०४ साउन २०८३, सोमबार
लम्बिँदो युद्ध

सेभेरोडोनेत्स्क पनि रुसको हातमा, डोनबास कब्जा गर्ने लक्ष्यबाट अब कति टाढा छन् पुटिन ?

असार १२, २०७९
सेभेरोडोनेत्स्क पनि रुसको हातमा, डोनबास कब्जा गर्ने लक्ष्यबाट अब कति टाढा छन् पुटिन ?
Photo : Oleksandr Ratushniak/Reuters

शनिवार (जुन २५) मा रुसी सैनिक तथा डोनबास क्षेत्रका दुई जनगणतन्त्रका मिलिसियाले सेभेरोडोनेत्स्क शहर नियन्त्रणमा लिएका छन् । 

उक्त क्षेत्रबाट पछि हट्नका लागि युक्रेन सरकारले आफ्ना सैनिकहरूलाई शुक्रवार नै आदेश दिइसकेको छ । सैनिकहरूले प्रतिरक्षा गर्न असम्भव रहेकाले पछि हट्न भनिएको हो । आजोट कारखाना रहेको औद्योगिक क्षेत्र समेत रुसको नियन्त्रणमा पुगेको छ । 

यससँगै त्यस क्षेत्रमा बग्ने सेभेर्स्की डोनेट्स नदीको बायाँ किनाराका साथै बोरोव्सकोये, भोरोनोभो र सिरोटिनो शहर पनि रुसी सैनिकहरूको पूर्ण आधिपत्यमा छन् । 

त्यसो त युक्रेनले उक्त क्षेत्रबाट आफ्ना सैनिकहरूलाई पछि हट्न लगाएर आफूअनुकूल रहेको तथा प्रशस्त हातहतियार भएको पोजिसनमा राखेको दाबी गरेको छ । सेभेरोडोनेत्स्कका मेयर अलेक्जेन्डर स्ट्य्रुकले युक्रेनी सेनालाई रुसी फौजहरूले घेराबन्दी गर्न नसकेको भनी आफ्नो हारको सकारात्मक व्याख्याको कोशिश गरे । 

मरिउपोलको आजोभस्टालमा झैं सेभेरोडोनेत्स्कको आजोट कारखानामा युक्रेनी सैनिकहरूले सर्वसाधारणलाई बन्दी बनाएर रुससँग लामो लडाइँ गर्ने योजना बनाएका थिए । तर चेचेन्याका प्रमुख रमजान कादीरोभका अनुसार, ८०० सर्वसाधारण आजोट कारखाना छोडेर गएका छन् र त्यो रुसको पूर्ण नियन्त्रणमा आइसकेको छ । 

युक्रेनबाट पृथक् भएको घोषणा उहिल्यै गरिसकेको लुगान्स्क जनगणतन्त्रका लगभग सबै क्षेत्रबाट अब युक्रेनले पूर्ण रूपमा नियन्त्रण गुमाइसकेको छ । सेभेरोडोनेत्स्कमा विजय प्राप्त गरेपछि रुसी फौजहरू लिसिचान्स्क शहरबाहिर पुगेर युक्रेनीहरूसँग लडाइँ गरिरहेका छन् । डाँडामाथिको लिसिचान्स्क शहर पनि रुसको नियन्त्रणमा गएमा सम्पूर्ण लुगान्स्क क्षेत्र रुसको नियन्त्रणमा पुग्नेछ । 

डोनेत्स्क क्षेत्रसँग सीमा जोडिएको लिसिचान्स्क कब्जामा लिएपछि रुसी फौजहरूको नजर डोनेत्स्कको स्लोभयान्स्क र क्रामातोर्स्क शहरमा पर्नेछ । तिनमाथि नियन्त्रण कायम गर्न सकेमा रुसले डोनबास क्षेत्रलाई युक्रेनी शासनबाट मुक्त गर्ने लक्ष्य हासिल गर्नेछ ।

