२९ असार २०८३, सोमबार

श्रीलंकाका प्रधानमन्त्री राजापाक्षले राजीनामा दिने

बैशाख २४, २०७९
श्रीलंकाका प्रधानमन्त्री राजापाक्षले राजीनामा दिने

श्रीलंकाका प्रधानमन्त्री महेन्दा राजापाक्षले राजीनामा तयारी गरेको जनाइएको छ । 

देशभरमा आर्थिक तथा राजनीतिक संकट गहिरिँदै गएपछि उनले राजनीतिक निकासका लागि पदबाट राजीनामा दिन लागेको उनीनिकट स्रोतले जनाएको छ । 

राजनीतिक तथा आर्थिक संकटको मुख्य कारक राजापाक्ष नेतृत्वको सरकार नै भएको भन्दै आन्दोलन चर्किएपछि उनलाई राजीनामाका लागि अत्यधिक दबाब परेको छ ।

आन्दोलनकारीहरूले प्रधानमन्त्री महेन्दालाई बर्खास्त गर्न राष्ट्रपतिलाई पनि चर्को दबाब दिएका छन् । उनले राजीनामा नदिएमा आन्दोलन थप चर्किँदै जाने देखेर उनले राजीनामा दिने तयारी गरेको बताइएको छ । 

आन्दोलन चर्किँदै गएको र संकटकाल लागू भएको परिप्रेक्ष्यमा आगामी कदमका बारेमा छलफल गर्न राष्ट्रपति निवासमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका बीचमा छलफल भएको थियो । छलफलका क्रममा प्रधानमन्त्री महेन्दा राजापाक्ष राजीनामा दिन सहमत भएको बताइएको छ । 

देशमा आर्थिक संकट उत्पन्न भएपछि महँगी र अभाव बढेको थियो । महँगी र अभावबाट आक्रोशित जनताले आन्दोलन शुरू गरेका थिए । आन्दोलनपछि सरकारले त्यतिबेला पनि संकटकाल लगाएको थियो । आन्दोलनकारीहरूले सरकारलाई बर्खास्त गर्न माग गरेपछि प्रधानमन्त्रीबाहेक सबै मन्त्रीहरूले राजीनामा दिएका थिए ।

प्रधानमन्त्रीबाहेक सबै मन्त्री नयाँ बनाएर काम गर्दा पनि ठोस उपलब्धि नभएपछि आन्दोलन फेरि चर्किएकाले अहिले प्रधानमन्त्रीले नै राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको हो ।-रासस/एएनआई

salt training

कमेन्ट गर्नुहोस्