
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट विमला अर्याल निर्वाचित भएकी छन् ।
अर्याल लुम्बिनी प्रदेशकै नगर हाँक्ने एक्ली महिला बनेकी हुन् ।
एमाले केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज समेत रहेकी अर्यालले पाँच वर्ष अगाडि भोगेको पराजयपछि अहिले सत्तारूढ गठबन्धनलाई पराजित गरी नगर हाँक्ने जिम्मा आफ्नो काधमा लिएकी छन् ।
कांग्रेसका जिल्ला सभापति समेत रहेको अर्जुन पोखरेललाई ३ हजार २१८ मतका साथ जीत निकाल्दै उनले नगरमा कांग्रेसको एकाधिकार खोसेको प्रतिक्रिया दिइन् ।
प्रस्तुत छ, नवनिर्वाचित नगर प्रमुख विमलासँग लोकान्तरकर्मी प्रकाश आचार्यले गरेको छोटो कुराकानीको सारसंक्षेप ।
'म पाँच वर्ष अगाडि उम्मेदवार हुँदा पनि नगरको विकास केन्द्रित हुने योजनाहरू अगाडि सारेकी थिएँ । अहिलेका पनि समग्र योजनाहरू उस्तै–उस्तै छन् । मेरो मुख्य योजना पश्चिम क्षेत्रकै पुरानो शहर बुटवलको काखमा रहेको सुनवललाई समृद्ध बनाउनेमा रहेको । अबको पाँच वर्षमा मैले समृद्ध सुनवलको आधार तयार गर्नेछु । म लगायत उपप्रमुख एमालेबाट निर्वाचित भए पनि सबै दलहरूसँग मैत्रीभाव कायम गरी नगरलाई समृद्ध बनाउनेमा केन्द्रित हुनेछ । मैले सबै नगरबासीका भावनालाई बुझ्ने गरी काम गर्नेछु ।
यो अबको पाँच वर्ष मेरो पूरै समय नगरका जनतालाई हुनेछ । खानेपानी, स्वास्थ्य, शिक्षामा सुधार गर्नेछु । नगरका विपन्न र विद्यालयको पहुँचमा जान नसकेका बालबालिकाहरूको विद्यालयको पहुँचमा पुर्याउनेछु । विपन्न बालबालिकाहरूलाई छात्रवृत्ति उपलब्ध गराइनेछ । शिक्षाको गुणस्तर स्तरउन्नति गराइनेछ । स्वास्थ्यको क्षेत्रमा जेष्ठ नागरिक र गर्भवती र सुत्केरी हामीले पहिलो प्राथामिकतामा राख्नेछौँ । जेष्ठ नागरिक विरामी भए नगरको आफ्नै एम्बुलेन्स पुगेर विरामीलाई निःशुल्क अस्पतालसम्म पुर्याउनेछौँ । नगरका सबै नागरिकलाई स्वास्थ्य बीमा पहुँचमा ल्याउँदै दीर्घ रोगी मृगौला पीडितका बिरामीको परिवारलाई वार्षिक एक लाख रुपैयाँ नगरले उपलब्ध गराउने योजना अगाडि सार्नेछु । किनकी यति सहयोग घरआँगनको सरकारलाई जनतलाई दिनुनैंपर्छ ।
मासिक पाँच हजार लिटर पानी निशुल्क उपलब्ध गराइने छ । पानीको धारा जडान गर्ने नसक्ने विपन्न र गरिब परिवारलाई निःशुल्क धारा जडान गरी उनीको साथ नगर सरकार रहेको अनुभुति हामीले गराउनेछौँ । नगरका भित्रि र तत्काल निर्माण गर्नुपर्ने सडकहरू छिट्टो भन्दा छिट्टो निर्माणलाई जोड दिनेछौं ।
शासक होइन सेवा बनेर जनताको सेवामा केन्द्रित हुनेछु । नगरमा महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्यमशिलतातर्फ केन्द्रित गराउँदै लैंगिक हिंसा मुक्त सुनवल पनि बन्नेछ ।
नगरमा सबै समुदायको बसोबास छ । नगरका हरेका वडाका विपन्नहरूकालाई कम्तीमा ५ वटाका दरले प्रत्येक वर्ष घरहरू निर्माण गरेर उनीहरूलाई स्थापित गर्नेछौं । हामी आउनुभन्दा अगाडिको सरकारले अगाडि सारेका मुर्छित र जनपक्षीय कामहरूलाई निरन्तरता दिनेछौँ । दोहोरो करको नीतिलाई अन्त्य गर्दै करको दायर भने, बढाउछौं । सुखी, समृद्ध, र हराभर सुन्दर सुनवल बनाउँनेछौं ।'