
पाल्पाको पर्वखोला गाउँपालिकाभित्र अध्ययनरत विद्यार्थीको मुटु परीक्षण गरिएको छ ।
वडा नम्बर १, ५ र ६ मा चलेको निःशुल्क मुटु परीक्षण शिविरमा १ हजार ८०० विद्यार्थीको मुटु परीक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मोहन ढकालले बताए ।
शिविरमा वडा नम्बर १ मा छात्र ४४३ र छात्रा ३९५ गरी ८३८, वडा नम्बर ५ मा छात्र २८१ र छात्रा २८८ गरी ५६९ तथा वडा नम्बर ६ मा छात्र १९४ र छात्रा १९६ गरी ३९० विद्यार्थीको मुटु परीक्षण गरिएको हो ।
त्यसमध्ये एक विद्यार्थीलाई काठमाडौं र ७ विद्यार्थीलाई लुम्बिनी मेडिकल कलेजमा थप परीक्षणका लागि पठाइएको छ ।
हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यालय काठमाडौंको सहयोग र नेपाल हृदयरोग निवारण प्रतिष्ठान एकाइ कार्यालय पूर्वखोलाको आयोजनामा शिविर सञ्चालन गरिएको हो । परीक्षण पश्चात् मुटुमा समस्या देखापरेका र आर्थिक अवस्था कमजोर भएका परिवारका विद्यार्थीलाई गाउँपालिकाले स्वास्थ्य उपचारमा सहयोग गर्ने जनाइएको छ ।