२८ असार २०८३, आइतबार
दक्षिण अमेरिकामा 'वामपन्थी कमब्याक'

दक्षिण अमेरिकामा वामपन्थी लहर: रक्षात्मक अवस्थाबाट कसरी सम्भव भयो कम्युनिस्टहरूको पुनरुदय ?

साउन १०, २०७९
दक्षिण अमेरिकामा वामपन्थी लहर: रक्षात्मक अवस्थाबाट कसरी सम्भव भयो कम्युनिस्टहरूको पुनरुदय ?
होन्डुरसमा वामपन्थी राष्ट्रपति सियोमारा कास्ट्रो निर्वाचित भएपछि समर्थकहरूले निकालेको जुलुस | Photo : Fredy Rodriguez/Reuters

दक्षिण अमेरिकी महादेशमा पुनः एकपटक वामपन्थी लहर आएको छ । 

हुँदाहुँदा कोलम्बिया जस्तो कट्टर अनुदारवादी मुलुकमा समेत गत जुन महिनामा वामपन्थी गुस्ताभो पेट्रो राष्ट्रपति निर्वाचित भएका छन् । आगामी अक्टोबर महिना हुन लागेको ब्राजिलको निर्वाचनमा समेत वामपन्थी उम्मेदवारले बहालवाला दक्षिणपन्थी राष्ट्रपति जाइर बोल्जोनारोलाई हराउन सक्ने आकलनहरू आइरहेका छन् । 

यस वामपन्थी लहरलाई पिंक टाइड नाम दिइएको छ । यसको इतिहास अलिकति कोट्याऔं । सन् १९८० को दशकमा (राजनीतिशास्त्री स्यामुअल पी हन्टिङटनको शब्द सापटी लिनुपर्दा) लोकतन्त्रको तेस्रो लहर विश्वभरि आएपछि वामपन्थीहरू संसदीय व्यवस्थामा चुनाव लड्न आएका थिए । 

सोभियत संघको पतन भएपछि बन्दूकको बलमा सत्ता कब्जा गर्न नसकिने तत्त्वज्ञान कम्युनिस्ट नेताहरूले प्राप्त गरे । त्यसपछि संसदीय प्रतिस्पर्धामा विजय हासिल गरी सत्तामा पुग्ने र देशलाई समाजवादी बाटोमा लैजाने रणनीतिका साथ उनीहरू अग्रसर भएका थिए । त्यही छेको पारी नेपालमा मदन भण्डारीले जनताको बहुदलीय जनवादको सिद्धान्त ल्याएर कम्युनिस्टहरूमाझ संसदवादी धारलाई प्रबल बनाएका हुन् । 

दक्षिण अमेरिकाका विभिन्न मुलुकमा वामपन्थी लहर पनि त्यही बहुआयामिक भूराजनीतिक परिवर्तनको देन हो । शीतयुद्धको अन्त्य भएपछि सोभियत संघले लगानी गरेका धेरैथरी क्रान्तिकारी आन्दोलनहरू विलुप्त भए । अनि वामपन्थीहरूले पूँजीवादका कतिपय अवयवलाई स्वीकार गर्न थाले । 

त्यही समयतिर चीनका तङ स्याओपिङले चीनलाई राज्यनियन्त्रित पूँजीवादको बाटोमा डोहोर्‍याएर समृद्ध तथा शक्तिशाली बनाउन सफलता पाए ।

अर्थतन्त्र संकटमा पर्न थालेपछि आक्रोशित दक्षिण अमेरिकी मतदाताहरूले मूलधारका दलहरूलाई परित्याग गरी वामपन्थी दललाई छान्न थालेको देखिन्छ । बजारभन्दा राज्य बलियो बनाउने र सामाजिक सुरक्षामा बढी खर्च गर्ने भनी वामपन्थीहरूले गरेको प्रतिबद्धतालाई त्यहाँका जनताले पत्याएका छन् । 

अनि शीतयुद्धकालमा जस्तो अमेरिकाले वामपन्थी सरकारहरूलाई आफ्नो सुरक्षाका लागि खतराका रूपमा लिन छोड्यो । त्यसअघि शीतयुद्धको समयमा हेनरी किसिन्जरको डोमिनो थ्योरी अपनाएर अमेरिकाले कुनै पनि क्षेत्रमा वामपन्थी लहर बन्नै नदिन विभिन्न कदम चाल्ने गरेको थियो (उदाहरणका रूपमा, चिली र इन्डोनेसिया) ।

लोकतान्त्रिक माध्यमले सत्ता हासिल गर्ने यस्तो अवसरलाई दक्षिण अमेरिकाका वामपन्थीहरूले भरपूर सदुपयोग गरे । सन् १९९८ मा भेनेजुएलामा ह्युगो चाभेजले वामपन्थी लहरको आरम्भ गरेपछि सन् २००३ मा ब्राजिलमा लुइस इनासियो लुला दा सिल्भा अनि सन् २००६ मा बोलिभियामा इभो मोरालेस विजयी भए । 

