मंसिर १९, २०८०
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
असार १७, २०७९
युक्रेनको डोनबास क्षेत्रमा लगातार विजय प्राप्त गरिरहेको रुसले कृष्ण सागरमा रहेको सर्प टापु (स्नेक आइल्यान्ड) बाट चाहिँ पछि हट्नुपरेको छ ।
युक्रेनीहरूले जिमिनी टापु भन्ने गरेको त्यस क्षेत्रबाट रुसीहरूलाई हटाउनका लागि लामो समयदेखि प्रयास गर्दै आएका थिए । अन्ततोगत्वा बुधवार (२९ जुनमा) उनीहरू सफल भएका छन् ।
भूउपग्रहीय तस्वीर हेर्दा उक्त टापुमा रहेका रुसी सैन्य उपकरणहरू ध्वस्त भएको देखिन्छ । सोमवार नै त्यहाँ रहेको रुसको पंतसिर–एस१ हवाई प्रतिरक्षा प्रणाली ध्वस्त भएको थियो ।
रुसी सञ्चारमाध्यमहरूमा आएका रिपोर्टअनुसार, कम्तीमा एउटा पंतसिर प्रणाली पूरै क्षतविक्षत भएको छ भने अन्य हतियारहरू ध्वस्त नभए पनि तिनलाई त्यहाँबाट हटाउन रुसीहरू बाध्य भएका छन् ।
युक्रेनी सञ्चारमाध्यमहरूले उक्त टापुमा रहेका रुसी सुरक्षाफौजहरू आफ्नो पोजिसन छोडेर भागेको र टापुमा रहेका आफ्ना सैन्य सामग्रीहरू पनि जलाएको खबर दिएका छन् । भूउपग्रहीय तस्वीर हेर्दा उक्त टापुका विभिन्न क्षेत्रमा आगो लागेको पुष्टि हुन्छ । युक्रेनी क्षेप्यास्त्र आक्रमणका कारण आगो लागेको हो कि रुसीहरू आफैंले आगो लगाएका हुन् भन्ने स्पष्ट छैन ।
टापुमा द्रुत गतिमा चल्ने पाँचवटा डुंगाहरू पनि देखिएको युक्रेनी सञ्चारमाध्यमहरू लेख्छन् । ती डुंगामा बसेर रुसी सैनिकहरू भागेको उनीहरूको दाबी छ । रुसले त्यसलाई पुष्टि गर्दै उक्त टापुमा रहेको आफ्नो सैन्य तैनाथी फिर्ता लिइएको जनाएको छ ।
रुसको रक्षा मन्त्रालयले यस घटनालाई आफूअनुकूल प्रस्तुत गर्ने जमर्को गरेको छ । बिहीवार मन्त्रालयले स्नेक आइल्यान्डबाट आफूहरू पछि हटेर सद्भाव देखाएको बतायो । आफूहरूको मिसन पूरा भएको जनाउँदै रुसले युक्रेनी भूमिबाट अन्नबालीको निर्यातका लागि संयुक्त राष्ट्रसंघको प्रयासमा बाधा नपुर्याउने उद्देश्यका साथ टापुबाट हटेको बताएको छ ।
युक्रेनले रुसको उक्त दाबीलाई खारेज गर्दै युक्रेनी अन्नभण्डारमा लगातार आक्रमण गरिरहेको रुसले युक्रेनी निर्यातलाई सहज बनाउने उद्देश्य नै नराखेको जनाएको छ । आफूहरूले गरेको भीषण आक्रमणको सामना गर्न नसकी रुसीहरू स्नेक आइल्यान्डबाट भागेको युक्रेनको दाबी छ ।
सैन्य विश्लेषकहरूका अनुसार, युक्रेनले अमेरिकी सेनाको गुप्तचर इकाइसँगको निकट सहकार्यमा रही स्नेक आइल्यान्डमा सफल कारवाही चलाउन सकेको हो । युक्रेनले उक्त टापुमा रहेका रुसी सेना तथा सैन्य सामग्रीमाथि लगातार गोलीको वर्षा गर्नुअघि कृष्ण सागरमा अमेरिकाका खोजी विमानहरू उडेका थिए ।
बिहीवार मात्र पनि अमेरिकाको आरक्यू–४ ग्लोबल हक खोजी ड्रोन इटलीको सिग्नोनेला एयरबेसबाट उडेर कृष्ण सागरमा खोजी मिसन चलाएको एयरफोर्स म्यागजिनले खबर दिएको छ ।
