०३ असार २०८३, बुधबार

को हुन् गठबन्धनलाई हराएर बुटवलको उपप्रमुख चुनिने एमालेकी सावित्रा ?

जेठ ७, २०७९
को हुन् गठबन्धनलाई हराएर बुटवलको उपप्रमुख चुनिने एमालेकी सावित्रा ?

सत्तारुढ गठबन्धनका उम्मेदवारलाई हराउँदै बुटवल उपमहानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी सावित्रादेवी अर्याल निर्वाचित भएकी छन् ।

गठबन्धनबाट उपप्रमुखका उम्मेदवार नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरूङलाई करीब ८ हजारको विशाल मतान्तरले पराजित गर्दै अर्याल उपप्रमुखमा निर्वाचित भएकी हुन् ।

अर्यालले २४ हजार ९०४ मत ल्याउँदा गुरूङले १६ हजार ९८० मत मात्र ल्याउन सके । उपप्रमुखका प्रतिस्पर्धीद्वय अर्याल र गुरुङ बुटवल वडा नम्बर ३ का वडावासी हुन् । 

अर्यालले कठिन गठबन्धनसँग पनि फराकिलो मतान्तरले विजयी भएकी हुन् । 

गत निर्वाचनमा पनि एमालेकी निवर्तमान उपप्रमुख गुमादेवी आचार्यले माओवादीका उम्मेदवार जगत पोखरेललाई १० हजार मतान्तरले पराजित गरेकी थिइन् । 

नेकपा एमालेको केन्द्रीय सदस्यसमेत रहेकी अर्याल सामाजिक क्षेत्रमा पनि लामो समयदेखि क्रियाशील छन् ।

२०३६ सालको आन्दोलनबाट सक्रिय राजनीतिमा प्रवेश गरेकी अर्याल २०४७ सालमा तत्कालीन नेकपा मालेको सदस्यता प्राप्त गरी निरन्तर पार्टीमा सक्रिय रहँदै आएकी छन् । 

अर्याल २०४९ सालमा तत्कालीन बुटवल नगरपालिकाको कार्यपालिका सदस्यमा मनोनीत भएकी थिइन् भने २०५४ सालमा निर्वाचित वडा सदस्य भएर जनप्रतिनिधिको भूमिका निर्वाह गर्दै आएकी थिइन् ।

२०६२/६३ मा भएको जनआन्दोलनमा घाइतेसमेत भएकी अर्याल बुटवल महिला जेसीजबाट लेडी अफ द इयर २००८ बाट सम्मानित भएकी थिइन् । 

बुटवलमा महिला समाजसेवीको सशक्त पहिचान बनाएकी अर्यालले बाल्यकालमा विद्यालय जान नपाएका आमाहरूका लागि महिला विद्यालय स्थापना गरी शिक्षा क्षेत्रमा अभियान चलाएकी थिइन् ।

उनकै अध्यक्षतामा स्थापना भएको साधना महिला विद्यालयमा अहिले पनि १५ वर्षदेखि ७० वर्ष उमेरसम्मका १ सयभन्दा बढी महिलाहरू अध्ययनरत छन् । 

शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै राष्ट्रपतिबाट शिक्षासेवीको जनसेवा श्री चतुर्थबाट विभूषित समेत भइसकेकी छन् । 

अर्याल जीवराज आश्रित स्मृति प्रतिष्ठान र मदन आश्रित अक्षयकोषकी पनि संस्थापक सदस्य रहेर काम गर्दै आएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्