
राजधानी काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका अधिकांश नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
देशको राजधानी रहेको काठमाडौं जिल्लाका १० नगरपालिकामध्ये ६ वटामा नेपाली कांग्रेस, ६ वटामा एमाले र १ पालिकामा राप्रपा विजयी भएको छ ।
नागार्जुन नगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।
मतगणना सार्वजनिक भएकामध्ये कागेश्वरी मनोहरामा कांग्रेसका उपेन्द्र कार्की, कीर्तिपुरमा राजकुमार नकर्मी, गोकणेश्वरमा दिलिपकुमार रिसाल, चन्द्रागिरीमा घनश्याम गिरी, तारकेश्वरमा कृष्णहरि महर्जन र दक्षिणकालीमा मोहन बस्नेत विजयी भएका छन् ।
नेकपा एमालेको तर्फबाट टोखा नगरपालिकामा प्रकाश अधिकारी र बूढानीलकण्ठमा मिठाराम अधिकारी विजयी भए । शंखरापुरमा राप्रपाका रमेश नापित विजयी भएका छन् ।
मतगणना चलिरहेको नागार्जुनमा कांग्रेसका मोहन बस्नेतले अग्रता बनाएका छन् ।
चासोका साथ हेरिएको काठमाडौं महानगरको भने अहिलेसम्म बल्ल एकतिहाइ मत गणना भएको छ । शुक्रवार बिहानसम्म स्वतन्त्र उम्मेदवार बालेन साहले २६ हजार ६०१ मत पाउँदा एमालेका केशव स्थापितले १४ हजार ३८६ मत पाएका छन् ।
ललितपुरमा कांग्रेसको अग्रता
काठमाडौं उपत्यकाभित्र पर्ने ललितपुरका १ महानगर र २ नगरपालिकामध्ये १ मा कांग्रेस विजयी र १ मा कांग्रेसको अग्रता छ । गोदावरी नगरपालिकामा कांग्रेसका गजेन्द्र महर्जन विजयी भएका छन् ।
ललितपुर महानगरपालिकामा मत गणना चलिरहेको छ । कांग्रेसका चिरिबाबु महर्जन २१ हजार मतसहित अग्रता बनाइरहेका छन् भने एमालेका हरिकृष्ण व्यन्जनकारले १२ हजार ३२ मत पाएका छन् ।
मत गणना जारी रहेको महालक्ष्मी नगरपालिकामा एमालेका हरिगोविन्द श्रेष्ठले अग्रता बनाएका छन् । तालमेलमा माओवादीको भागमा परेको यो नगरपालिकामा शिवप्रसाद कट्टेल पछि परेका छन् ।
भक्तपुरमा कांग्रेस २, एमाले र नेमकिपा १/१
४ वटा नगरपालिका रहेको भक्तपुरमा नेपाली कांग्रेसले २ तथा नेकपा एमाले र नेमकिपाले १/१ नगरपालिका हात पारेका छन् ।
मध्यपुर ठिमी नगरपालिकामा कांग्रेसका सुरेन्द्र श्रेष्ठ र चागुनारायण नगरपालिकामा जीवन खत्री विजयी भएका छन् । सूर्यविनायक नगरपालिकामा एमालेका वासुदेव थापा र भक्तपुर नगरपालिकामा नेमकिपाका सुनिल प्रजापति विजयी भएका छन् ।
काठमाडौं उपत्यकाका नगरपालिकामा विगतको तुलनामा कांग्रेसलाई फाइदा भएको छ भने एमालेले केही गुमाएको छ ।