
भरतपुर अस्पतालले सातामा पाँच दिन बिहान ७ बजेबाट नै ओपिडी टिकट खुला गरेको छ ।
अस्पतालले सातामा दुई दिन बिदा हुँदा बिरामीको चाप बढेकाले बिहान ७ बजेबाट नै पहिलो पटक टिकट खुला गरेको हो ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड प्राडा कृष्णप्रसाद पौडेलका अनुसार यसअघि बिहान ८ बजेबाट ओपिडी टिकट खुला गरिँदै आएकोमा एक घण्टा अघिदेखि नै टिकट खुल्ला गरिएको हो । उहाँका अनुसार बिहान ८ : ३० बजेबाट जिओपिडी (जनरल ओपिडी) सेवा शुरु हुनेछ भने विशेषज्ञ क्लिनिक ९ : ३० बजेबाट शुरू हुनेछ ।
यसअघि मध्याह्न १२ बजेसम्म ओपिडी टिकट खुल्ने हुने गरेकोमा आधा घण्टा थप गरी अब टिकट काउन्टर १२: ३० बजेसम्म खुल्ने छ । सोमवारदेखि शुक्रवारसम्म बिदाको दिन बाहेक यो नियम लागू हुने पौडेलले जानकारी दिए । ओपिडी सेवामा परीक्षण भने ९:३० बजेदेखि ३:३० बजेसम्म हुनेछ ।
अस्पतालले आइतवार सार्वजनिक बिदाको दिन पनि निजी अस्पतालको तुलनामा कम शुल्कमा बिहान ९:३० देखि दिउँसो १ बजेसम्म बिरामीलाई ओपिडीमा परीक्षण गर्ने व्यवस्था मिलाएको छ ।