३२ असार २०८३, बिहीबार
अमेरिका-इरान तनाव

मध्यपूर्वका अमेरिकी सैन्य अखडामाथि इरानको निरन्तर आक्रमण

इरानका १४० सैन्य लक्ष्यमा आक्रमण गरेको अमेरिकाको दाबी
असार २८, २०८३
काठमाडौं
मध्यपूर्वका अमेरिकी सैन्य अखडामाथि इरानको निरन्तर आक्रमण
फाइल तस्वीर ।

अमेरिकाले इरानमाथि गरेको पछिल्लो हवाई आक्रमणपछि इरानले मध्यपूर्वका विभिन्न मुलुकमा रहेका अमेरिकी सैन्य अखडामाथि मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरेको छ । 

इरानले कतार, कुवेत, बहराइन र ओमानमा रहेका अमेरिकी सैन्य पूर्वाधारलाई निशाना बनाएको जनाएको छ भने अमेरिकाले इरानका १४० सैन्य लक्ष्यमा आक्रमण गरेको दाबी गरेको छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)का अनुसार कतारस्थित अल उदेद अमेरिकी हवाई अड्डामा ब्यालिस्टिक मिसाइल प्रहार गरिएको हो । आईआरजीसीले उक्त आक्रमणबाट लडाकु विमान मर्मत केन्द्र र कमान्ड एन्ड कन्ट्रोल सेन्टर ध्वस्त भएको दाबी गरेको छ ।

तर कतारको रक्षा मन्त्रालयले भने आफ्नो हवाई प्रतिरक्षा प्रणालीले कतारतर्फ प्रहार गरिएका मिसाइलहरूलाई बीचमै अवरोध गरी नष्ट गरेको जनाएको छ ।

इरानी सेनाले कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अखडामाथि पनि विस्फोटक ड्रोनमार्फत आक्रमण गरेको दाबी गरेको छ । इरानका अनुसार कुवेतमा रहेको अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा प्रणाली, हतियार भण्डारण केन्द्र र राडार स्थललाई निशाना बनाइएको छ । त्यस्तै बहराइनमा अमेरिकी सञ्चार प्रणाली र राडार केन्द्रमा पनि ड्रोन आक्रमण गरिएको दाबी गरिएको छ ।

यसैबीच, कुवेती सेनाले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका ‘शत्रुतापूर्ण हवाई लक्ष्य’लाई रोक्न प्रतिरक्षा प्रणाली सक्रिय गरिएको जनाएको छ । सेनाले विस्फोटका आवाज आफ्नै प्रतिरक्षा प्रणालीले लक्ष्य नष्ट गर्दा आएको स्पष्ट पार्दै नागरिकलाई सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ ।

आईआरजीसीले ओमानको डुक्म बन्दरगाहमा रहेको अमेरिकी विमानवाहक युद्धपोतका लागि प्रयोग हुने रसद तथा इन्धन आपूर्ति केन्द्रमा पनि भारी र आकस्मिक आक्रमण गरी ती संरचना ध्वस्त पारेको दाबी गरेको छ । इरानले यसलाई अमेरिकाको बमबारीविरुद्धको तेस्रो चरणको प्रतिशोधात्मक कारबाही भनेको छ ।

इरानले खाडी क्षेत्रका केही अरब राष्ट्रहरूले अमेरिकालाई सैन्य सहयोग उपलब्ध गराइरहेको आरोप लगाउँदै आफूले ती देशका सर्वसाधारणलाई नभई अमेरिकी सैन्य संरचनालाई मात्र निशाना बनाएको जनाएको छ । साथै, हर्मुज जलडमरू बन्द गरिसकेको दोहोर्‍याउँदै इरानको स्वीकृतिबिना त्यहाँबाट आवतजावत गर्ने जहाजलाई आफ्नो हितविपरीत गतिविधि मानिने चेतावनी दिएको छ ।

आईआरजीसीले हर्मुज जलडमरूमध्यमा अर्को उल्लंघनकारी जहाजमाथि पनि आक्रमण गरी रोकेको दाबी गरेको छ । अमेरिका र इजरायलबाट हुने आक्रमण जारी रहे अझ विनाशकारी जवाफ दिइने चेतावनी पनि इरानले दिएको छ ।

उता अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम)ले साइप्रसको झण्डा बोकेको जहाजमाथि इरानले गरेको आक्रमणको जवाफस्वरूप यस साता इरानमाथि तेस्रो चरणको सैन्य कारबाही सम्पन्न गरेको जनाएको छ ।

सेन्टकमका अनुसार पछिल्लो आक्रमणमा इरानका करिब १४० सैन्य लक्ष्यमा प्रहार गरिएको छ । ती लक्ष्यमा मिसाइल र ड्रोन प्रक्षेपण स्थल, नौसैनिक क्षमता, हतियार भण्डारण केन्द्र, सञ्चार सञ्जाल तथा तटीय निगरानी केन्द्रहरू रहेका छन् ।

अमेरिकाले यस साता तीन दिनको अवधिमा ३०० भन्दा बढी लक्ष्यमा आक्रमण गरी हर्मुज जलडमरु हुँदै आवतजावत गर्ने व्यापारिक जहाजमाथि आक्रमण गर्ने इरानको क्षमता कमजोर बनाउने प्रयास गरिएको जनाएको छ ।

सेन्टकमले मे महिनाको शुरूदेखि अमेरिकी सेनाले करिब ८०० व्यापारिक जहाजलाई सुरक्षित रूपमा हर्मुज जलडमरू पार गराउन सहयोग गरेको र ती जहाजबाट करिब ४० करोड ब्यारेल तेल ढुवानी भएको दाबी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्