०८ साउन २०८३, शुक्रबार
पहिलेदेखिकै असन्तुष्टि पार्किङका कुराले विस्फोट

प्राधिकरण र विमान सञ्चालकको लफडा– एकाएक किन बिग्रियो ? फेरि कसरी मिल्यो कुरा ?

असार ८, २०७९
प्राधिकरण र विमान सञ्चालकको लफडा– एकाएक किन बिग्रियो ? फेरि कसरी मिल्यो कुरा ?

नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीचको विवाद मंगलवार उत्कर्षमा पुगेर मत्थर भएको छ । मंगलवार दिउँसो वायुसेवा संघ र प्राधिकरणले पत्रकार सम्मेलन गरेरै आ–आफ्नो धारणा सार्वजनिक गरे ।

वायुसेवा कम्पनीहरूले प्राधिकरणबाट विनातयारी नियम लाद्न खोजेको भन्दै विरोध गरे । वायुसेवा कम्पनीहरूले आफ्नो माग पूरा गराउन बुधवारदेखि उडान ठप्प पार्ने घोषणा नै गरे ।

यसका लागि मंगलवार दिउँसो साढे १ बजेदेखि नै हवाइ टिकट बूकिङ बन्द गरिदिए । जसका कारण बुधवार बिहानभर प्रमुख वायुसेवा कम्पनीकै आन्तरिक हवाइ उडान प्रभावित भयो ।

प्राधिकरणले पनि सेवाप्रदायकले नियम पालना नगरे वायुसेवा कम्पनीको उडान अनुमति खारेज गरिदिने, अत्यावश्यक सेवा अवरुद्ध गरे पक्राउ गरेर कारवाही गर्ने चेतावनी दियो ।

प्राधिकरण र वायुसेवा बीचको टसललाई मत्थर गर्न मंगलवार राति नै वार्ता भयो । वार्तापछि दुवै पक्ष लचक भएर भद्र सहमति गर्दै बुधवार बिहान ११ बजेदेखि औपचारिकरूपमा उडान गर्ने सहमति जुट्यो । 

यो सहमतिलाई मूर्तरूप दिन आज बुधवार पनि वायुसेवा सञ्चालक संघ र प्राधिकरणबीच अनौपचारिक वार्ता भयो । उक्त वार्ता भने हिजो मंगलवारै भएको समझदारीलाई अन्तिम रूप दिने भन्नेमा मात्रै सीमित भएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कंडेलले बताए ।

कुनै औपचारिक सहमति नै नगरी प्राधिकरणले लचकता अपनायो भने वायुसेवा कम्पनी माग पूरा गराउन सफल भएको भन्दै नियमित उडान अवरुद्ध नगर्ने निष्कर्षमा पुग्यो ।

कँडेलले भने, ‘वायुसेवा कम्पनीले उठाएका एजेन्डामा बुँदागत रूपमा सम्बोधन गर्दै जाने सहमति भएको छ । प्राधिकरणले ल्याएको नियम पनि क्रमिक रूपमा पालना गर्ने विषयमा अनौपचारिक सहमति भएको छ ।’

पछिल्लो समय देखिएको विवाद भने उड्डयन प्राधिकरणले हेलिकोप्टरलाई ८ असार र फिक्स विङ्स (नियमित उडानका वायुसेवा)लाई १३ असारदेखि काठमाडौं बाहिरकै विमानस्थलमा बस्नुपर्ने नियम ल्याएपछि भएको हो ।

आवश्यक पूर्वाधार नभएको, पूर्व तयारीका लागि समय नदिएको र हतारमा निर्णय गरिएकाले विरोध गर्नुपरेको कँडेलले बताए । उनले भने, ‘कार्यालय व्यवस्थित, प्राविधिकरूपमा भएर कर्मचारी तयार हुने र त्यसपछि मात्रै चरणबद्धरूपमा प्राधिकरणको नियम कार्यान्वयन गर्ने सहमति भएको हो ।’

आजको भोलि नै प्राविधिक काम हुन नसक्ने वायु सेवा कम्पनीहरूको जिकिर छ ।

रात्रि उडान गर्न सकिने ८ विमानस्थलमा राति जहाज पार्किङ गर्न सकिने भएपनि बर्सेनि विमानस्थल डुबानमा पर्ने, जनावरको आक्रमण हुने र बेलाबेलामा जहाजसँग जनावर ठोक्किन आइपुग्नेसहितका जोखिम छन् । यस्ता जोखिमकै बीच प्राधिकरणले जवरजस्ती काठमाडौंबाहिर पठाउन नहुने तर्क एक निजी वायुसेवा कम्पनीका कर्मचारीले गरे ।

‘वायुसेवाले नियामकका नियम नै नमान्ने भन्ने पनि होइन । व्यवस्थित ढंगबाट पूर्ण तयारीका साथ कार्यान्वयन गर्नुपर्छ भन्ने हो,’ कंडेलले भने ।

