
युक्रेनको डोनबास क्षेत्रमा लगातार विजय प्राप्त गरिरहेको रुसले कृष्ण सागरमा रहेको सर्प टापु (स्नेक आइल्यान्ड) बाट चाहिँ पछि हट्नुपरेको छ ।
युक्रेनीहरूले जिमिनी टापु भन्ने गरेको त्यस क्षेत्रबाट रुसीहरूलाई हटाउनका लागि लामो समयदेखि प्रयास गर्दै आएका थिए । अन्ततोगत्वा बुधवार (२९ जुनमा) उनीहरू सफल भएका छन् ।
भूउपग्रहीय तस्वीर हेर्दा उक्त टापुमा रहेका रुसी सैन्य उपकरणहरू ध्वस्त भएको देखिन्छ । सोमवार नै त्यहाँ रहेको रुसको पंतसिर–एस१ हवाई प्रतिरक्षा प्रणाली ध्वस्त भएको थियो ।
रुसी सञ्चारमाध्यमहरूमा आएका रिपोर्टअनुसार, कम्तीमा एउटा पंतसिर प्रणाली पूरै क्षतविक्षत भएको छ भने अन्य हतियारहरू ध्वस्त नभए पनि तिनलाई त्यहाँबाट हटाउन रुसीहरू बाध्य भएका छन् ।
युक्रेनी सञ्चारमाध्यमहरूले उक्त टापुमा रहेका रुसी सुरक्षाफौजहरू आफ्नो पोजिसन छोडेर भागेको र टापुमा रहेका आफ्ना सैन्य सामग्रीहरू पनि जलाएको खबर दिएका छन् । भूउपग्रहीय तस्वीर हेर्दा उक्त टापुका विभिन्न क्षेत्रमा आगो लागेको पुष्टि हुन्छ । युक्रेनी क्षेप्यास्त्र आक्रमणका कारण आगो लागेको हो कि रुसीहरू आफैंले आगो लगाएका हुन् भन्ने स्पष्ट छैन ।
टापुमा द्रुत गतिमा चल्ने पाँचवटा डुंगाहरू पनि देखिएको युक्रेनी सञ्चारमाध्यमहरू लेख्छन् । ती डुंगामा बसेर रुसी सैनिकहरू भागेको उनीहरूको दाबी छ । रुसले त्यसलाई पुष्टि गर्दै उक्त टापुमा रहेको आफ्नो सैन्य तैनाथी फिर्ता लिइएको जनाएको छ ।
रुसको रक्षा मन्त्रालयले यस घटनालाई आफूअनुकूल प्रस्तुत गर्ने जमर्को गरेको छ । बिहीवार मन्त्रालयले स्नेक आइल्यान्डबाट आफूहरू पछि हटेर सद्भाव देखाएको बतायो । आफूहरूको मिसन पूरा भएको जनाउँदै रुसले युक्रेनी भूमिबाट अन्नबालीको निर्यातका लागि संयुक्त राष्ट्रसंघको प्रयासमा बाधा नपुर्याउने उद्देश्यका साथ टापुबाट हटेको बताएको छ ।
युक्रेनले रुसको उक्त दाबीलाई खारेज गर्दै युक्रेनी अन्नभण्डारमा लगातार आक्रमण गरिरहेको रुसले युक्रेनी निर्यातलाई सहज बनाउने उद्देश्य नै नराखेको जनाएको छ । आफूहरूले गरेको भीषण आक्रमणको सामना गर्न नसकी रुसीहरू स्नेक आइल्यान्डबाट भागेको युक्रेनको दाबी छ ।
सैन्य विश्लेषकहरूका अनुसार, युक्रेनले अमेरिकी सेनाको गुप्तचर इकाइसँगको निकट सहकार्यमा रही स्नेक आइल्यान्डमा सफल कारवाही चलाउन सकेको हो । युक्रेनले उक्त टापुमा रहेका रुसी सेना तथा सैन्य सामग्रीमाथि लगातार गोलीको वर्षा गर्नुअघि कृष्ण सागरमा अमेरिकाका खोजी विमानहरू उडेका थिए ।
बिहीवार मात्र पनि अमेरिकाको आरक्यू–४ ग्लोबल हक खोजी ड्रोन इटलीको सिग्नोनेला एयरबेसबाट उडेर कृष्ण सागरमा खोजी मिसन चलाएको एयरफोर्स म्यागजिनले खबर दिएको छ ।
