२९ जेठ २०८३, शुक्रबार
स्थानीय चुनाव

धनगढी उपमहानगरमा त्रिपक्षीय भिडन्त : यी चलायमान मतदाता निर्णायक

बैशाख २४, २०७९
धनगढी उपमहानगरमा त्रिपक्षीय भिडन्त : यी चलायमान मतदाता निर्णायक

चुनावको मिति नजिकिएसँगै सुदूरपश्चिमको एक मात्रै धनगढी उपमहानगरमा उम्मेदवारहरू मतदाता रिझाउन व्यस्त छन् ।

उम्मेदवारमध्ये कोही आफ्नो विरासत जोगाउने कसरतमा छन् भने कोही मतदाताको घरदैलोमा आफूलाई उभ्याइरहेका छन् ।

सुदूरपश्चिमको अस्थायी राजधानी तथा प्रमुख व्यापारिक केन्द्र समेत रहेकाले धनगढीको आसन्न निर्वाचनलाई निकै चासोका साथ हेरिएको छ ।

वैशाख ३० गते हुने निर्वाचनमा मेयर/उपमेयरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन छ । यससँगै अघिल्लो निर्वाचनमा निकटतम प्रतिद्वन्द्वीको रूपमा स्वतन्त्र उम्मेदवार र सांगठनिक रूपले बलियो मानिने नेकपा एमाले पनि बलियो प्रतिस्पर्धीको रूपमा देखिएको छ ।

धनगढी उपमहानगरको मेयरका लागि ३ जना स्वतन्त्र उम्मेदवारसहित ९ जना प्रतिस्पर्धामा छन् । गठबन्धनबाट नेपाली कांग्रेसले नृपबहादुर वडलाई मेयरमा दोहोर्‍याएको छ । अघिल्लो निर्वाचनमा वडकै निकटतम प्रतिस्पर्धी रहेका गोपाल हमाल आसन्न निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवार छन् । नेकपा एमालेले रणबहादुर चन्दलाई मेयरको उम्मेदवार बनाएको छ । 

अघिल्लो निर्वाचनको मतपरिणाम र अहिलेको चुनावी माहोल हेर्दा धनगढीमा वड, चन्द र हमालबीच नै कडा टक्कर हुने देखिएको छ ।

२०७४ सालको मतपरिणाम

२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बनेका वड १४ हजार ३२४ मत ल्याई विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी रहेका स्वतन्त्र उम्मेदवार वडले ११ हजार ५२७ मतमा चित्त बुझाउनुपरेको थियो । नेकपा माओवादी केन्द्रका उम्मेदवार रामसमझ राना १० हजार २०९ मत ल्याउँदै तेस्रो स्थानमा पुगेका थिए भने एमालेका उम्मेदवार दुर्गा जोशी ९ हजार ९४६ मतमा सीमित थिए । राप्रपाका विष्णु शाहले ८२८ मत, मधेशी जनाधिकार फोरमका प्रेमकुमार बिसीले ४५९ मत र जनमोर्चाका कृष्णप्रसाद चौधरीले २१६ मत प्राप्त गरेका थिए ।

अघिल्लो निर्वाचनमा धनगढीका जम्मा मतदाता ७६ हजार ४३० जना थिए । त्यसताका ८७.११ प्रतिशत मत खसेको थियो भने २ं.११ प्रतिशत मत बदर भएको थियो ।

आसन्न निर्वाचनमा ९३ हजार १५१ जना मतदाताले आफ्नो अमूल्य मत दिई धनगढीको भविष्य कोर्नेवाला छन् । गत निर्वाचनभन्दा १६ हजार ७२१ जना बढी छन् । 

उम्मेदवारको ध्यान थारु समुदायमा

धनगढीको जनसंख्यामा मुख्यगरी सुदूरपश्चिमका ७ पहाडी जिल्लाबाट बसाइ सरेर आएका, यहाँका रैथाने थारु र रानाथारु जातिको जनसंख्याले भूमिका खेल्छ । करीब ५० प्रतिशत जनसंख्याको प्रतिनिधित्व यिनै समुदायको रहेको बताइन्छ ।

यीभित्र करीब २० हजार बढी मतदाता थारु समुदाय, करीब ८ हजार बढी मतदाता रानाथारु समुदायका रहेको आकलन गरिन्छ । यद्यपि निर्वाचन आयोगले भने जातीय रूपमा मतदाता वर्गीकरण गरेको पाइन्न । 