प्राधिकरणले ल्याएका अन्य विषय सबैमा आवश्यक परामर्श, सल्लाह र सहमति भएको छ । 

हवाइ उडान सुरक्षामा वायुसेवा सबै कम्पनी जिम्मेवार भएको र अन्य अव्यावहारिक विषयलाई तयारी गरेर मात्रै कार्यान्वयन गर्नुपर्छ भन्ने मात्रै आफूहरूको माग रहेको संघको भनाइ छ । 

सबैको हितमा आउने नियम नमान्ने भन्न पाइँदँन– प्राधिकरण 

प्राधिकरणले भने सबैको हितमा आउने नियम मान्दिनँ भन्न नपाइने बताएको छ ।

प्राधिकरणले पछिल्लो समय गरेका निर्णय चरणबद्धरूपमा कार्यान्वयन गर्ने विषयमा कुनै दुविधा नभएकाले सबै कार्यान्वयन हुने पनि प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

प्राधिकरणले आन्तरिक वायुसेवालाई जहाँ पार्किङ अनुमति लिइएको हो, त्यहीँ जानुस् भनेको हो । यो विषयमा आवश्यक तयारी गरेर र अनुकूलताअनुसार बाहिर जहाज राख्ने भएका छन् । 

प्राधिकरणले ल्याएको नियमलाई नमान्नु भनेको परिवर्तनलाई सहजै स्वीकार नगरेको भन्ने देखियो । वायुसेवा कम्पनीहरूले आफैं काठमाडौं विमानस्थलमा भीड बढी भयो । जहाज उडान बाहिरबाट गर्ने भन्ने प्रस्ताव आउनुपर्ने थियो ।

अहिले उपत्यकाबाहिर पोखरा, विराटनगर, भैरहवा, जनकपुर, सिमरा, नेपालगञ्ज, चन्द्रगढी र धनगढीमा रात्रि उडान सुविधा छ । यी विमानस्थलमा जति उडान गर्न पनि सकिन्छ ।

आन्तरिक विमानस्थल दैनिक १८ घण्टा खुला हुन्छ । 

वायुसेवा कम्पनीले चाहेकै बेलामा उडान अवतरण हुन सक्ने उड्डयन प्राधिकरणको भनाइ छ । काठमाडौंबाहिर पार्किङ गर्नुले सम्बन्धित कम्पनीलाई नै लाभ हुने प्राधिकरणका निरौलाले बताए ।

पार्किङ व्यवस्थित हुन नसक्दा जोखिम बढ्ने र हवाइ सुरक्षालाई नै चुनौती दिने भएकाले पनि प्राधिकरणले सहजीकरण मात्रै गरिदिएको निरौला बताउँछन् ।

यसरी शुरू भएको थियो प्राधिकरण–वायुसेवा विवाद

प्राधिकरण र वायुसेवा कम्पनीबीच विवाद शुरू भएको १६ जेठदेखि हो । 

१५ जेठमा तारा एयरको विमान मौसमको खराबीका कारण मुस्ताङमा दुर्घटना भएपछि प्राधिकरणले हवाइ उडानको रुटमा मौसम पूर्ण खुला नभएसम्म उडान गर्न नपाउने निर्णय गर्‍यो ।

उक्त निर्णय वायुसेवा कम्पनी र मौसम विभागसँग समन्वय नै नगरी आएको थियो । सो निर्णयपछि १७ र १८ जेठमा दुर्गम क्षेत्रका आन्तरिक उडान प्रभावित भए । त्यसपछि मौसम विभाग इनरुटको मौसमबारे जानकारी दिन नसक्ने र जनशक्ति नभएको भन्दै पन्छिएपछि प्राधिकरणको निर्णयमा ठेस पुग्यो । 

सोही दिन हेलिकोप्टरमा २ जना पाइलट अनिवार्य गराउने निर्णय भएको थियो । यो निर्णयको वायुसेवाले विरोध गरेपछि अध्ययन गरेर मात्रै कार्यान्वयनमा जाने भनियो ।

अध्ययनपछि प्राधिकरणले पुनः ५ असारमा भीआईपी उडानमा दुईजना पाइलट राखेर हेलिकोप्टर उडाउनुपर्ने नियम जारी गर्‍यो । यो निर्णयमा पनि हेलिकोप्टर कम्पनीहरूको सहमति थिएन ।

सोही दिन आन्तरिक उडानका जहाजले १३ जेठदेखि र हेलिकोप्टरले ८ जेठदेखि काठमाडौं बाहिरै बस्नुपर्ने नियम ल्यायो । प्राधिकरणसँग असन्तुष्ट बन्दै आएका वायुसेवा कम्पनी यही विषयलाई निहुँ बनाएर आन्दोलित भए । 

