
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम तीव्ररुपमा भइरहेको जानकारी दिए । उनले नतिजामा प्राविधिकरूपमा कुनै समस्या नआओस् भनेर विद्यार्थीको विवरणहरू रुजु गर्ने कार्यलाई कडाइका साथ निगरानी गरिरहेको बताए ।
अध्यक्ष डा. शर्माले भने, ‘विगतमा नतिजा सार्वजनिक भएपछि कहिले जन्म मिति, कहिले अंक, त कहिले के मिस्टेक भयो भन्दै सच्याउन आउनेको भीड हुन्थ्यो, त्यसलाई मध्यनजर गर्दै बरु केही दिन नतिजा ढिला होस् तर नतिजा सार्वजनिक भएपछि सकेसम्म विद्यार्थीले विभिन्न विवरण सच्याउन फेरी धाउन नपरोस् भनेर यस पटक अलि कडाइका साथ विवरण रुजु गर्ने कार्य भइरहेको छ ।’
सबै विवरण रुजु गरेर अन्तिम पटक पुनः जाँच गरेपछि आउँदो हप्ताको शुरूमै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको उनले बताए । स्थानीय तहको निर्वाचनका कारणले पनि केही दिन नतिजा पर धकेलिएको उनको भनाइ छ ।
शिक्षाका कर्मचारीदेखि उत्तरपुस्तिका परीक्षणको जिम्मेवारी पाएका शिक्षकशिक्षिका निर्वाचनमा खटिएकाले उत्तरपुस्तिका परीक्षणमा पनि केही ढिला हुँदा नतिजा सार्वजनिक गर्न पनि केही दिन ढिलाइ हुन गएको उनको भनाइ छ । डा. शर्माले भने, ‘हाम्रो लक्ष्यभन्दा केही दिन नतिजा ढिलो भए पनि शैक्षिक सत्रलाई असर पर्ने गरी ढिला हुँदैन, हामी नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमै छौं, आउँदो साताको शुरूमै नतिजा सार्वजनिक गर्ने तयारीमा छौं ।’