उक्त टापुको रणनीतिक महत्त्वलाई पुष्टि गर्ने गरी रुसले युक्रेनविरुद्ध सैन्य कारवाही चलाएको पहिलो दिन अर्थात् फेब्रुअरी २४ मा नै स्नेक आइल्यान्ड कब्जामा लिएको थियो । त्यहाँ रहेका युक्रेनी सैनिकहरूले रुसीहरूलाई अश्लील गाली गरेको भिडियो त्यतिखेर भाइरल बनेको थियो । त्यसबेलामा युक्रेनी सैनिकहरू मारिएको खबर आए पनि पछि उनीहरू रुसको कब्जामा जिउँदै रहेको पाइएको थियो ।
युक्रेनले स्नेक आइल्यान्ड रुसको हातबाट खोसेको भए पनि यो उसका लागि रणनीतिक विजय चाहिँ हैन । तर यसको राजनीतिक सन्देश भने गहिरो छ ।
युक्रेनी प्रत्याक्रमण पनि सफल हुँदैछ भन्ने सन्देश दिन यो घटना महत्त्वपूर्ण छ । रुसलाई युक्रेनी भूमिबाट लखेट्न नसकिने भनी अमेरिकी अधिकारीहरूले समेत निराशाजनक कुरा गरिरहेको बेलामा स्नेक आइल्यान्डको घटनाले युक्रेन निम्छरो नबनिसकेको पुष्टि गरेको छ ।
रणनीतिक विजय यो किन हैन भने अहिले खाली रहेको उक्त टापुमा युक्रेनी सेना आफैं आएर बस्न सक्ने वा सैन्य उपकरण तैनाथ गर्ने सम्भावना छैन । रुसको कृष्ण सागर जहाजी बेडा (फ्लीट) ले अझै पनि सागरको गश्ती गरिरहेको अवस्थामा स्नेक आइल्यान्ड पुगेर युक्रेनीहरूले रुसी जलसेनालाई अप्ठ्यारोमा पार्ने कुनै सम्भावना देखिँदैन ।
उसै पनि कृष्ण सागरमा युक्रेनी तटबाट ३५ किलोमिटर टाढा रहेको स्नेक आइल्यान्ड कुनै पनि पक्षले प्रतिरक्षा गर्न नसकिने भूमि भएको बीबीसीमा यारोस्लाभ लुकोभ र पल कर्बी लेख्छन् । त्यहाँ आकाश र समुद्र दुवै क्षेत्रबाट चारैतिर आक्रमण गर्न सकिने भएकाले युक्रेनी र रुसी फौज त्यहाँ लामो समय टिकेर बस्न सक्दैनन् ।
कृष्ण सागरमा रहेका रुसका प्रमुख जलसैन्य अड्डाहरूबाट टाढा रहेकाले स्नेक आइल्यान्डको प्रतिरक्षा गर्न रुसलाई हम्मेहम्मे परेको हो । त्यहाँ उसले विमानरोधी प्रणाली ल्याएर राखेपछि केही समयका लागि युक्रेनी विमानहरूले आक्रमण गर्न सकेनन् ।
रुसले युक्रेनका कैयौं बेराक्तार टीबी२ ड्रोनहरू खसाइदिएको थियो । आफ्ना ड्रोनहरू नष्ट भएर रुसलाई अत्त्याउन नसकेपछि युक्रेनले कृष्ण सागरमा रहेका रुसी जहाजमाथि एन्टी–शिप क्षेप्यास्त्रहरू प्रहार गर्न थालेको अलजजीरामा एलेक्स गाटोपुुलुस लेख्छन् । त्यसैक्रममा युक्रेनी क्रुज क्षेप्यास्त्रहरूले रुसको कृष्ण सागर बेडाको शानका रूपमा रहेको मोस्क्वा जहाजलाई अप्रिल १४ मा डुबाइदिएका थिए ।
उक्त घटनापछि रुसले आफ्ना अधिकांश जहाज युक्रेनी हतियारको दायराबाट पछि हटाएको थियो । फलस्वरूप, रुसको नियन्त्रणमा रहेको स्नेक आइल्यान्ड जोखिममा परेको थियो किनकि त्यहाँ तैनाथ सैनिकहरूलाई चाहिने हातहतियार र अन्नपानी समुद्रको बाटो भएर नै लग्नुपर्ने बाध्यता छ ।
अझ, जुन महिनाको आरम्भतिर युक्रेनले रुसको गोलीगट्ठा, हतियार प्रणाली र कर्मचारी समेत रहेको जहाजमा आक्रमण गरेपछि रुसले स्नेक आइल्यान्डमा बसिरहनुको रणनीतिक बेफाइदाका विषयमा आकलन गर्न थालिसकेको गाटोपुलुस लेख्छन् ।
