नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूले त्रिभुवन विश्वविद्यालय परिसरमा आमरण अनसन शुरू गरेका छन् । विश्वविद्यालयमा देखिएको विकृतिको अन्त्य हुनुपर्ने माग गर्दै अध्यक्ष सुदेश पराजुलीसहितका नेताहरूले मंगलवारदेखि आमरण अनसन शुरू गरेका हुन् ।
आमरण अनसनअघि विद्यार्थी नेताहरू त्रिविका उपकूलपतिसमक्ष माग पत्र प्रस्तुत गरेका थिए ।
मागपत्रमा एमफिल र पिएचडीलाई नियमित बनाउनुपर्ने, उक्त विषयको अध्ययन शुल्क घटाउनुपर्ने, स्ववियु निर्वाचन यथाशक्य घोषणा गर्नुपर्ने, सेमेष्टर प्रणालीलाई व्यवस्थित बनाउनुपर्ने माग गरिएको छ । त्यस्तै, विभिन्न विषयको परीक्षामा असम्बन्धित प्रश्नपत्र आएको र त्रिवि सेवा आयोगको परीक्षामा नतिजा शून्य आउनुको कारण छानबिन गर्नुपर्ने, त्रिविअन्तर्गतका सबै शिक्षालाई समान बनाउनुपर्ने, परीक्षा प्रणालीमा सुधार गर्दै उक्त प्रणालीलाई छिटो, छरितो र विश्वसनीय बनाउनुपर्ने अखिलको माग छ ।
अखिलले त्रिविमा हुने विभिन्न नियुक्तिमा हुने राजनीतिक भागबण्डाको अन्त्य हुनुपर्ने, त्रिविको सम्पूर्ण चल अचल सम्पत्ति र त्यसको स्रोत सार्वजनिक गर्नुपर्ने, त्रिविको सम्पत्तिमा भएको भनिएको हिनामिनाको छानबिन हुनुपर्ने, नेपाल क्याम्पसबाहेक अन्यमा पनि कानुन विषयको पठनपाठन गराइनुपर्ने माग गरेको छ ।