२९ असार २०८३, सोमबार

गीति संग्रह ‘तृष्णा’ लोकार्पण

गीति संग्रह ‘तृष्णा’ लोकार्पण

पूर्व प्रशासक एवं गीतकार बुद्धिसागर लामिछाने ‘सागर बाबु’को गीति संग्रह ‘तृष्णा’को लोकार्पण भएको छ ।

बिहीवार राष्ट्रिय नाचघर जमलमा एक कार्यक्रमको आयोजना गरी गीति संग्रहको लोकार्पण गरिएको हो । 

गीति संग्रहमा संगीतकार विपिन घिमिरेले संगीत दिएका छन् । कार्यक्रममा गायक स्वरुपराज अधिकारीले गीत निकै सुन्दर बनेको उल्लेख गरे ।

वरिष्ठ संगीतकार सुरेश आचार्यले आफूले जानकार वा संगीतकार नभई श्रोताको रूपमा टिप्पणी गरेको जनाए । सच्चा राष्ट्र सेवकको अनुभव गीतमा समेटिएको उनले बताए । 

संगीतमा पनि राम्रो मेहनत देखिएको अधिकारीको भनाइ छ । उनले भने, ‘कुनै पनि गायकले चिटिङ गर्न नपाउने गरी उहाँको गायकी प्रस्तुत गरिएको छ । ८४ व्यञ्जनपछि पनि श्रोताले ८५ व्यञ्जनको चटनी खान पाउनेछन् ।’ 

गीति संग्रहमा शिक्षित बेरोजगारको समेत व्यथा उतारिएको छ । उनले गीत कर्णप्रिय मात्र नभई मर्मस्पर्शी पनि रहेको बताए ।

कार्यक्रममा वरिष्ठ गीतकार दिनेश अधिकारीले गीतले आफैं भाग्य लिएर आएको हुने भन्दै गीतको सफलताको शुभकामना व्यक्त गरेका छन् ।

‘देश त यहाँ छँदैछ, परिवेश पनि छ,’ उनले भने, ‘तटस्थ भावमा देशको बारेमा चिन्ता गरिएको छ, जुन निकै राम्रो छ ।’

‘एल्बममा बालापन, वैंशको चहकमहक छ, क्रमशः उमेर बढ्दै गएको र पछि पिरतीमा धोका खाने उमेर पनि रहेको छ,’ उनले थपे, ‘अन्तिममा जीवनसँग सन्तुष्ट भइँदैन तर भाग्न पनि सकिँदैन भन्ने जीवनको यथार्थतालाई गीतमा समावेश गरिएको छ ।’ उनले एल्बमले सबै उमेर समूहलाई समेटेको बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले गीति क्षेत्रमा सागर बाबुको प्रवेश सुखद देखिएको बताए । उनले लहडैलहडमा गीत नल्याएर परिपक्व ढंगले गीत ल्याइरहन सक्नु राम्रो भएको बताए ।

सागर बाबु परिपक्व भएकाले लहडको शिकार नहुन उनले सुझाए । गीति संग्रहमा बाल गीत समेत समावेश गरिएको छ । 

गीतकार सागरबाबुको यो पहिलो गीति संग्रह हो । गीतमा सत्यराज आचार्य, स्वरुपराज आचार्य लगायतले स्वर दिएका छन् ।

कार्यक्रम सञ्चालन प्रभाकरदेव शर्माले गरेका थिए भने सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले समापन गरेका थिए । 

कमेन्ट गर्नुहोस्