२७ जेठ २०८३, बुधबार
फोहोरबाट बिजुली निकाल्ने प्लान्ट

किन अलपत्र पर्‍यो फोहोरबाट बिजुली निकाल्न टेकुमा ईयूले बनाइदिएको प्लान्ट ? [भिडियो]

असार १, २०७९
किन अलपत्र पर्‍यो फोहोरबाट बिजुली निकाल्न टेकुमा ईयूले बनाइदिएको प्लान्ट ? [भिडियो]

काठमाडौंको फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनिरहेका बेला फोहोरबाट विद्युत् उत्पादन गर्न भन्दै टेकुमा युरोपीयन युनियनले बनाइदिएको प्लान्ट अलपत्र छ ।

कुहिने फोहोरबाट विद्युत् उत्पादनका लागि सन् २०१५ मा ईयूले बनाइदिएको प्लान्ट हस्तान्तरण भएको ३ महिना मात्र सञ्चालन भयो । त्यसपछि बिग्रिएको प्लान्ट लामो समयदेखि बन्द छ ।

दैनिक ३ टन कुहिने फोहोर उपयोग गरी १४ किलोवाट विद्युत् उत्पादन गर्ने क्षमता प्लान्टको छ । प्लान्टबाट उत्पादित विद्युत् लोडशेडिङका बेला टेकुस्थित वातावरण तथा कृषि विभागको कार्यालयमा प्रयोग गरिएको थियो । साथै उक्त बिजुलीबाट त्यसक्षेत्रको बाग्मती कोरिडोरमा सडक बत्ती समेत बालिएको थियो ।

'करीब ३ महिनाजति प्रयोगमा आएको भन्ने मैले पनि सुनेकी हुँ। त्यसपछि यो प्लान्ट बिग्रियो र यसको मर्मतसम्भारका लागि विज्ञ नभेटिएकाले सञ्चालन हुन सकेको छैन,' वातावरण तथा कृषि विभाग टेकुकी प्रमुख सरिता राईले लोकान्तरसँग भनिन् ।

सरिता राई

उनले थपिन्, 'मशिनमा प्लगइनको समस्या छ । तरकारीको सानो टुक्रा अड्किँदा समेत बिग्रिने गरेको छ । हस्तान्तरण गर्ने समयमा नै मर्मतसम्भारको व्यवस्था गर्न युरोपीयन युनियनलाई आग्रह गरिएको थियो भने यस्तो समस्या नआउने थियो कि,' उनले भनिन् ।

प्लान्ट राखिएको स्थानमा सुरक्षाको राम्रो व्यवस्था नभएकाले बाहिरी मानिस सहजै प्रवेश गर्ने र बिगारिदने गरेको गुनासो त्यहाँ कार्यरत कर्मचारीले गरे ।

विभागका अनुसार यो प्लान्टको लागत करीब २ करोडको हाराहारीमा छ ।

फोहोरबाट कसरी निस्किन्छ बिजुली ?

'काठमाडौंका विभिन्न तरकारी बजारबाट कुहिने फोहोर ल्याएर जम्मा पारिन्छ । त्यस फोहोरलाई स–सानो टुक्रामा परिणत गरी हबरमा हालेर मिक्स गरिन्छ। त्यो फोहोर पिसिएर डाइजेस्टरमा जान्छ। त्यसपछि डाइजेस्ट प्रोसेस शुरू भई ग्यास निस्कन्छ। सो ग्यासलाई एउटा ठूलो बेलुनमा राखिन्छ। त्यहाँबाट ग्यास जेनेरेटरमा जान्छ। अनि बल्ल जेनेरेटरबाट विधुत् उत्पादन हुन्छ,' विभागमा कार्यरत एक इञ्जिनियरले लोकान्तरसँग भने ।

बालेन्द्र साह काठमाडौंको मेयर चुनिएपछि यो प्लान्टलाई सञ्चालन गर्न चासो देखाएको विभाग प्रमुख राईले बताइन् । प्लान्ट मर्मतका लागि महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रसँग समन्वय भइरहेको राईले जानकारी दिइन् ।

'महावीर पुनको संस्था आविष्कार केन्द्रसँगको सहकार्यमा अब यो प्लान्टलाई बनाएर सञ्चालनमा ल्याउने तयारी काठमाडौं महानगरपालिकाले गरेको छ,' उनले भनिन् ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्