
मधेश प्रदेशको कुल १३६ स्थानीय तहमध्ये हालसम्म ८७ वटाको परिणाम सार्वजनिक भएको छ ।
यो परिणाम सार्वजनिक हुँदै गर्दा नेपाली कांग्रेसले आफ्नो 'गोरहा खेत' (उर्वरभूमि) मान्ने गरेको मधेश प्रदेशमा पुरानो विरासत जोगाउन सफल भएको देखिन्छ ।
नेकपा एमालेलाई भने फाइदा भएको छ । एमालेले पहिलेभन्दा सुधार गर्दा जनता समाजवादी पार्टी (जसपा)ले पनि आफ्नो वर्चस्व सुधार्दै गएको देखिएको छ ।
यता लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई घाटा लाग्दा नेकपा (एकीकृत समाजवादी) पार्टी र जनमत पार्टीले भने बोनस पाएका छन् ।
अहिलेसम्मको सार्वजनिक मतपरिणामअनुसार कांग्रेसले २९, एमाले १९, जसपा १६, नेकपा माओवादी केन्द्र ७, लोसपा ७, नेकपा (एस) ४ र जनमत पार्टीले २ पालिका जित्न सफल भएका छन् । ३ पालिकामा अन्यले जितेका छन् ।
कांग्रेसले जोगायो विरासत
हालसम्म कांग्रेसले मधेश प्रदेशको सिरहाबाहेक ७ जिल्लामा गरी कुल २९ पालिकामा प्रमुख/अध्यक्ष जितेको छ । जसमध्ये सप्तरीमा ४, धनुषामा ५, महोत्तरीमा २, सर्लाहीमा १०, रौतहटमा २, बारामा २ र पर्सामा ४ पालिकामा प्रमुख/अध्यक्ष जितेको छ।
कांग्रेसले सप्तरीको कञ्चनरुप नगरपालिका, तिरहुत गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका र सप्तकोशी नगरपालिका जितेको छ ।
धनुषाको कमला नगरपालिका, धनौजी गाउँपालिका, नगराइन नगरपालिका, बटेश्वर गाउँपालिका र लक्ष्मीनिया गाउँपालिका जितेको हो ।
महोत्तरीको मनरा शिसवा नगरपालिका र लोहरपट्टी नगरपालिका, रौतहटको चन्द्रपुर नगरपालिका र परोहा नगरपालिका, बाराको कोल्हवी नगरपालिका र सुवर्ण गाउँपालिकामा कांग्रेसले जित निकालेको हो ।
सर्लाहीको कोडैना गाउँपालिका, चन्द्रनगर, धनकौल, पर्सा, ब्रम्हपुरी, विष्णु गाउँपालिका, मलंगवा नगरपालिका, लालबन्दी, हरिपुर र हरिपुरवा नगरपालिकामा कांग्रेस विजयी भएको छ ।
यस्तै पर्साको जगरनाथपुर गाउँपालिका, पकहा मैनपुर, पटेर्वा सुगौली, जिरा भवानी गाउँपालिकामा पनि जित हात पारेको छ ।
२०७४ को स्थानीय निर्वाचनमा कांग्रेसले ४० सिट जितेको थियो । यसपटक त्यो संख्या बढाउने पक्का जस्तै छ ।
एमालेको सुधार, १९ पालिकामा जित

नेकपा एमालेले मधेश प्रदेशमा अहिलेसम्म १९ पालिकामा प्रमुख/अध्यक्ष जितेको छ । २०७४ को स्थानीय निर्वाचनमा १८ सिट जितेको एमालेले केही पालिकाको अन्तिम मत परिणाम नआउFदै एक सिट बढीी जितिसकेको छ ।
एमालेले सर्लाहीमा प्रमुख वा अध्यक्ष पद भने जित्न सकेको छैन । सबैभन्दा बढी सिरहामा ६, पर्सामा ४, बारामा ३, सप्तरी र धनुषामा २/२, महोत्तरी र रौतहटमा १/१ पालिकामा प्रमुख/अध्यक्ष जितेको छ ।
कांग्रेसले सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका र राजगढ गाउँपालिकामा अध्यक्ष जितेको छ । त्यस्तै सिरहाको कर्जन्हा नगरपालिका, सिरहा, कल्याणपुर, धनगढीमाई, भगवानपुर गाउँपालिका र विष्णुपुर गाउँपालिकामा एमालेले जीत हासिल गरेको छ ।
