
अच्युत मान सिंह प्रधान 'उत्सुक'
नफालौं जथाभावी फोहर यत्रतत्र
फालौं कुनै तोकिएको निश्चित स्थानमा मात्र ।
फोहरलाई छुट्याऔं घरमै दुई किसिमले
राखौं एक ठाउँमा सड्ने अनि गल्ने चिज, वस्तु
राखौं अर्को ठाउँमा नसड्ने अनि नगल्ने चिज, वस्तु ।
अनि दिऔं छुट्ट्याई फोहर संकलन गर्न आउनेलाई
फोहर संकलक नआएसम्म जम्मा गरेर राखौं घरमै ।
जानेमा फोहरलाई बदल्न सकिन्छ मोहरमा
जान्नुपर्छ केवल फोहर विसर्जन गर्न मात्र ।
हुन त, जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिँड हो यो
जथाभावी फोहर फाल्ने गर्नाले,
हुन्छ, वातावरण प्रदूषित अनि दुर्गन्धित ।
फैलन्छ सबैतिर महामारी,
लाग्छ विभिन्न प्रकारको रोगव्याधि
अनि जान सक्छ ज्यान अकालमै ।
यसर्थ नफालौं फोहर जथाभावी आफू,
अनि सिकाऔं अरूलाई पनि ।
फोहरलाई निश्चित स्थानमा फाल्ने गरौं सबैले
नबनौं कोही पनि फोहर फाली सजायको भागी र रोगी ।
नगरौं फोहरमा राजनीति कसैले पनि
नदिऔंं कसैले जथाभावी फोहर फाली असभ्यताको परिचय
बनौं उदाहरण सबै सभ्य र सचेत नागरिकको ।
गरौं सबैले आफू बस्ने ठाउँको वातावरण स्वच्छ अनि बस्न लायक
अनि बनाऔं सबैले स्वच्छ र सफा काठमाडौं ।