
काठमाडौं महानगपालिकासहित अधिकांश नगरपालिकामा मतगणना चलिरहेको छ । काठमाडौंका ३ नगरपालिकाको नतिजा आइसकेको छ भने अन्यमा गणना चलिरहेको छ । मंगलवार बिहानसम्म काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ९ हजार ६ सय १४ मतसहित अग्रता लिएका छन् । एमालेका केशव स्थापित ५ हजार १ सय ५७ मतसहित दोस्रो स्थानमा छन् ।
काठमाडौंको कीर्तिपुर, दक्षिणकाली र तारकेश्वर नगरपालिकामा कांग्रेस विजयी भइसकेको छ । यसअघि जितेको दक्षिणकालीमा कांग्रेसले जीत दोहोर्याएको छ भने एमालेले जितेको कीर्तिपुर फुत्काएको छ ।
यस्तै तारकेश्वर नगरपालिकामा पनि काँग्रेसले नै जित हात पारेको छ । तारकेश्वरमा काँग्रेस उम्मेदवार कृष्णहरि महर्जन मेयर र सृजना बुर्लाकोटी उपमेयर जितेका हुन् ।
काठमाडौंको कागेश्वरी मनोहरामा नेपाली कांग्रेसका उपेन्द्र कार्की ३ हजार ६ सय ९९ मत सहित अग्रस्थानमा छन् । एमालेका रामशरण ढुंगाना ३ हजार १ सय ८७ मतसहित दोस्रो स्थानमा छन् ।
गोकर्णेश्वरमा पनि नेपाली कांग्रेसले अग्रता लिएको छ । मंगलवार बिहानसम्मको गणनामा नेपाली कांग्रेसका दिलिप रिसाल ५ हजार ५ सय ५६ मतसहित अग्रता लिइरहेका छन् । एमालेका उद्धव विष्ट ५ हजार ३ सय ५३ मत सहित दोस्रो स्थानमा छन् ।
चन्द्रागिरी नगरपालिकामा नेपाली कांग्रेसका घनश्याम गिरी ८ हजार ४ सय ८८ मतसहित अग्रता लिइरहेका छन् । एमालेका उत्तमबहादुर राउत ९ सय ४० मतसहित अगाडी छन् । कांग्रेसका घनश्याम गिरी ६ हजार ८ सय २९ मतसहित दोस्रो स्थानमा छन् ।
टोखा नगरपालिकामा नेपाली कांग्रेसकी उम्मेदवार रजनी थापाले अग्रता लिइरहेकी छिन् । रजनीले ६ हजार ९ सय २९ मत प्राप्त गर्दा एमालेका प्रकाश अधिकारीले ६ हजार ७ सय १ मत प्राप्त गरेका छन् ।
नागार्जुन नगरपालिकामा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत ३ हजार ४ सय ८३ मतसहित पहिलो स्थानमा छन् । एमालेका नन्दनहरि गौतम २ हजार ६ सय ४८ मतसहित दोस्रो स्थानमा छन् ।
बूढानीलकण्ठमा एमालेका मिठाराम अधिकारी ६ हजार ९१ मत मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका विनोद चालिसे ५ हजार ६ सय १९ मतसहित दोस्रो स्थानमा छन् । शंखरापुरमा राप्रपाका रमेश नापितले ३ हजार ३ सय १८ मतसहित अग्रता लिइरहेका छन् । तीब्र प्रतिष्पर्धा भइरहेको शंखरापुरमा ३ हजार २ सय ५० मतसहित नेकपा एसका लक्ष्मीप्रसाद श्रेष्ठ दोस्रो स्थानमा छन् ।