सेभेरोडोनेत्स्कबाट युक्रेनीहरू हप्तौंअघि पछि हटिसक्नुपर्ने थियो । यसभन्दा लिसिचान्स्कको प्रतिरक्षा गर्न बढी सहज हुन्थ्यो । तर युक्रेनीहरूले प्रत्याक्रमण गरिरहे । 

मरिउपोलको आजोभस्टालमा झैं सेभेरोडोनेत्स्कको आजोट कारखानामा युक्रेनी सैनिकहरूले सर्वसाधारणलाई बन्दी बनाएर रुससँग लामो लडाइँ गर्ने योजना बनाएका थिए । तर चेचेन्याका प्रमुख रमजान कादीरोभका अनुसार, ८०० सर्वसाधारण आजोट कारखाना छोडेर गएका छन् र त्यो रुसको पूर्ण नियन्त्रणमा आइसकेको छ । 

पश्चिमको हतियार नआउन्जेलसम्म रुसी सुरक्षाफौजहरूलाई अल्झाएर राख्न उनीहरूले त्यसो गरेको दी इकोनोमिस्ट पत्रिकामा प्रकाशित एक सामग्रीमा उल्लेख छ । अमेरिकाले युक्रेनलाई दिन खोजेको हिमार्स रकेट लोन्च प्रणालीको प्रतीक्षामा युक्रेनी फौजहरूले सेभेरोडोनेत्स्कलाई प्रतिरक्षा गरिरहेका हुन् । अहिले हिमार्स हतियार प्रणाली युक्रेनी भूमिमा पुगिसकेको छ तर त्यसले युद्धको दिशा बदल्ने कुरा शंकाको घेरामा छ । 

अनि रुसी सैनिकहरूलाई अन्य क्षेत्रहरूमा तैनाथ हुनबाट रोक्नका लागि सेभेरोडोनेत्स्कमा अल्झाएर राखिएको हो । त्यसबाहेक रुसी सैनिकहरूलाई व्यापक हताहती गराएर संख्या घटाइदिने लक्ष्य पनि युक्रेनीहरूले लिएको देखिन्छ । 

शहरी युद्धकलामा युक्रेनीहरूको दक्षता देखिएकाले पनि उनीहरू सेभेरोडोनेत्स्क शहरमा लडिरहेका थिए । खुला ठाउँमा एकअर्काविरुद्ध आर्टिलरी प्रहार गरी लड्ने हो भने रुसले युक्रेनलाई सजिलै हराइदिन्छ ।

तर जस्तो उद्देश्य लिएर लडेको भए पनि युक्रेनी फौजहरू सेभेरोडोनेत्स्कबाट पछि हट्न बाध्य भएका छन् । युक्रेनका लागि यो ठूलो क्षति हो तर ऊ र अमेरिकाले यसलाई महत्त्वहीन घटनाका रूपमा प्रस्तुत गर्न खोजिरहेको छ । अमेरिकाको रक्षा मन्त्रालयले सेभेरोडोनेत्स्क जित्नु रुसका लागि सानो लाभ मात्र भएको प्रतिक्रिया दिएको छ । 

त्यसो त लिसिचान्स्क पनि लामो समय युक्रेनको नियन्त्रणमा रहने देखिएको छैन । रुसले डोनेत्स्कमा रहेको बाखमुट शहरबाट लिसिचान्स्क आउने मूल सडकलाई अवरुद्ध गर्न खोजिरहेको छ । 

बाखमुट शहर कब्जा गर्नका लागि रुसीहरू लगातार अघि बढिरहेका छन् । त्यसमा कब्जा गर्न उनीहरू सफल भएमा लिसिचान्स्क तथा त्यस नजिकका अन्य क्षेत्रमा रहेका युक्रेनी सैनिकहरूले हातहतियार तथा खानपिनको सामग्री किएभबाट ल्याउन पाउने छैनन् । त्यस्तो अवस्थामा रुसी सेनासमक्ष आत्मसमर्पण गर्नुबाहेक उनीहरूसँग अर्को विकल्प रहने छैन । 