सन् २००० को दशकमा उपयोगी वस्तु (कम्मोडिटी) को माग उदीयमान बजारहरूमा बढेपछि दक्षिण अमेरिकाका विभिन्न देशहरूलाई जनवादी नीति अंगीकार गर्न सजिलो भयो । फलस्वरूप, त्यहाँका जनता पनि आर्थिक वृद्धि, वस्तु तथा सेवामा छुट र सामाजिक सुरक्षाको माग गर्न थाले । 

उपयोगी वस्तुको माग बढ्नुमा चीनको द्रुत विकास प्रमुख कारण थियो । चीनमा त्यही समयताका औद्योगिकीकरण बढिरहेको थियो र आफ्नो बढ्दो अर्थतन्त्रका लागि उसलाई व्यापक स्रोतसाधन आवश्यक परेको थियो । 

उसले दक्षिण अमेरिकाका वामपन्थी सरकारहरूसँग सहकार्य गर्न थाल्यो र कारोबार बढायो । त्यसले गर्दा दक्षिण अमेरिकामा असमानता घटेको र त्यहाँको अर्थतन्त्रमा वृद्धि भएको फरेन अफेयर्स पत्रिकामा माइकल रीड लेख्छन् ।

तर सन् २०१० तिर कम्मोडिटी माग घट्न थालेपछि चाहिँ दक्षिण अमेरिकाका अर्थतन्त्रहरूमा समस्या देखिन थाल्यो । चीनको स्टक मार्केटमा खलबली भएपछि दक्षिण अमेरिकामा चिनियाँ लगानी घट्नु यसको एउटा कारण हो । 

भेनेजुएलाले तेलबाट प्राप्त राजस्वमा आफूलाई पूर्ण निर्भर गरी आर्थिक विविधीकरण नगरेकाले त्यहाँ आर्थिक संकट आयो । त्यसमा अमेरिकी आर्थिक प्रतिबन्धको पनि ठूलो योगदान छ । 

त्यस्तै सन् २०१५ मा अर्जेन्टिनामा महंगी बढेको, कुल गार्हस्थ्य उत्पादन घटेको र देशको प्रमुख निर्यात वस्तु सोयाबीनको मूल्य घटेकोले गर्दा सार्वजनिक खर्चमा कमी आई जनता आक्रोशित भएपछि दक्षिणपन्थी माउरिसियो माक्री राष्ट्रपति बने । त्यसलगत्तै ब्राजिलमा वामपन्थी राष्ट्रपति डिल्मा रुसेफविरुद्ध महाभियोग लाग्यो भने इक्वेडरमा वामपन्थी राष्ट्रपति लेनिन मोरेनो निर्वाचित भए पनि उनले दक्षिणपन्थी नीति अपनाउन थाले ।

सन् २०१६ बाट दक्षिणपन्थी अनुदारवादी लहर (ब्लु टाइड) दक्षिण अमेरिकामा देखिन थाल्यो । पश्चिमी पूँजीवादी सञ्चारमाध्यमहरू दी इकोनोमिस्ट र द न्युयोर्क टाइम्सले लोककल्याणकारी नीति अपनाउने वामपन्थीहरूको पतन भएको भनी खुशियाली समेत मनाए । 

तर उनीहरूको खुशी लामो समय टिक्न पाएन । सन् २०१८ देखि २०२० को बीचमा मेक्सिको, अर्जेन्टिना र बोलिभियामा पुनः वामपन्थीहरू राष्ट्रपतिमा निर्वाचित भए । 

अझ कोभिड महामारीका कारण अर्थतन्त्र संकटमा पर्न थालेपछि आक्रोशित दक्षिण अमेरिकी मतदाताहरूले मूलधारका दलहरूलाई परित्याग गरी वामपन्थी दललाई छान्न थालेको देखिन्छ । बजारभन्दा राज्य बलियो बनाउने र सामाजिक सुरक्षामा बढी खर्च गर्ने भनी वामपन्थीहरूले गरेको प्रतिबद्धतालाई त्यहाँका जनताले पत्याएका छन् । 

त्यही भएर सन् २०२१ मा पेरुमा आदिवासी समुदायका समाजवादी नेता पेड्रो कास्टिलो, त्यही वर्ष होन्डुरसमा सियोमारा कास्ट्रो र चिलीमा गेब्रियल बोरिच अनि यसै वर्ष कोलम्बियामा गुस्ताभो पेट्रो निर्वाचित भएका छन् । कोभिडको लगत्तै अगाडि र कोभिडपछि पनि दक्षिण अमेरिकामा सरकारी खर्चकटौती तथा आयमा असमानताका विरुद्ध भएका हिंसात्मक प्रदर्शनले पनि दक्षिणपन्थीहरूको सरकार ढालेर वामपन्थी शासन ल्याउन मद्दत गरेको देखिन्छ ।

