२८ असार २०८३, आइतबार
स्थानीय चुनाव

पाल्पाको रम्भामा झडप: प्रहरीद्वारा अश्रुग्यास प्रहार, ३ प्रहरीसहित ५ घाइते [भिडियोसहित]

पाल्पाको रम्भामा झडप: प्रहरीद्वारा अश्रुग्यास प्रहार, ३ प्रहरीसहित ५ घाइते [भिडियोसहित]

पाल्पाको रम्भा गाउँपालिकामा आइतवार झडप भएको छ । झडपमा ३ प्रहरीसहित ५ जना घाइते भएका छन् ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तका अनुसार स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले ४–४ सेल अश्रुग्यास प्रहार गरेको उनले बताए । 

मतगणनास्थलभित्र वार्ता भइरहेका बेला बाहिर असन्तुष्ट कार्यकर्ताले नाराजुलुस र ढुंगामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नु परेको प्रजिअ पन्तले बताए ।

रम्भामा मतगणना गर्ने क्रममा फर्जी मत भेटिएको भन्दै शनिवार साँझदेखि नै मतगणना स्थगित छ ।

वडा नंं. ५ ताहुँको मतगणना गर्ने क्रममा ७४ मत फर्जी भेटिएको भन्दै आइतबार विभिन्न दलहरूले विज्ञप्ति निकालेर पुनः मतदानको माग गरेका थिए ।

आइतवार संघीय तथा प्रदेश सांसद, पार्टी अध्यक्ष तथा सभापतिहरूसँग छलफल गरेर सहमति जुटाउने प्रयास गरिएको थियो ।

पहिलेका गणकहरूलाई हटाएर अर्को टोली पठाइएको थियो । 

‘सो टोलीले पुनः गणना गर्ने र गल्ती भएको रहेछ भने अर्को प्रक्रियामा जाने, यदि ठिक रहेछ भने गणना शुरू गर्ने गरी पठाइएको थियो,’ प्रजिअ पन्तले लोकान्तरसँग भने, ‘मतगणनास्थलभित्र राजनीतिक दलहरूको वार्ता भइरहेका बेला बाहिर पुनः मतदान हुनुपर्ने मागसहित नाराजुलुस र ढुंगामुढा भएपछि झडपको स्थिति आएको हो ।’

अहिले त्यहाँको अवस्था सामान्य छ । साे क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्