अहिले पनि चोरबाटो र कच्ची बाटो भएर लिसिचान्स्कमा सामग्रीहरू ल्याउन सकिने सैन्य विश्लेषकहरू बताउँछन् । तर लुगान्स्कभन्दा पश्चिममा रहेको पूरै क्षेत्रमा रुसले लगातार गोलीको वर्षा गरिरहेको छ । त्यसैले युक्रेनी सैनिकहरूको जत्थालाई सुरक्षित रूपमा लिसिचान्स्क पुग्न निकै गाह्रो छ । 

तैपनि युक्रेनले नयाँ सैन्य इकाइहरू लिसिचान्स्क पठाइरहेको छ । रुसीहरू त्यसबाट खुशी नै छन् किनकि उनीहरूको लक्ष्य युक्रेनको असैन्यीकरण हो । आफूले लडाइँ गरिरहेको ठाउँमा नै युक्रेनी सैनिकहरू मर्न आइपुग्दा रुसलाई आफ्नो लक्ष्य हासिल गर्न सहजता प्राप्त भएको छ । डोनबास गुमाएर पनि युक्रेनले युद्ध जारी राखेमा रुसले ओडेसा समेत हात पारेर युक्रेनलाई कमजोर भूपरिवेष्ठित राज्य बनाइदिनेछ ।

डोनबास क्षेत्रलाई युक्रेनी शासनबाट मुक्ति तथा युक्रेनको असैन्यीकरणको लक्ष्य रुसले हासिल गर्न लागेपछि पश्चिममा निराशाको बादल छाएको छ । युद्धपरस्त पश्चिमी सञ्चारमाध्यमहरू पनि अमेरिकी हतियार सहयोगका बावजूद युक्रेनले अब यो लडाइँ जित्न सक्दैन भन्न थालेका छन् । नेटोका महासचिव जेन्स स्टोल्टनबर्ग र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यो युद्ध लामो समसयसम्म जाने भने पनि पश्चिमी जनतामा युद्धप्रतिको उत्साह देखिन छोडेको छ । 

हुँदाहुँदा अमेरिकी गुप्तचर निकाय सीआईएका पूर्व कर्मचारी ग्राहम फुलरले समेत रुसको विजय अवश्यम्भावी रहेको स्वीकार गर्दै एक साताअघि आफ्नो वेबसाइटमा एउटा लेख लेखेका छन् । 

फुलरका अनुसार, अमेरिका र नेटोले मस्कोको विरोधका बावजूद जानीजानी रुसको सीमानजिक नेटो विस्तार गरेकाले युद्धको स्थिति आएको हो । युक्रेनले तटस्थ रहन मानेको भए युद्ध नै हुने थिएन । वाशिङटनले रुसको हार हुनैपर्छ भनी युद्धलाई भड्काउन खोज्नु भूल थियो । 

फुलर थप्छन्, वाशिङटनले जे भने पनि रुसले यो युद्ध जितिरहेको छ अनि युक्रेनले युद्ध हारिसकेको छ । यस युद्धका कारण रुसलाई पुगेको दीर्घकालीन क्षति बहसको विषय हो । 

अमेरिकाले रुसमाथि लगाएको प्रतिबन्धले रुसलाई भन्दा युरोपलाई बढी क्षति गरिरहेको छ । विश्व अर्थतन्त्र सुस्त बनेको छ र कैयौं विकासशील मुलुकहरूमा गम्भीर खाद्यान्न अभाव तथा भोकमरीको जोखिम बढेको छ ।

त्यस्तै स्वतन्त्र भूराजनीतिक तथा सैन्य विश्लेषक ड्रागो बोस्निकले रुसलाई धराशायी बनाउने पश्चिमको आत्मविश्वास चुरचुर भएको तर्क गरेका छन् । युक्रेनले लगातार हार बेहोरिरहेकाले मानिसहरू अब युक्रेन युद्धमा चासो देखाउन छोडेको उनी लेख्छन् । पश्चिमी प्रतिबन्धका कारण रुसलाई भन्दा पश्चिमलाई बढी नकारात्मक असर परेपछि मानिसहरूको उत्साह झन् मरेको हो । 

