
शेयर लगानीकर्ताहरूले सर्वाधिक चासोका साथ हेरेको ४/१२ को नीतिमा केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत केही परिमार्जन गरेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रवार चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमार्फत शेयर बजारमा विभिन्न नीतिगत व्यवस्था गरेको छ ।
शेयर धितो कर्जामा न्यूनतम सीमा खारेजीदेखि बैंक तथा वित्तीय संस्थाको मर्जर तथा प्राप्तिको समयमा शेयर कारोबार नरोकिने व्यवस्थासम्म गरेपछि लगानीकर्ताहरू खुशी देखिएका छन् ।
मौद्रिक नीतिको पर्खाइमा रहेका लगानीकर्ताले अब भने उत्साहजनक रूपमा शेयर बजारमा लगानी गर्ने संकेत गरेका छन् ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा न्यूनतम ४ करोडको सीमालाई खारेज गरेपछि शेयर लगानीकर्ताहरू खुशी देखिएका छन् ।
यद्यपि कतिपय लगानीकर्ताहरूले भने अझै सन्तुष्ट हुने आधार नदेखिएको टिप्पणी गरेका छन् ।
राष्ट्र बैंकले अघिल्लो मौद्रिक नीतिमा लगानीकर्ताले शेयर धितोमा राखेर न्यूनतम ४ करोडदेखि अधिकतम १२ करोड रुपैयाँसम्म कर्जा लिन सक्ने व्यवस्था गरेको थियो ।
शेयर बजारमा कडाइ गर्ने मनसायका साथ राष्ट्र बैंकले यस्तो व्यवस्था गरेपछि साना लगानीकर्ता आक्रोशित बनेका थिए ।
लगानीकर्ताहरूले सरकार र राष्ट्र बैंकका कारण साना लगानीकर्ता मर्कामा परेको गुनासो गर्दै नियामक निकायदेखि प्रधानमन्त्रीको कार्यालयको समेत ढोका ढक्ढक्याएका थिए ।
कतिपय लगानीकर्ताहरूले भने शेयर बजारको नीति सच्याउन माग गर्दै अनशन नै बसेका थिए ।
तसर्थ नयाँ मौद्रिक नीतिमा लगानीकर्ताले शेयर धितो कर्जाको सो व्यवस्था खारेज हुने अपेक्षा राखेका थिए ।
यद्यपि राष्ट्र बैंकले केही चलाखी गर्दै न्यूनतम सीमालाई पूरै हटाएर अधिकतम सीमा मात्रै कायम गरेको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिमा ल्याएको व्यवस्था लगानीकर्ताका लागि केही सन्तोषजनक रहेको शेयर लगानीकर्ता एवं इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन् ।
‘चर्चामा रहेको ४/१२ को नीति आवश्यक नै थिएन, तर राष्ट्र बैंकले ४ हटाइदिएको छ,’ उनले भने, ‘तीनवटा बैंक नगइकन एकै बैंकबाट कर्जा लिन मिल्ने बनाइदिएको छ, यो सकारात्मक छ ।’
राष्ट्र बैंकले शेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार २५ लाख रुपैयाँसम्मको कर्जाको हकमा १०० प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने व्यवस्था यथावत राखेको छ ।
राष्ट्र बैंकले ल्याएको यो नीति भने गलत रहेको उनको टिप्पणी छ ।
यस्तै मर्जर तथा प्राप्तिको समयमा कारोबार नरोकिने व्यवस्था गर्नु निकै राम्रो व्यवस्था भएको उनले बताए ।
उनले समग्रमा मौद्रिक नीतिले शेयर बजारलाई केही सम्बोधन गरेको टिप्पणी गरे ।
‘हामीले मागेजस्तो त आएन,’ उनले भने, ‘तर बजारमा हल्ला चलेको थियो पूँजीबजारमा निकै टाइट हुन्छ भनिएको थियो, त्यस्तो पनि आएन, ठीकठीकै आयो ।’
यस्तै ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले शेयर बजारको सम्बन्धमा मौद्रिक नीति सकारात्मक आएको बताए ।
ब्रोकरमार्फत मार्जिन ल्यान्डिङलाई व्यवस्थित गर्नुपर्यो भनेर माग गरेकोमा राष्ट्र बैंकले माग पूरा गरेको उनले बताए ।
‘प्रायः मागहरू सकारात्मक छन्, सबै मागहरू पूरा भएका छन्,’ उनले भने ।
उनले मर्जर र प्राप्तिको समयमा कारोबार नरोक्ने राष्ट्र बैंकको व्यवस्था निकै राम्रो रहेको उनको बुझाइ छ ।
यता शेयर लगानीकर्ता केशव कोइरालाले मौद्रिक नीति लगानीकर्तालाई सहज हुने किसिमको नै आएको बताए ।
यी हुन् मौद्रिक नीतिमा शेयर बजारसम्बन्धी मुख्य व्यवस्था:
– बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्नेसम्बन्धी यस बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेज गरी धितोपत्र बोर्डको नियमनबमोजिम हुने व्यवस्था मिलाइने ।
– शेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरूबाट लिन सक्ने गरी अधिकतम् सीमा रु.१२ करोड कायम गरिने ।
– शेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाइने ।
– शेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार रु.२५ लाखसम्मको कर्जाको हकमा १०० प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने व्यवस्था यथावत राखिएको छ ।