प्राधिकरणको पछिल्लो निर्देशनले विमान कम्पनीहरूले उडान सञ्चालन अनुमति (एनओसी) लिँदा जुन विमानस्थलमा गएर रात बस्ने भनेको हो, त्यहीँ जानुपर्छ ।

प्राधिकरणको यही नियमविरुद्ध वायुसेवा कम्पनीले विरोध गरेका हुन् ।

वायुसेवा कम्पनीले भने बराबर अधिकार पाउनुपर्ने र जहाजको संख्या मूल्यांकन गरेर राति बिसान दिनुपर्ने माग राखेका छन् । यस्तो सुविधा नयाँ र पुराना सबै वायुसेवाले समान रूपमा पाउनुपर्छ भन्ने माग छ ।

वायुसेवा कम्पनीहरूले प्राधिकरणको निर्णय नमान्ने भन्दै निहुँ खोज्नुअघि सरकारले २६ जेठमै हवाइ सेवामा हड्ताल गर्न नपाउने व्यवस्था गर्‍यो ।

आवश्यक सेवा सञ्चालन ऐन, २०१४ अनुसार हवाई सेवामा हड्ताल निषेध गरिएको थियो । 

हवाइ उडान अत्यावश्यक सेवाभित्र पर्ने व्यवस्था हुँदाहुँदै पनि वायुसेवाले यात्रुलाई दुःख दिएरै भएपनि बुधवार ११ बजेसम्म उडान गरेनन् । अहिले भने यस विषयमा क्षमा माग्दै वायुसेवा कम्पनीले उडान सुचारु गरेका छन् ।

अझै पाइपलाइनमा ५ वायुसेवा

हाल आन्तरिक उडानमा ९ नियमित उडानका वायुसेवा र १० हेलिकोप्टर कम्पनी छन् । 

वायुसेवा कम्पनीसँग ५२ वटा जहाज छन् भने ३२ वटा हेलिकोप्टर छन् । यी वायुसेवामध्ये १७ वटा नियमित उडानका वायुसेवालाई मात्रै काठमाडौं विमानस्थलमा रात्रि बिसान गर्न पुग्ने क्षमता छ ।

बाँकी ३५ वटा जहाज दैनिक काठमाडौं बाहिरका विमानस्थलमा बस्नुपर्ने अवस्था छ ।

हाल काठमाडौं विमानस्थलको रिमोर्ट पार्किङ (लामो समय थन्काउने वा आवश्यक चेकजाँच गर्नुपर्ने प्रकृतिको जहाज राख्ने क्षेत्र)मा समेत जहाज राति राख्ने गरिएको छ ।

हेली पनि ३२ वटा पुगेको र सबैलाई ठाउँ दिन नसकेकै कारण प्राधिकरणले भक्तपुरको नलिञ्चोकमा हेलिकोप्टर पार्किङ बनाइरहेको छ । उक्त पार्किङ पूरा हुन भने अझै एक वर्ष लाग्ने प्राधिकरणकै प्रवक्ता निरौलाले बताए  ।

जहाज पार्किङको एजेन्डा र काठमाडौंमा जहाजको चापका कारण बढेको एयर ट्राफिकको समस्या समाधान हुन सकेको छैन । वायुसेवा कम्पनीबीच पछिल्लो समय हवाई भाडामा चर्को प्रतिस्पर्धा हुन थालेको छ । 

त्यसो त यात्रु बढेसँगै नयाँ वायुसेवा आउने क्रम भने रोकिएको छैन । 

प्राधिकरणका हवाई उड्डयन सुरक्षा विभाग प्रमुख राजु श्रेष्ठका अनुसार अन्नपूर्ण हेलिकोप्टर नामक नयाँ कम्पनी सञ्चालनमा आउनलाई अन्तिम तयारीमा छ । यो कम्पनीले प्राधिकरणबाट एओसी लिन आवश्यक प्रक्रिया पूरा गर्ने कामलाई अन्तिम चरणमा पुर्‍याएको छ । यसले हेलिकोप्टर ल्याउन अनुमति पाइसकेको छ । हेलिकोप्टर ल्याएपछि उडान अनुमति पाउने छ । 

यसबाहेक आरएस हेलिकोप्टर, शिवम् एयरलाइन्स, हेली नेपाल र बीबी एयरवेज पर्यटन मन्त्रालयबाट इजाजत पत्र पाएर उडान अनुमतिका लागि प्राधिकरणसमक्ष पुगेका छन् । यी वायुसेवा विभिन्न चरणमा छन् ।

बीबी एयरवेजले नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्न आवेदन दिएको हो । यो वायुसेवा एक दशकअगाडि नै सञ्चालनमा आएर तीन महिनामा नै बन्द भएको थियो । यसले पुनः उडान सञ्चालन गर्ने तयारी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्