अघिल्लो निर्वाचनमा संगठनविहीन रहेका स्वतन्त्र उम्मेदवार हमालले कस्तो मत पाएका थिए र आसन्न निर्वाचनमा ती मतदाता कता ढल्किनेवाला छन् ? हेर्न बाँकी छ । ती मतदातालाई चलायमान मतदाताको रूपमा लिने गरिन्छ । धनगढीका ती चलायमान, थारु र रानाथारुको मत जसले तान्न सक्यो, उसैको जीत सुनिश्चित हुने विश्लेषण गरिँदैछ ।

धनगढीको निर्वाचनलाई सुक्ष्म रूपमा नियाल्दै आएका उद्यमी रविनकान्त पन्त भन्छन्, ‘धनगढीमा करीब १०% जति चलायमान मतदाता छन् । करीब २७ हजार रैथाने समुदायको मत छ र बाँकी पहाडी जिल्लाबाट बसाइ सरेर आएका छन् । यी मतदाता नै निर्णायक हुन् तर उम्मेदवारका एजेण्डा, पृष्ठभूमि र कसले कुन समुदायबाट उम्मेदवार उठाएको भन्ने कुराले पनि फरक पार्छ । जे होस् यसपालिको निर्वाचन हेर्नलायक छ ।’

हाल उम्मेदवारको ध्यान रैथाने समुदाय र चलायमान मतदातामा केन्द्रित छ । ती मत दलीय संगठनबाट भन्दा पनि उम्मेदवारको भूमिकाबाट अभिप्रेरित र प्रभावित हुने र एकैठाउँमा जान सक्ने आकलन गरिन्छ ।

थरुहट नेता लक्ष्मण थारुको विश्लेषण छ, ‘यहाँको मजदुर, किसान, रैथानेको मत नै चलायमान मत हो । यो मत नै निर्णायक हो । हामीले यसपालिको नतिजा स्पष्ट देखिरहेका छौं, यद्यपि नतिजा पर्खनैपर्छ ।’

यसपालिको निर्वाचनमा सत्तारुढ गठबन्धनले पनि भूमिका खेल्ने भएको छ । गठबन्धनले मेयरमा कांग्रेसका वड र उपमेयरमा नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीलाई उठाए पनि वडामा तालमेल नभएको प्रभाव मेयर र उपमेयरका उम्मेदवारलाई पर्ने आकलन हुँदैछ ।

गठबन्धन भित्रका दल वडा तहमा एकल प्रतिस्पर्धामा छन् । मेयर र उपमेयरको संयुक्त चुनावी कार्यक्रममा एकीकृत समाजवादीका नेताहरू देखिएका छैनन् । सत्ता गठबन्धनमै रहेको जनता समाजवादी पार्टीले कविन्द्र ऐरलाई मेयरको उम्मेदवार बनाएको छ ।

मेयरका उम्मेदवार वड भने आफ्नो प्रतिस्पर्धी नै कोही नभएको दाबी गर्छन् । गठबन्धन हुनु र धनगढीमा कांग्रेसको आफ्नो संगठन पनि विगतभन्दा सुधार हुनुले सहज जीत हुने उनको आकलन छ ।

५ वर्षको अवधिमा मेयरको रूपमा आफूले गरेका काम पनि जित्ने आधार रहेको उनको भनाइ छ । 

यद्यपि स्वतन्त्र उम्मेदवार हमाल र नेकपा एमालेका उम्मेदवार चन्दले ५ वर्षसम्म धनगढीले विकासको मुहार फेर्न नसकेको, बरु भ्रष्टाचार बढेकाले अब विकल्प खोज्नुपर्ने विषयलाई आफ्नो मुख्य प्रचार एजेन्डा बनाएका छन् ।

मेयरमा स्वतन्त्रबाटै मदनकृष्ण भट्ट र उद्धवराज पन्तले उम्मेदवारी दिएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीबाट वसन्तबहादुर विश्वकर्मा, सचेत नेपाली पार्टीबाट भारती थापा र नागरिक उन्मुक्ति पार्टीबाट मीनकुमार चौधरी पनि उम्मेदवार बनेका छन् । 

उपमेयरमा ६ जनाबीच प्रतिस्पर्धा हुँदैछ । गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारी र एमालेबाट कन्दकुमारी राना मुख्य प्रतिस्पर्धी छन् । कांग्रेस कैलालीका पूर्व कोषाध्यक्ष प्रभाकर भण्डारीले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सबै उम्मेदवार आ–आफ्ना प्रतिबद्धतापत्र तथा एजेण्डा लिई मतदातामाझ पुगेका छन् ।

कमेन्ट गर्नुहोस्