
छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको बेला नेपालमा पनि यसको प्रभाव देखिन थालेको छ ।
ओमिक्रोनको ‘विएफाइभ’ जातिको भेरियन्ट देखिएसँगै नेपालमा सङ्क्रणम दिनानुदिन बढिरहेको छ । विएफाइभ सङ्क्रमण उच्चदरमा फैलिने भएकाले पनि अहिले नेपालमा सङ्क्रमण बढिरहेको छ ।
सङ्क्रमण दर शून्य दशमलव ५ प्रतिशतसम्म झरेको नेपालमा सङ्क्रमण दर अहिले १२ प्रतिशत पुगेको छ । मन्त्रालयका अनुसार गत साता बुधबार साउन ४ गते सङ्क्रमण दर १० प्रतिशत रहेकोमा अहिले त्यो १२ प्रतिशत पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा चुमनलाल दासले अहिले दैनिक बढिरहेको सङ्क्रमणले चौथो लहरको सङ्केत गरेको बताए ।
खुला सीमा भएकाले दैनिक सीमानाकाबाट आउने मानिसमा सङ्क्रमण देखिने गरेको छ र ती मानिसले नै सङ्क्रमण सारिरहेका छन् । उनका अनुसार झापाको काँकडभिट्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट प्रवेश गर्नेमा सङ्क्रमण बढी नै देखिने गरेको छ ।