धनुषाको औरही गाउँपालिका र विदेह नगरपालिका, महोत्तरीको रामगोपालपुर नगरपालिका, रौतहटको मौलापुर नगरपालिकामा एमाले विजयी भएको छ ।
बाराको निजगढ नगरपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, पर्साको छिपहरमाई गाउँपालिका, पर्सागढी नगरपालिका, पोखरिया नगरपालिका, ठोरी गाउँपालिकामा एमालेले जीत निकालेको हो ।
जसपालाई बोनस
जनता समाजवादी पार्टी (जसपा)ले मधेशको रौतहट जिल्लाबाहेक ७ जिल्लामा गरी कुल १९ पालिकामा प्रमुख/अध्यक्ष जितेको छ । जसमध्ये सप्तरी, सिरहा र सर्लाहीमा २/२, धनुषा, महोत्तरी र पर्सामा ३/३ र बारामा १ पालिकामा प्रमुख/अध्यक्ष जितेको हो ।
जसपाले सप्तरीको राजविराज नगरपालिका, विष्णुपुर गाउँपालिका, सिरहाको अर्नमा गाउँपालिका र नवराजपुर गाउँपालिका, धनुषाको जनकनन्दिनी गाउँपालिका, मुखियापट्टि मुसहर्निया गाउँपालिका, शहीदनगर नगरपालिका, महोत्तरीको एकडारा गाउँपालिका, पिपरा गाउँपालिका र सम्सी गाउँपालिकामा जीत निकालेको छ ।
सर्लाहीको चक्रघट्टा गाउँपालिका र बसबरिया गाउँपालिका, बाराको करैयामाई गाउँपालिका, पर्साको कालीकामाई गाउँपालिका , धोबिनी गाउँपालिका , बहादुरमाई नगरपालिका जसपाले जितेको छ ।
माओवादी केन्द्रलाई घाटा, ७ पालिकामा खुम्चियो

नेकपा माओवादी केन्द्रले मधेश प्रदेशमा हालसम्म बाराको जितपुर सिमरा उपमहानगरपालिकाको प्रमुखसहित कुल ७ वटा पालिकाको प्रमुख/अध्यक्ष जितेको छ । जसमध्ये सर्लाहीको बलरा नगरपालिका, रामनगर गाउँपालिका, बागमती नगरपालिका, हरिवन नगरपालिका रहेका छन् ।
रौतहटको एक मात्र दुर्गा भगवती गाउँपालिका, सप्तरीको खडक नगरपालिका र बाराको जितपुर सिमरा उपमहानगरपालिकामा १/१ प्रमुख जितेको छ।
माओवादी केन्द्रले अघिल्लो चुनावमा २१ सिट जितेको थियो ।
लोसपा पनि ७ मा खुम्चियो
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेश प्रदेशको ७ पालिकामा लोकतान्त्रिक समाजवादी पार्टीले जित हात पारेको छ ।
लोसपाले मधेश प्रदेशको सप्तरीको महादेवा गाउँपालिका, महोत्तरीको औरही नगरपालिका, मटिहानी नगरपालिका, सर्लाहीको गोडैता नगरपालिका, रौतहटको इशनाथ नगरपालिका, बाराको विश्रामपुर गाउँपालिका, पर्साको विन्दवासिनी गाउँपालिकामा जित्न सफल भएको छ ।
नेकपा एस र जनमतलाई बोनस
नेकपा एकीकृत समाजवादी पार्टीले मधेश प्रदेशमा ४ पालिकामा प्रमुख/अध्यक्ष जित्न सफल भएको छ।
सप्तरीको शम्भुनाथ नगरपालिका, सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका, रौतहटको गौर नगरपालिका,राजदेवी नगरपालिका नेकपा (एस)ले जितेको छ ।
त्यस्तै जनमत पार्टीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र बलान-विहुल गाउँपालिकाको प्रमुख/अध्यक्ष जितेको छ ।
२०७४ को स्थानीय निर्वाचनमा कांग्रेसले ४०, फोरमले २६, राजपाले २५, माओवादी केन्द्रले २१, एमालेले १८, नेपाल लोकतान्त्रिक फोरमले ३, नेपाली जनता दलले २ र नयाँ शक्तिले १ स्थानीय तहमा जित निकालेका थिए ।