उक्त टापुको रणनीतिक महत्त्वलाई पुष्टि गर्ने गरी रुसले युक्रेनविरुद्ध सैन्य कारवाही चलाएको पहिलो दिन अर्थात् फेब्रुअरी २४ मा नै स्नेक आइल्यान्ड कब्जामा लिएको थियो । त्यहाँ रहेका युक्रेनी सैनिकहरूले रुसीहरूलाई अश्लील गाली गरेको भिडियो त्यतिखेर भाइरल बनेको थियो । त्यसबेलामा युक्रेनी सैनिकहरू मारिएको खबर आए पनि पछि उनीहरू रुसको कब्जामा जिउँदै रहेको पाइएको थियो ।
युक्रेनले स्नेक आइल्यान्ड रुसको हातबाट खोसेको भए पनि यो उसका लागि रणनीतिक विजय चाहिँ हैन । तर यसको राजनीतिक सन्देश भने गहिरो छ ।
युक्रेनी प्रत्याक्रमण पनि सफल हुँदैछ भन्ने सन्देश दिन यो घटना महत्त्वपूर्ण छ । रुसलाई युक्रेनी भूमिबाट लखेट्न नसकिने भनी अमेरिकी अधिकारीहरूले समेत निराशाजनक कुरा गरिरहेको बेलामा स्नेक आइल्यान्डको घटनाले युक्रेन निम्छरो नबनिसकेको पुष्टि गरेको छ ।
रणनीतिक विजय यो किन हैन भने अहिले खाली रहेको उक्त टापुमा युक्रेनी सेना आफैं आएर बस्न सक्ने वा सैन्य उपकरण तैनाथ गर्ने सम्भावना छैन । रुसको कृष्ण सागर जहाजी बेडा (फ्लीट) ले अझै पनि सागरको गश्ती गरिरहेको अवस्थामा स्नेक आइल्यान्ड पुगेर युक्रेनीहरूले रुसी जलसेनालाई अप्ठ्यारोमा पार्ने कुनै सम्भावना देखिँदैन ।
उसै पनि कृष्ण सागरमा युक्रेनी तटबाट ३५ किलोमिटर टाढा रहेको स्नेक आइल्यान्ड कुनै पनि पक्षले प्रतिरक्षा गर्न नसकिने भूमि भएको बीबीसीमा यारोस्लाभ लुकोभ र पल कर्बी लेख्छन् । त्यहाँ आकाश र समुद्र दुवै क्षेत्रबाट चारैतिर आक्रमण गर्न सकिने भएकाले युक्रेनी र रुसी फौज त्यहाँ लामो समय टिकेर बस्न सक्दैनन् ।
कृष्ण सागरमा रहेका रुसका प्रमुख जलसैन्य अड्डाहरूबाट टाढा रहेकाले स्नेक आइल्यान्डको प्रतिरक्षा गर्न रुसलाई हम्मेहम्मे परेको हो । त्यहाँ उसले विमानरोधी प्रणाली ल्याएर राखेपछि केही समयका लागि युक्रेनी विमानहरूले आक्रमण गर्न सकेनन् ।
रुसले युक्रेनका कैयौं बेराक्तार टीबी२ ड्रोनहरू खसाइदिएको थियो । आफ्ना ड्रोनहरू नष्ट भएर रुसलाई अत्त्याउन नसकेपछि युक्रेनले कृष्ण सागरमा रहेका रुसी जहाजमाथि एन्टी–शिप क्षेप्यास्त्रहरू प्रहार गर्न थालेको अलजजीरामा एलेक्स गाटोपुुलुस लेख्छन् । त्यसैक्रममा युक्रेनी क्रुज क्षेप्यास्त्रहरूले रुसको कृष्ण सागर बेडाको शानका रूपमा रहेको मोस्क्वा जहाजलाई अप्रिल १४ मा डुबाइदिएका थिए ।
उक्त घटनापछि रुसले आफ्ना अधिकांश जहाज युक्रेनी हतियारको दायराबाट पछि हटाएको थियो । फलस्वरूप, रुसको नियन्त्रणमा रहेको स्नेक आइल्यान्ड जोखिममा परेको थियो किनकि त्यहाँ तैनाथ सैनिकहरूलाई चाहिने हातहतियार र अन्नपानी समुद्रको बाटो भएर नै लग्नुपर्ने बाध्यता छ ।
अझ, जुन महिनाको आरम्भतिर युक्रेनले रुसको गोलीगट्ठा, हतियार प्रणाली र कर्मचारी समेत रहेको जहाजमा आक्रमण गरेपछि रुसले स्नेक आइल्यान्डमा बसिरहनुको रणनीतिक बेफाइदाका विषयमा आकलन गर्न थालिसकेको गाटोपुलुस लेख्छन् ।
