
रुपन्देहीका १६ मध्ये १४ स्थानीय तहको निर्वाचन मत परिणाम आएको छ ।
जिल्लामा १ उपमहानगर, ५ नगरपालिका र १० गाउँपालिका छन् ।
नतिजा आएका १३ पालिकामध्ये नेपाली कांग्रेस ९ पालिकामा विजयी हुँदै पहिलो दल बनेको छ ।
नेकपा (एमाले) ले ३ पालिका जितेर दोस्रो दलमा खुम्चिएको छ । जनता समाजवादी पार्टी नेपाल (जसपा) र जनता प्रगतिशील पार्टीले एक/एक पालिका जितेका छन् ।
अघिल्लो चुनावमा तेस्रो शक्तिमा रहेको कांग्रेस पहिलो बन्दा दोस्रो रहेको जसपा चौथो दलमा पुगेको हो ।
अघिल्लो निर्वाचनमा एमालेले ८ पालिका जितेको थियो । कांग्रेसले दुई पालिका मात्र जितेको थियो ।
रुपन्देहीमा २०७४ को स्थानीय तह चुनावमा एमाले र जसपापछि कांग्रेस तेस्रो दलमा खुम्चिएको थियो ।
तिलोत्तमा र कोटहीमाई गाउँपालिकाको नतिजा आउन बाँकी छ । नतिजा आउन बाँकी पालिकामा पनि कांग्रेसको अग्रता छ ।
बुटवलको मेयरमा कांग्रेस, उपमेयरमा एमाले
बुटवल उपमहानगरको प्रमुखमा नेपाली कांग्रेसका खेलराज पाण्डे विजयी भएका छन् । पाण्डे ७ हजार ५ सय बढी मतान्तरले विजयी भएका हुन् ।
पाण्डेले ३० हजार १३० मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का बाबुराम भट्टराईले २२ हजार ५९७ मत पाएका छन् ।
त्यस्तै उपप्रमुखमा भने एमालेकी सावित्रा अर्याल विजयी भएकी छन् । एमालेकी अर्यालले २४ हजार ९०४ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का चिनबहादुर गुरुङले १६ हजार ९८० मत पाएका छन् ।

देवदह प्रमुख–उपप्रमुख दुवैमा एमाले
देवदह नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् ।
प्रमुखमा धुव्रप्रसाद खरेलले १२ हजार ९४३ मत प्राप्त गरी विजयी भएका हुन् । नेता खरेलले नेपाली कांग्रेस प्रमुखका उम्मेदवार हिराबहादुर खत्रीलाई एक हजार ६२० मतान्तरले पराजित गर्दै विजयी भए ।
खत्रीले ११ हजार ३२३ मत प्राप्त गरेका छन् । उनी २०७४ सालको निर्वाचनमा प्रमुखमा विजयी भएका थिए । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेर निर्वाचनमा होमिएको थियो ।
यसै गरी देवदह नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी विद्यालक्ष्मी गुरुङ विजयी भएकी छन् । गुरुङले १३ हजार ७८४ मत प्राप्त गरी उपप्रमुखमा विजयी भएकी हुन् ।
गुरुङले नेकपा माओवादी केन्द्रकी सुन्दरी गिरीलाई ६ हजार ४९४ मतान्तरले पराजित गरेकी हुन् । गुरुङ २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि उपप्रमुखमा निर्वाचित भएकी थिइन् । गिरीले ७ हजार २९० मत प्राप्त गरेकी छन् ।
सैनामैनाको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले
सैनामैना नगरपालिकाको प्रमुखमा संयुक्त गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् ।
नगर प्रमुखमा एमालेका चित्रबहादुर कार्कीलाई पराजित गर्दै संयुक्त गठबन्धनबाट कांग्रेसका फणेन्द्र शर्मा विजयी भएका हुन् ।
शर्माले १५ हजार ६८६ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कार्कीले १५ हजार १०४ मत ल्याएका छन् । कार्की २०७४ को निर्वाचनमा प्रमुखमा निर्वाचित भएका थिए ।
उपप्रमुखमा भने नेकपा एमालेकी विना राना विजयी भएकी छन् । रानाले नेकपा माओवादी केन्द्रका मानबहादुर महतलाई पराजित गर्दै विजयी भएकी हुन् ।
रानाले १५ हजार ७६२ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी महतले १३ हजार ७२० मत ल्याएका छन् ।

सिद्धार्थनगरको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले
सिद्धार्थनगर नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका इस्तियाक अहमद खान निर्वाचित भएका छन् ।
