
रोजगारीको अभाव देखाउँदै विदेशिने युवालाई स्वदेशमै स्वरोजगारको सन्देश दिन सफल भएकी छन् मकवानपुरकी अनिता अर्याल । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–५ दिल्लीपुर निवासी अनिता अर्याल विगत ७–८ वर्षदेखि हेटौंडा–५ सानोपोखराको सडक छेउमा ठेलामा मःम बिक्री गरेर व्यवसाय गर्दै आएकी छन् ।
हेटौंडाका अधिकांश ठाउँमा पुरुषले मात्र ठेलामा मःम बिक्री गर्दै आएको देख्न पाइन्छ तर अनिताले फरक देखिएकी छन् । महिला भएकै कारण ठेला व्यवसाय गर्नुहुँदैन भन्ने मानसिकतालाई चिर्दै उनले अन्य महिलालाई समेत काम गर्न प्रेरणा जगाइरहेकी छन् ।
परिवारमा १ छोरा, १ छोरी, पतिसहित ५ जना रहेको उनको परिवार अहिले ठेलामा बिक्री गरेको मःमको आम्दानीबाटै गुजारा चलाइरहेको छ ।
करीब १०–१२ वर्षअघि उनका देवरले सानेपोखरामै ठेलामा मःम बिक्री शुरू गरे तापनि केही वर्षपछि काम छोडे । त्यसलगत्तै उनका पति वैदेशिक रोजगारीको सिलसिलामा दुबई गएपछि उनी छोराछोरी पढाउन हेटौंडा छिरिन् । हेटौंडा छिरेपछि उनले अन्य कामतिर भन्दा पनि आफैं स्वरोजगार बन्ने सोच राखिन् ।

उनले देवरले छाडेर गएको ठेलामा मःम बिक्री गर्दै व्यापार गर्ने सोच बनाइन्, जसबाट उनी स्वरोजगार बन्न पुगिन् । शुरूशुरूमा उनलाई त्यो काम गर्न त्यति सहज भएन । महिलाले आफ्नो कोठाबाट मःम बेच्न ठेला धकेल्दै ल्याउँदा धेरै मानिसहरूले अनौठो मानेर हेर्ने गरेको उनले बताइन् । त्यो समय निकै फरक रहेको भन्दै उनले भनिन्, ‘त्यो समयमा महिलाहरू अहिले जस्तो खुलेर सबै काम गर्दैन्थे । चोकमा बसेर ठेलामा मःम बेच्ने काम नि महिलाले गर्छ भन्ने सोच थियो तर मेरो नजारमा सबै काम बराबर थियो । कुनै पनि काम ठूलो–सानो हुदैन भन्दै काम शुरू गरें ।’
अनिताले आफ्नो व्यवसायलाई निरन्तरता दिइरहिन् तर सडकछेउ चोकमा मःम बिक्री गर्दै आइरहेको ठेला चोकमा रहेका अन्य व्यापारी पसलेले अन्यत्र सार्न भनेपछि उनले अहिले एउटा सानो कोठा भाडामा लिएर मःम बिक्री गर्दै आइरहेकी छन् ।
‘बिहान आफ्नो कोठाबाट यहाँ आउँछु । मःम बनाउन चाहिने सामानहरू तयार गर्छु । दिउँसो ११–१२ तिरबाट मःम बनाउन शुरू गर्छु । २ बजेबाट ठेलामा मःम लगायत बफ स्टिक, लेगपिस, ससेज, तयार पारेर बिक्री गर्न शुरू गर्छु । मासिक ४०–४५ हजार कमाइ हुन्छ,’ उनले भनिन् ।

मःम बिक्रीबाट भएको आम्दानीले छोराछोरी पढाउन कोठा भाडा तिर्न, खान बस्न पुगिरहेको उनले बताइन् । आफू यो कामबाट खुुशी रहेको भन्दै उनले भनिन्, ‘छोराले अहिले एसईईको परीक्षा दियो । छोरी यहीँ क्याम्पसमा १२ कक्षामा पढ्दै छे । घरपरिवारसँग खान बस्न पाइएको छ, योभन्दा खुशी अरु के चाहियो र ?’
अनिताले हाँस्दै भनिन्, ‘ठेलामा मःम खान आउने ग्राहकसँग एउटा गुनासो छ मेरो । कोठामा बस्नुपर्छ, कोठाको भाडा पनि बढेको छ । मःम बनाउन चाहिने नून, तेल, ग्यास, पिठो लगायत सबैको भाउ बढेको बढ्यै छ तर त्यही मान्छे अन्य ठाउँमा १०० रुपैयाँ, २०० रुपैयाँ तिरेर पनि मःम खान्छ तर यहाँ ७० रुपैयाँ प्लेट पनि महंगो भो भन्छ ।’ पैसा बढाए खान आउन छाड्ने डरले अहिले पनि मःम ७० रुपैयाँ, लेगपिस १०० रुपैयाँ, ससेज ३५ रुपैयाँमै बिक्री गर्दै आइरहेको उनले सुनाइन् ।
जाडोको मौसममा अलि धेरै बिक्री हुने मःम अहिले गर्मी सिजनमा दिनको ४०–४५ प्लेट मात्र बिक्री हुने उनले सुनाइन् । अहिले उनका पति रामबाबु अर्याल पनि २ वर्षको वैदेशिक रोजगारबाट घर फर्किएका छन् । उनले पनि पत्नीको काममा सघाइरहेका छन् ।
रामबाबु भन्छन्, ‘अहिले कामको खोजीमा बाहिर जाने क्रम बढिरहेको छ । गर्यो भने यही स्वदेशमै पनि हुँदो रहेछ, काम ठूलो सानो हुँदैन रहेछ । विदेशमा पनि पैसाको बोट नहुने र मरीमेटेर घरपरिवारबाट टाढा बसेर काम गर्नुपर्ने बाध्यता रहेको छ ।’ उनले अब आफू पनि विदेश नजाने र अरु नेपाली दाजुभाइलाई पनि आफ्नै देशमा केही गर्न आग्रह गरेका छन् ।