
स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकार सक्षम रहेको दाबी गरेका छन् । पछिल्लो समय कोरोना संक्रमण बढिरहे पनि यसले महामारीको रूप नलिने उनको दाबी छ ।
चिकित्सा शास्त्र अध्ययन संस्थानले आइतवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री खापुङले कोभिडविरुद्धको खोप लगाउन छुटेकाहरूलाई नजिकको स्वास्थ्य संस्थामा गई लगाउन आग्रह गरे । उनले कोभिड महामारीको दरमा पछिल्लो समय केही वृद्धि भएकाले स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण पालना गर्न सबैलाई आह्वान गरे ।
‘सरकारले घोषणा गरेको स्वास्थ्य मापदण्ड अपनाउनका लागि हार्दिक आह्वान गर्न चाहन्छु,’ उनले भने, ‘अहिलेसम्म ११ हजार, ९५२ जना नेपालीहरूको कोरानाको कारण मृत्यवरण गर्नु परेको छ । तर, आगामी दिनमा कोरोना वृद्धि भए पनि हामी नियन्त्रण गर्न सफल हुनेछौँ ।’
कोरोना संक्रमणका कारण एक जनाको पनि ज्यान नजाओस् भन्ने कुरामा सरकार सजग रहेको मन्त्री खापुङको भनाइ छ । ‘विश्वव्यापी रूपमा फैलिएको यो रोगविरुद्धको खोप कार्यक्रममा पनि नेपालले सफलता प्राप्त गरेको छ,’ उनले भने, ‘कहीँकतै दूरदराजमा खोप लगाउन कोही छुट्नु भएको छ भने नजिकको स्वास्थ्य चौकीमा गएर लगाउनुहोस् ।’