
मुस्तफा रुही सिरिनको लेखन र सेरप डेलिओर्मानको चित्रांकनमा रहेको पुस्तक 'रमाइलो सपना' प्रकाशित भएको छ ।
सिरिन टर्कीस लेखक तथा पत्रकार हुन् । उनको दुई चित्रकथा नेपाली भाषामा प्रकाशन गरिएको छ ।
चित्रकार डेलिओर्मान लोकप्रिय चित्रकार हुन् । उनको चित्र थुप्रै चित्रपुस्तकहरुमा चित्राकंन गरिएको छ ।
चित्रकथा रमाइलो सपना टर्कीको ‘नर पब्लिसिङ’ प्रकाशन गृहबाट प्रकाशित पुस्तक हो । उक्त प्रकाशन गृहले १६ वर्षदेखि निरन्तर पुस्तक प्रकाशन गर्दै आइरहेको छ।
चित्रकथा रमाइलो सपना एउटा मुडुले केटोको कथा हो जो जुक्ति निकाल्न र बठ्याइँ गर्न एकदमै सिपालु हुन्छ । एकदिन ऊ गुलेली लिएर शिकार खेल्न जान्छ र ४० वटा चराहरू मारेर घर फर्किरहेको हुन्छ । फर्किने क्रममा उसलाई लुटेराहरूको पहरेदारले समात्छ र उसको चराहरू खोसेर लान्छ ।
आफूले शिकार गरेको चरा लगेको भन्दै केटो अनेकौँ उपाय अपनाएर चराहरू फिर्ता ल्याउन सफल हुन्छ ।
चरा फिर्ता लगेपछि लुटेराहरू केटोलाई खोज्न शुरू गर्छन् तर ऊ फेरि ती लुटेराहरूलाई आफ्नो जुक्ति र बठ्याइँमार्फत अस्पतालै भर्ना हुने अवस्थामा पुर्याउँछ । मुद्दा राजा समक्ष पुग्छ र राजाले ती लुटेराहरूलाई दरबारमा उपस्थित हुन आदेश दिन्छन् र केटोको खोजी शुरू हुन्छ ।
भेट्नेबित्तिकै राजाले उसलाई जेल हाल्न लगाउँछन् । अब केटोले जेलबाट निस्किन कुनै उपाय लगाउला ?
बालबालिका लागि यो चित्रकथा एकदमै रोचक र ज्ञानमूलक हुने प्रकाशन गृहले जनाएको छ । यो पुस्तकले बालबालिकामा पढ्ने बानीको विकास गर्नुको साथै अरू पुस्तक पढ्न उत्प्रेरित गर्ने विश्वास लिइएको छ ।