार ४१४ कित्ता शेयर कारोबार भएको थियो । बिहीबारको कारोबार भएको शेयर कित्ता विगत पाँच कारोबार दिनयताको सबभन्दा बढी हो ।
बिहीबार कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ । विकास बैङ्क, वित्त, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।
त्यस्तै बैङ्किङ, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।
बिहीबार जाल्पा लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । घलेम्दी हाइड्रो, मैलुङ खोला जलविद्युत् कम्पनी, शिवश्री हाइड्रोपावर, युनियन हाइड्रोपावर, ग्रिन भेन्चर्स, पञ्चकन्या माई हाइड्रोपावर र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर मूल्य ६ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ । गोरखापत्र दैनिकमा खबर छ ।