रुसलाई दण्डित गर्नुपर्छ भनी चर्को स्वर उराल्ने अमेरिकीहरू पनि अब आजित हुन थालेका छन् । गत अप्रिल महिनामा एसोसिएटेड प्रेसले गरेको सर्वेक्षणमा बहुमत अमेरिकी मतदाताले अमेरिकालाई आर्थिक पीडा पुग्ने भए पनि रुसविरुद्ध कठोर प्रतिबन्ध लगाउनुपर्ने मत राखेका थिए । 

रुसको विजयले अमेरिकाको एकध्रुवीय प्रभुत्वलाई विधिवत अन्त्येष्टि गरिदिएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गत साता यसको घोषणा नै गरिसकेका छन् । रुसलाई युद्धमा हराएर आफ्नो प्रभुत्वप्रति नतमस्तक बनाउने अमेरिकी सपना चकनाचुर भएको छ । 

तर मे महिनामा आइपुग्दा ५१ प्रतिशत अमेरिकीहरूले रुसलाई हराउनु भन्दा पनि अमेरिकी अर्थतन्त्रलाई जोगाउनु बाइडन प्रशासनको प्राथमिकता हुनुपर्ने बताए । तेलको मूल्य आकासिएर अत्त्याएपछि अमेरिकीहरूको जोश घट्न थालेको छ ।

रुसको विजयले अमेरिकाको एकध्रुवीय प्रभुत्वलाई विधिवत अन्त्येष्टि गरिदिएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गत साता यसको घोषणा नै गरिसकेका छन् । रुसलाई युद्धमा हराएर आफ्नो प्रभुत्वप्रति नतमस्तक बनाउने अमेरिकी सपना चकनाचुर भएको छ । 

यस घटनापछि रुसको भूराजनीतिक प्राथमकितामा युरेसिया क्षेत्र पर्ने सुनिश्चित रहेको फुलर लेख्छन् । हुन पनि युरोपप्रति रुसको केही मायाममता थियो भने त्यो पनि युक्रेन युद्धले ध्वस्त पारेको छ । 

अब आफ्नो आर्थिक भविष्य आन्ध्र नभई प्रशान्त महासागरमा नै भएको रुसी अभिजातहरूले बुझिसकेका छन् । उनीहरूले चीनसँगको सम्बन्ध थप मजबूत बनाएर अमेरिकालाई संसारभरि एकपक्षीय सैन्य तथा आर्थिक हस्तक्षेप गर्नबाट रोक्नेछन् । 

अमेरिकी प्रभुत्वको दह्रो स्रोतका रूपमा रहेको डलरको दबदबालाई परास्त गर्न उनीहरूको साझेदारी कायम रहनेछ । अमेरिकालाई युरेसिया क्षेत्रमा लडाइँ गर्न अमेरिका र चीनले मिलेर रोकेछन् भने अमेरिकी प्रभुत्वको अर्को स्रोत हतियार व्यापारलाई पनि धक्का लाग्नेछ । 

एघार दिनअघि सिरिया र इराकको सीमामा रहेको अल–तन्फ शहरमा अमेरिकी अड्डामा बसेका आतंकवादी समूहहरूका विरुद्ध रुसका लडाकू विमानले गरेको कारवाहीबाट वाशिङटनलाई मस्कोले दह्रो सन्देश दिएको हुन सक्छ ।

त्यसैले सेभेरोडोनेत्स्क शहरमा रुसी नियन्त्रण र सम्पूर्ण डोनेत्स्क क्षेत्रमा हुन लागेको युक्रेनको लज्जास्पद पराजयले विश्व व्यवस्था परिवर्तनको झलक दिएको भन्न सकिन्छ । युक्रेनमार्फत रुससँग छद्मयुद्ध गरेको अमेरिकालाई यो हार पचाउन निकै गाह्रो पर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्