त्यसो त अमेरिकी सहयोगमा युक्रेनले रुसलाई स्नेक आइल्यान्डबाट भगाएको भए पनि आफू त्यहाँ बस्नका लागि उससँग पर्याप्त जलसैन्य क्षमता छैन । त्यही कारणले गर्दा उसले अहिलेसम्म त्यहाँ आफ्ना सैनिक पनि लैजान सकेको छैन ।
स्नेक आइल्यान्डबाट रुसलाई हटाएर युक्रेनले ओडेसा शहरमाथि रुसले तेर्स्याएको जोखिमलाई भने केही हदसम्म न्यूनीकरण गरेको विश्लेषकहरू बताउँछन् ।
त्यसो त रुसले अझै पनि कृष्ण सागरमा रहेको युक्रेनी तटवर्ती क्षेत्रका अधिकांश भाग, क्राइमिया प्रायद्वीप र सम्पूर्ण आजोभ सागर नियन्त्रणमा राखेको छ । तर ओडेसाको बाटो भएर युक्रेनी अन्नबालीहरूको निर्यात हुने गरेकोमा रुसले त्यसलाई रोकिराखेको स्थिति थियो भने स्नेक आइल्यान्डबाट रुस हटेपछि त्यो अवरोध खुलेको छ ।
तथापि युक्रेनी जलसेना प्रभावकारी नभएकाले अन्नबाली निर्यातको सुरक्षा उसले दिन सक्ने स्थिति छैन । रुसी जलसेनाले प्रस्ताव गरेको निर्यात सुरक्षालाई पनि युक्रेनले अस्वीकार गरेको छ ।
लुकोभ र कर्बीका अनुसार, स्नेक आइल्यान्डमा रुसको नियन्त्रणले पश्चिमी सैन्य संगठन नेटोको सदस्य मुलुक रोमानियालाई पनि जोखिममा पारेको थियो । रोमानियाको महत्त्वपूर्ण बन्दरगाह कन्सटान्टा तथा युरोपका विभिन्न देश भएर बग्ने डानुबे नदी कृष्ण सागरमा आएर मिसिने ठाउँको जल यातायातलाई पनि रुसले जोखिममा पारेको थियो ।
त्यसो त स्नेक आइल्यान्डमाथिको स्वामित्वका विषयमा रोमानिया र युक्रेनबीच विगतमा विवाद चलेको थियो । त्यस वरपरको क्षेत्रमा हाइड्रोकार्बन पनि रहेको हुन सक्ने भएकाले दुवैले त्यसका लागि स्वामित्व दाबी गरेका थिए । तर सन् २००९ मा अन्तर्राष्ट्रिय न्याय अदालतले उक्त टापु युक्रेनकै भएको फैसला गरेको थियो अनि युक्रेन र रोमानियाका विशिष्ट आर्थिक क्षेत्र पनि छुट्ट्याइदिएको थियो ।
अमेरिकाले हिजो सम्पन्न नेटो शिखर सम्मेलनमा आफ्ना पाँच हजार सैनिक रोमानियामा तैनाथ गर्ने घोषणा गरेकै समयमा स्नेक आइल्यान्डबाट रुसीहरू पछि हट्नु नेटोको रणनीतिक सफलता हो । यससँगै रुसलाई कृष्ण सागरमा पूर्ण प्रभुत्व जमाउन नदिई आफ्नो उपस्थितिको सम्भावना जीवित राख्ने नेटोको चाहना पनि साकार भएको छ ।
डोनबास क्षेत्रमा हारिरहेको बेलामा स्नेक आइल्यान्डबाट रुसलाई पछि हटाउन सक्नु युक्रेनका लागि विशाल सफलता नै मान्नुपर्छ । उसले यस सफलताको रणनीतिक लाभ लिन गाह्रै देखिएतापनि उसका लागि यसको ठूलो प्रतीकात्मक मूल्य छ ।
अमेरिकी सहयोगमा युक्रेनले स्नेक आइल्यान्डमा पुनः सैनिक तथा हातहतियार तैनाथ गर्न सकेछ भने चाहिँ दक्षिणी युक्रेनको जमीन र आकाशमा युक्रेनको प्रभुत्व पुनः कायम हुन सक्ने सैन्य विश्लेषकहरू बताउँछन् । त्यस्तो अवस्थामा युक्रेन खेर्सन फिर्ता लिन पनि समर्थ हुनेछ । तर त्यसको सम्भावना अत्यन्तै क्षीण छ ।
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...