११ साउन २०८३, सोमबार

हेटौंडाका भीमको खेलप्रेम : आर्थिक अभाव टार्दै फूटबल प्रशिक्षक

असार ११, २०७९
हेटौंडाका भीमको खेलप्रेम : आर्थिक अभाव टार्दै फूटबल प्रशिक्षक

खेल र खेलाडीलाई राष्ट्रिय गहनाको रूपमा लिइँदै आएको पाइन्छ । खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा सहभागी हुँदै राष्ट्रको गौरव बढाउने काममा समेत अहम् भूमिका खेलेको देखिन्छ । त्यसैले पनि विश्वका विकसित भनिएका राष्ट्रहरूले आ–आफ्ना विशेष प्राथमिकताका खेल निर्धारण गर्दै अन्य खेलको दाँजोमा पूर्वाधार निर्माण, खेलाडी उत्पादन र खेलाडी संरक्षणका लागि भन्दै बढी बजेट विनियोजन गर्ने गरेको पाइन्छ ।

ब्राजिल, अर्जेन्टिना लगायत देशले फूटबल खेललाई बढी प्राथमिकता दिएको पाइन्छ भने छिमेकी देश भारतले क्रिकेटलाई महत्त्व दिएको पाइन्छ । विकसित देशहरूको तुलनामा विकासोन्मुख र अल्पविकसित देशहरूमा खेल क्षेत्रमा गरिने लगानी क्रमशः सुधारोन्मुख देखिए पनि कार्यान्वयनको तहमा फितलो हुन पुग्दा राज्यले गरेको लगानी अनुसारको नतिजा देखिँदैन । त्यसैले पनि नेपालको सन्दर्भमा राम्रा खेलाडीहरू खेल क्षेत्रमा आफ्नो भविष्य सुनिश्चित नदेखिएपछि विदेश पलायन भइरहेको समेत देख्न सकिन्छ तर केही यस्ता खेलाडी र प्रशिक्षक पनि देख्न सकिन्छ, जो आफ्नो जीवनको ऊर्जावान युवा अवस्था खेल र खेलाडी उत्पादनमा तल्लिन रहेका भेटिन्छन् । त्यसैमध्ये हेटौंडाका ३७ वर्षीय युवा फूटबल प्रशिक्षक हुन् भीम लामा ।

हेटौंडा उपमहानगरपालिका–४ स्थित पारिजात पथमा सामान्य मध्यम परिवारमा जन्मेका उनी १२–१३ वर्षको उमेरमा फूटबल खेलमा प्रवेश गरे । घरको आर्थिक अवस्था कमजोर रहे पनि  खेल क्षेत्रमै केही गर्छु भन्ने हुटहुटी भने उनीमा रहिरह्यो । उनी खेल क्षेत्रमा लाग्दै गर्दा आर्थिक स्थिति कमजोर रहेकै कारण घरपरिवारबाट राम्रो साथ सहयोग नपाए पनि उनको खेल कुशलताका कारण हेटौंडमा भने परिचित भइरहे ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेका कवितामा ‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल’ भनिएजस्तै उनले परिवारमा आर्थिक स्थिति कमजोर भएकै कारण भोग्नुपर्ने समस्याहरूबीच खेल क्षेत्रलाई निरन्तरता दिइरहे ।

अन्ततः लामाले २०६३ सालमा आफ्नो मेहनत र खेल कौशलता कारण १७ वर्ष उमेर समूह अन्तर्गत अखिल नेपाल फूटबल संघ (एन्फा) मा ईन्ट्री गरे । एन्फाको तेस्रो म्याचको रूपमा ईन्ट्री गरेर केही समय बस्ने र सिक्ने अवसर पाएको लामाले बताए ।

त्यसलगत्तै उनले संकटा क्लबबाट ए डिभिजन लिग खेले, बी डिभिजनका खेलहरू स्टार क्लब, स्वयम्भु क्लब, फ्रेन्स क्लबबाट खेले । मौफसलमा हुने विभिन्न फूटबलका प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्बलबाट पनि केही खेलहरू खेलेको उनले बताए ।


 
प्रशिक्षकको भूमिकामा लामा

२०७२ सालमा हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको खेल मैदानमा पूर्व राष्ट्रिय टीमका फूटबल खेलाडी जीवन लामाले केही संख्यामा फूटबलमा रुचि भएकाहरूलाई फूटबल सिकाउँदै आएका थिए । लामा पनि त्यहाँ नियमित रूपमा ट्रेनिङ गर्न पुग्ने गर्थे ।

यसरी नै फूटबल खेल सिक्ने र सिकाउने क्रम जारी रहँदै गर्दा प्रशिक्षक रहेका पूर्व राष्ट्रिय फूटबल खेलाडी जीवन लामा विशेष कामका लागि भन्दै काठमाडौं जानुपर्ने भयो । केही दिन तिमीले हेरिदिनुपर्‍यो भन्ने भीम लामालाई सहयोगको अपेक्षा व्यक्त गरे । त्यसलगत्तै जीवन लामा काठमाडौं पुगे भने भीम लामाले प्रशिक्षकको रूपमा भूमिका निर्वाह गरे । केही दिनका लागि काठमाडौं पुगेका जीवन उतैबाट खबर नै नगरी जापान गए ।

