२९ जेठ २०८३, शुक्रबार

जनता हिँड्ने बाटोमा साँघु, सम्धीको घर जान पक्की कल्भर्ट !

जेठ ३०, २०७९
जनता हिँड्ने बाटोमा साँघु, सम्धीको घर जान पक्की कल्भर्ट !

विकास निर्माणमा नातावादको ज्वलन्त उदाहरण बनेको छ कञ्चनपुर जिल्लामा बनेको एक पक्की कल्भर्ट । करीब २०० मिटरको दूरीमा त्यो विकासको नमूना देख्न सकिन्छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका–२ गोकुलपुर गाउँमा स्याली नाला बग्ने गर्छ । नाला भएर दिनापुर, टेढुवा, बैजुडाँगा लगायतका गाउँका स्थानीय हिँड्ने सार्वजनिक बाटो छ । जुन नालामा कल्भर्ट नहुँदा स्थानीयलाई आवतजावतमा निकै सास्ती छ ।

नालामा कल्भर्टका लागि जग तयार छ तर वर्षौंदेखि बजेट नभएको भन्दै ढलान गरिएको छैन । पैदल यात्री तथा २ पांग्रे सवारीसाधनका लागि साँघु बनाइएको छ, जुन साँघु भएर स्थानीयको दैनिक गुर्जछ ।

नालाको करीब २०० मिटरको दूरीमा भने पक्की कल्भर्ट सरकारी बजेटमा निर्माण गरिएको छ । पक्की कल्भर्ट पारी कुनै बाटो छैन, छ त केवल एक व्यक्तिको घर । सो एक घरमा जानलाई पक्की कल्भर्ट बनाइएको स्थानीयको भनाइ छ ।

स्थानीय लेखबहादुर थापाले नालामा कल्भर्ट नहुँदा दिनहुँ दुर्घटना हुने गरेको दुखेसो सुनाए । विद्यालय जाने बालबालिकाका लागि एकदमै जोखिम रहेको थापाको भनाइ छ । उनले जहाँ जनताको आवश्यकता छ, त्यहाँ कल्भर्ट नभएको तर आवश्यकता नै नभएको ठाउँमा कल्भर्ट बनाइनुले आफूहरूलाई दुखित तुल्याएको स्थानीयको भनाइ छ ।

नयाँ बनाइएको कल्भर्टलाई स्थानीयले ‘सम्धी योजना’को नामले समेत सम्बोधन गर्ने गरेको बताइन्छ । स्थानीय माधव पौडेलले नाताको आधारमा खर्च हुने विकास बजेटले आमनागरिकलाई निकै सास्ती भएको बताए ।

स्थानीयका अनुसार बेलौरी नगरपालिका–२ का वडाध्यक्ष कलवीर चौधरीले आफ्ना सम्धी नाता पर्ने कृष्ण चौधरीको घर जाने नालामा २ लाख २५ हजारको लागतमा कल्भर्ट निर्माण गरिदिएका छन् ।

पछिल्लो ५ वर्षको अवधिमा समेत नालामा पुल बनाउन स्थानीय निकायको ध्यान गएन । मात्र चुनाव जित्ने एजेण्डा मात्रै बनेको बताइन्छ ।

बेलौरी नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा ढलान सहितको कल्भर्ट बनाउन १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो तर आर्थिक वर्षको अन्तिममा बजेट आएको र कार्यान्यनमा ध्यान नदिँदा समस्या त्यूँकात्यूँ रहेको छ ।

बेलौरी नगरपालिका–२ का वडाध्यक्ष कलबीर चौधरीले भने सम्पूर्ण वडावासी आफ्नो आफन्त भएको बताउँदै जहाँ आवश्यक्ता पर्छ, त्यहाँ बजेट छुट्याइने जिकिर गरे । वडाध्यक्ष चौधरी नेकपा एमालेबाट दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्