त्यसो त अमेरिकी सहयोगमा युक्रेनले रुसलाई स्नेक आइल्यान्डबाट भगाएको भए पनि आफू त्यहाँ बस्नका लागि उससँग पर्याप्त जलसैन्य क्षमता छैन । त्यही कारणले गर्दा उसले अहिलेसम्म त्यहाँ आफ्ना सैनिक पनि लैजान सकेको छैन ।
स्नेक आइल्यान्डबाट रुसलाई हटाएर युक्रेनले ओडेसा शहरमाथि रुसले तेर्स्याएको जोखिमलाई भने केही हदसम्म न्यूनीकरण गरेको विश्लेषकहरू बताउँछन् ।
त्यसो त रुसले अझै पनि कृष्ण सागरमा रहेको युक्रेनी तटवर्ती क्षेत्रका अधिकांश भाग, क्राइमिया प्रायद्वीप र सम्पूर्ण आजोभ सागर नियन्त्रणमा राखेको छ । तर ओडेसाको बाटो भएर युक्रेनी अन्नबालीहरूको निर्यात हुने गरेकोमा रुसले त्यसलाई रोकिराखेको स्थिति थियो भने स्नेक आइल्यान्डबाट रुस हटेपछि त्यो अवरोध खुलेको छ ।
तथापि युक्रेनी जलसेना प्रभावकारी नभएकाले अन्नबाली निर्यातको सुरक्षा उसले दिन सक्ने स्थिति छैन । रुसी जलसेनाले प्रस्ताव गरेको निर्यात सुरक्षालाई पनि युक्रेनले अस्वीकार गरेको छ ।
लुकोभ र कर्बीका अनुसार, स्नेक आइल्यान्डमा रुसको नियन्त्रणले पश्चिमी सैन्य संगठन नेटोको सदस्य मुलुक रोमानियालाई पनि जोखिममा पारेको थियो । रोमानियाको महत्त्वपूर्ण बन्दरगाह कन्सटान्टा तथा युरोपका विभिन्न देश भएर बग्ने डानुबे नदी कृष्ण सागरमा आएर मिसिने ठाउँको जल यातायातलाई पनि रुसले जोखिममा पारेको थियो ।
त्यसो त स्नेक आइल्यान्डमाथिको स्वामित्वका विषयमा रोमानिया र युक्रेनबीच विगतमा विवाद चलेको थियो । त्यस वरपरको क्षेत्रमा हाइड्रोकार्बन पनि रहेको हुन सक्ने भएकाले दुवैले त्यसका लागि स्वामित्व दाबी गरेका थिए । तर सन् २००९ मा अन्तर्राष्ट्रिय न्याय अदालतले उक्त टापु युक्रेनकै भएको फैसला गरेको थियो अनि युक्रेन र रोमानियाका विशिष्ट आर्थिक क्षेत्र पनि छुट्ट्याइदिएको थियो ।
अमेरिकाले हिजो सम्पन्न नेटो शिखर सम्मेलनमा आफ्ना पाँच हजार सैनिक रोमानियामा तैनाथ गर्ने घोषणा गरेकै समयमा स्नेक आइल्यान्डबाट रुसीहरू पछि हट्नु नेटोको रणनीतिक सफलता हो । यससँगै रुसलाई कृष्ण सागरमा पूर्ण प्रभुत्व जमाउन नदिई आफ्नो उपस्थितिको सम्भावना जीवित राख्ने नेटोको चाहना पनि साकार भएको छ ।
डोनबास क्षेत्रमा हारिरहेको बेलामा स्नेक आइल्यान्डबाट रुसलाई पछि हटाउन सक्नु युक्रेनका लागि विशाल सफलता नै मान्नुपर्छ । उसले यस सफलताको रणनीतिक लाभ लिन गाह्रै देखिएतापनि उसका लागि यसको ठूलो प्रतीकात्मक मूल्य छ ।
अमेरिकी सहयोगमा युक्रेनले स्नेक आइल्यान्डमा पुनः सैनिक तथा हातहतियार तैनाथ गर्न सकेछ भने चाहिँ दक्षिणी युक्रेनको जमीन र आकाशमा युक्रेनको प्रभुत्व पुनः कायम हुन सक्ने सैन्य विश्लेषकहरू बताउँछन् । त्यस्तो अवस्थामा युक्रेन खेर्सन फिर्ता लिन पनि समर्थ हुनेछ । तर त्यसको सम्भावना अत्यन्तै क्षीण छ ।