त्यसपछि भीम लामाको काँधमा नयाँ जिम्मेवारी थपियो । उनले केही समय भुटनदेवीको मैदानमै खेल प्रशिक्षण गराए पनि केही समयपछि हेटौंडा–४ स्थित हुप्राचौरको खेल मैदानमा प्रशिक्षण गराउन शुरू गरे ।
 
२०७२ सालमा हेटौंडा फूटबल एकेडेमी दर्ता गराए उनले । हाल उनले फूटबल एकेडेमीमा १४ महिला र २६ पुरुष गरी ४० जना ७ वर्षदेखि २० वर्ष उमेर समूहलाई प्रशिक्षण गराइरहेका छन् । उनले बिहान ७ बजेदेखि १० बजेसम्म फूटबल प्रशिक्षण गराउँदै आएका छन । एकेडेमीमा भर्ना शुल्क स्वरूप १ हजार रुपैयाँ र मासिक ५०० रुपैयाँ तिर्नुपर्ने भए पनि अधिकांश निम्न वर्गीय परिवारका खेल्न आउने भएर कतिसँग पैसा पनि नहुने भएकाले त्यत्तिकै सिकाउँदै आएको लामाले बताए ।

‘घरको भात खाएर, धन भएर भन्दा पनि मन भएर केही गर्छु भनेर यो क्षेत्रमा आएको छु । मासिक ५–७ रुपैयाँ नि उठ्न गाह्रो छ । घरकाले साथीभाइ सबैले त गरीबले सक्दैनस् गर्न, विदेश जा भनेर सुझाव दिन्छन् तर म जन्मेको नै फूटबलका लागि जस्तो मात्र लाग्छ,’ उनले भने, ‘जन्मेदेखि अहिलेसम्म अरु सिकिनँ, आफूसँग भएको–जानेको फूटबल नै हो । यो छाडेर म कहाँ जाउँ ? खेल क्षेत्रको विकासका लागि सरकारले ठूलो धनराशी खर्च गर्छ तर हालसम्म पनि स्थानीय र प्रदेश सरकारको १ रुपैयाँ पनि सहयोग प्राप्त भएको छैन ।’

लामा भन्छन्, ‘मसँग केही छैन । कोठामा बस्छु । घरमा आमा, बुवा, भाइ, बुहारी, भतिज र आफूसहित ५ जना छौं । मेरो मासिक कमाइ राम्रो छैन । दिनचर्या चलाउन पनि गाह्रो छ । यही एकेडेमीमार्फत खेलाडी उत्पादन गर्न लागेको छु । मेरो उमेर समूहको सँगै खेलेका  साथीहरू पैसा कमाउन विदेश गए, म यता कमाउनुपर्ने समयमा खेलाडी उत्पादनमै व्यस्त छु । एकेडेमी पनि जसोतसो चलाइरहेको छु । खेल्न आउनेहरूका लागि ट्रेनिङ किट्स, बलहरू साथीभाइको सहयोगबाट सञ्चालन गरिरहेको छु । यस्तो सहयोग थोरैले मात्र गर्छन् ।’

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फूटबल खेलाडी मकवानपुरबाट उत्पादन गर्छु भनेर आफूसँग केही नभए पनि निरन्तर लागिरहेका लामाले बताए ।

एकेडेमी सञ्चालन गरेको छोटो समयमा नै उनले ए डिभिजन खेल्ने २ जना खेलाडी र बी डिभिजन खेल्ने ८ जना र सी डिभिजन खेलाडी खेल्ने ४ जना उत्पादन गरेको बताए । आफूले सानो उमेरबाट सिकाएको खेलाडी राष्ट्रिय प्रतियोगिताका खेलमा खेल्दै गर्दा धेरै खुशी लाग्ने गरेको र त्यस्तो समयमा आफ्नो सबै दुःख बिर्सने गरेको समेत लामाले बताए ।

हाल आफूले पनि एएफसी बी लेभलको लाइसेन्स लिएको  बताउँदै उनले भने, ‘म निस्वार्थ रूपमा राम्रा खेलाडी उत्पादनको मिसनमा छु । खेलाडीलाई सिकाउनु मात्र ठूलो कुरा होइन, अनुभव बटुल्न बढीभन्दा बढी प्रतियोगितामा सहभागी हुनुपर्छ । प्रतियोगितामा हुने खेलहरूको दौरान मात्र खेल प्रदर्शन गर्न सक्छन्, जुन राम्रोसँग गर्न सकिरहेको छ्रैन । प्रतियोगितामा खेल खेल्दै गर्दा, कतै टीम लैजाँदै गर्दा आर्थिक पाटो जोडिन पुग्छ । हामी आर्थिक रूपमा धेरै कमजोर छौं । मन भएर, खेलाडी भएर पनि खेल्न जान र टीमलाई अन्यत्र लैजान सक्दैनौं ।’

यदि कोही कसैले सहयोग गरेको खण्डमा मात्र प्रतियोगितामा सहभागी हुने गरेको लामाले बताए । व्यक्तिगत तथा विभिन्न संघसंस्थाले सहयोग गर्ने हो भने राष्ट्रिय स्तरमा राम्रा खेल्ने खेलाडी उत्पादन गर्दै मकवानपुरलाई फूटबलको हबको रूपमा विकास गरेर देखाउने लामाले बताए । 

salt training

कमेन्ट गर्नुहोस्