खानले ९ हजार १३४ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका सागरप्रताप राणाले ८ हजार १३७ मत प्राप्त गरेका छन् ।
त्यसै गरी उपप्रमुखमा एमालेकी उमा अधिकारीले जित हासिल गरेकी छन् । अधिकारीले ८ हजार ८१३ मत प्राप्त गरेकी छन् ।
अधिकारीको निकटतम प्रतिद्वन्द्वीमा राप्रपाकी विनिता गुप्ताले ६ हजार ५४४ मत प्राप्त गरेकी छन् । २०७४ सालमा भएको स्थानीय तह चुनावमा सिद्धार्थनगर नगरपालिकाको प्रमुख तथा उपप्रमुख एमालेले जितेको थियो ।
रोहिणीको अध्यक्ष जसपा, उपाध्यक्षमा राप्रपा
रोहिणी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का उम्मेदवार विद्याप्रसाद यादव विजयी भएका छन् । यादवले ७ हजार ४९६ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ताहिर अलिले ६ हजार ४५८ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा राप्रपाकी उम्मेदवार शिवकान्ति चमार ६ हजार १५४ मत प्राप्त गरी विजयी भएकी छन् । उनकी प्रतिद्वन्द्वी जसपाकी रीमा मिश्राले ५ हजार ९०२ मत प्राप्त गरेकी छन् ।
मर्चवारीमा अध्यक्ष/उपाध्यक्षमा जनता प्रगतिशील
मर्चवारी गाउँपालिकाको अध्यक्षमा जनता प्रगतिशील पार्टीका उम्मेदवार गयाप्रसाद बरई निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार ज्ञानप्रकाश मिश्रालाई ११४० अन्तरले पराजित गर्दै बरई विजयी भएका हुन् ।
बरईले ४ हजार ३८५ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी मिश्राले ३ हजार २४५ मत प्राप्त गरे ।

मर्चवारी जनता प्रगतिशीलले जितेको रुपन्देहीको एक मात्र पालिका हो । गाउँपालिका उपाध्यक्षमा पनि जनता प्रगतिशील पार्टीकै उम्मेदवार आशा सिंह विजयी भएकी छन् ।
कांग्रेस उम्मेदवार सुमन यादवलाई ५५६ अन्तरले पराजित गर्दै उनी विजयी भएकी हुन् । सिंहले २ हजार ९६५ मत प्राप्त गरिन् भने उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसको उम्मेदवार यादवले २ हजार ४०९ मत प्राप्त गरिन् ।
ओमसतियाको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस
ओमसतिया गाउँपालिका अध्यक्ष एमालेले जितेको छ । गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार मन्जितकुमार यादव निर्वाचित भएका छन् । उनले ४ हजार ८३१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी राप्रपाका तिलकसिंह कोइरालाले ३ हजार १३९ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा भने नेपाली कांग्रेसकी उम्मेदवार सुनिता चौधरी निर्वाचित भएकी छन् । ४ हजार १३९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी राप्रपाकी चित्रलेखा थारुले ३ हजार ४५५ मत प्राप्त गरिन् ।
मायादेवीको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा लोसपा
मायादेवी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ध्रुवनारायण चौधरी विजयी भएका छन् । उपाध्यक्षमा भने लोसपाकी नर्वदादेवी उपाध्याय विजयी भएकी छन् ।
पालिका अध्यक्ष पदमा चौधरी ५ हजार ३८६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का उम्मेदवार रामअधारे अहिरले ४ हजार ९८८ मत प्राप्त गरेका थिए ।
अध्यक्ष पदमा विजयी चौधरी २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
त्यसै गरी उपाध्यक्षमा लोसपाकी उम्मेदवार नर्वदादेवी उपाध्याय ४ हजार ९४२ मत प्राप्त गरी विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी तारादेवी यादवले ४ हजार ८८९ मत प्राप्त गरेकी छन् ।
सियारीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस
सियारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
अध्यक्षमा थानेश्वर घिमिरे १० हजार ४५ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान गाउँपालिका अध्यक्षसमेत रहेका नेकपा एमालेका उम्मेदवार अयोध्या थारुले ७ हजार २६८ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
यस्तै उपाध्यक्षमा कांग्रेसकै तारा थारु ८ हजार ९९० मत ल्याई विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेका अमृता गुरुङले ७ हजार २६९ मत प्राप्त गरिन् ।
गैडहवाको अध्यक्ष/उपाध्यक्षमा एमाले
गैडहवा गाउँपालिकामा एमालेका सुरेन्द्र पौडेल विजयी भएका छन् । पौडेलले ५ हजार ६३१ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार बसि उल्लाह मुसलमानले ४ हजार ३८८ मत प्राप्त गरे ।
त्यस्तै उपाध्यक्षमा एमालेकै उम्मेदवार माधुरी जैसवाल विजयी भएकी छन् । जैसवालले ४ हजार ७५७ मत प्राप्त गरिन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार मन्जु न्यौपानेले ४ हजार ६५१ मत प्राप्त गरिन् ।
सम्मरीमाई गाउँपालिकामा कांग्रेस
सम्मरीमाई गाउँपालिकामा अध्यक्षमा कांग्रेसका उम्मेदवार विनोद श्रीवास्तव र उपाध्यक्ष कुमारी प्रियंका शाही सिंह विजयी भएका छन् ।
श्रीवास्तवले ४ हजार १३४ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का जितेन्द्रनाथ शुक्ल (बब्लु) ले ३ हजार ५०२ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा निर्वाचित सिंहले ४ हजार ४ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की बिन्द्रावती गुप्ताले ३ हजार ३०४ मत प्राप्त गरिन् ।
शुद्धोधनको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले
शुद्धोधन गाउँपालिकामा नेपाली कांग्रेसका विष्णुप्रसाद बस्याल विजयी भएका छन् । बस्याल सात हजार ९८३ मत ल्याई विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का किशुनचन्द्र चौधरीले ६ हजार २७० मत प्राप्त गरे ।
यस्तै उपाध्यक्षमा एमालेका शान्तादेवी ज्ञवाली ६ हजार ६८२ मत ल्याई विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपाध्यक्षका गठबन्धनतर्फ नेकपा (माओवादी केन्द्र) की शारदा भुसालले तीन हजार २५५ मत प्राप्त गरेकी छन् ।
कञ्चनको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी
कञ्चन गाउँपालिकामा कांग्रेसका नवराज ढकाल निर्वाचित भएका छन् । उनले एमालेका दीनानाथ आचार्यलाई पराजित गरे । ढकालले ९ हजार ८५ मत र आचार्यले सात हजार ८४५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
उपाध्यक्षमा माओवादी केन्द्रकी मौसमी थापा मगर ९ हजार १९४ मत ल्याई विजयी भएकी छन् ।
लुम्बिनी सांस्कृतिकको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ ।
प्रमुखमा नेपाली कांग्रेसका सजरुद्दिन खान ८ हजार २११ मत ल्यायी विजयी भएका छन् । उनका प्रतिस्पर्धी डा. सीके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवार चन्द्रकेश गुप्ताले ५ हजार ५९६ मत ल्याएका छन् ।
त्यस्तै उपप्रमुखमा नेकपा एमालेकी कल्पना हरिजन विजयी भएकी छन् । उनले ६ हजार ९६९ मत पाएकी छन् । उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी शवनम जहाँशेख ४ हजार ९०९ मत ल्याएकी छन् ।
नेकपा एमालेले ५ वटा वडा जितेको छ । नेपाली कांग्रेसको ३ वडा, जनता समाजवादीका ३ वडा र लोकतान्त्रिक समाजवादी १ वडामा जित निकालेको छ । वडा नं. ७ मा भने जनमत पार्टी र जनता समाजवादी पार्टीका उम्मेदवारको मत बराबर छ ।