दक्षिण अमेरिकामा वामपन्थी लहर आउँदा त्यसले उक्त क्षेत्रको भूराजनीतिलाई पनि दीर्घकालीन असर पार्ने देखिन्छ । दक्षिण अमेरिकालाई आफ्नो ‘ब्याकयार्ड’ मानेर हेप्ने गरेकाले अमेरिकालाई त्यहाँका वामपन्थीहरूले मन पराउँदैनन् । त्यसैले अधिकांश वामपन्थी सरकारहरूको परराष्ट्रनीति अमेरिकाविरोधी छ । 

अमेरिकासँग असन्तुष्ट वामपन्थीहरूको सरकार धमाधम बन्न थालेपछि रुस र चीनले दक्षिण अमेरिकी मुलुकहरूसँग व्यापारिक सम्बन्ध बलियो बनाउन कोशिश गरिरहेका छन् । चीनको बेल्ट यान्ड रोड इनिसिएटिभमा त्यस क्षेत्रका लगभग सबै देश जोडिएका छन् । 

आर्थिक मात्र नभई सामरिक सम्बन्ध विकसित गर्न पनि उनीहरू खोजिरहेका छन् । अगस्ट महिनाको मध्यतिर रुस, चीन र इरानले दक्षिण अमेरिकी मुलुकहरूसँग स्नाइपर फ्रन्टियर कम्पिटिसन नामक युद्धअभ्यास थाल्न खोजेको खबर तीन साताअघि प्रकाशित भएको थियो । 

दक्षिण अमेरिकामा वामपन्थी लहर आउँदा त्यसले उक्त क्षेत्रको भूराजनीतिलाई पनि दीर्घकालीन असर पार्ने देखिन्छ । दक्षिण अमेरिकालाई आफ्नो ‘ब्याकयार्ड’ मानेर हेप्ने गरेकाले अमेरिकालाई त्यहाँका वामपन्थीहरूले मन पराउँदैनन् । त्यसैले अधिकांश वामपन्थी सरकारहरूको परराष्ट्रनीति अमेरिकाविरोधी छ । 

चीन र रुसले दक्षिण अमेरिकामा अतिरिक्त चासो देखाएपछि अमेरिकाले आफ्नो सुरक्षा जोखिममा परेको अनुभव गरेको छ र भ्रष्ट सरकारहरूलाई ती दुई देशले सहयोग गरिरहेको आरोप लगाएको छ ।

गत साता अमेरिकाको थिंकट्यांक एस्पन सिक्योरिटी फोरममा अमेरिकी सेनाको सदर्न कमान्डकी कमान्डर जनरल लउरा रिचार्डसनले दक्षिण अमेरिकामा रुस र चीनको सक्रियता बढेकाले अमेरिका त्यसमा पछि पर्न नहुने धारणा व्यक्त गरेकी थिइन् ।  

ब्राजिलमा भएका जस्ता दक्षिणपन्थी शासकहरूमार्फत आफ्नो उपस्थिति प्रभावशाली बनाउन अमेरिकाले कोशिश गरिरहेको छ । 

तर अमेरिका आफ्नो प्रभाव उक्त क्षेत्रमा पार्न असफल भइरहेको प्रमाण गत जुन महिनामा सम्पन्न सम्मिट अफ दी अमेरिकाजले दिइसकेको छ । उत्तर र दक्षिण अमेरिकी मुलुकहरूको उक्त शिखर सम्मेलनको आयोजना अमेरिकी राष्ट्रपति जो बाइडनले गरेका थिए । 

विश्लेषकहरूले त्यसलाई कूटनीतिक विफलताको संज्ञा दिएका छन् । वाशिङटनमा निर्भर नरहेको उक्त क्षेत्रमा अमेरिकाले आफ्नो निहित स्वार्थ अघि बढाउन नसक्ने यसबाट देखिएको छ ।

भूराजनीति आफ्नै ठाउँमा होला तर दक्षिण अमेरिकी जनताले वामपन्थीहरूप्रति गरेको विश्वासमा खरो उत्रने चुनौती शासकहरूलाई छ । पूर्णतः वामपन्थी नभई मध्यमार्गी वामपन्थी नीति लिएमा उनीहरू जनतालाई गरेको वाचा पूरा गर्न समर्थ हुने मेक्सिकोका पूर्व परराष्ट्रमन्त्री होर्गे जी कास्टानेडा प्रोजेक्ट सिन्डकेटमा लेख्छन् । त्यसैले चिलीका राष्ट्रपति बोरिच र पेरुका राष्ट्रपति पेट्रोले मध्यमार्गी नीति अपनाउन थालेको उनको भनाइ छ । 

तर स्थानीय सम्भ्रान्त तथा बहुदेशीय कर्पोेरेट संस्थाहरूलाई मात्र फाइदा पुर्‍याउने दक्षिणपन्थीहरूको शोषक नीतिको तुलनामा वामपन्थीहरूको मध्यमार्गी नीति स्वागतयोग्य छ । दक्षिण अमेरिकामा वामपन्थीहरूको शासन सफल भएमा बहुध्रुवीय विश्व निर्माणका लागि पनि महत्त्वपूर्ण योगदान पुग्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्