२८ जेठ २०८३, बिहीबार
आलेख

एमालेले प्रमाणित गर्न नसकेको जनार्दनमाथिको लाञ्छना

साउन १३, २०७९
एमालेले प्रमाणित गर्न नसकेको जनार्दनमाथिको लाञ्छना

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्ति सहभागी गराएर करको दर हेरफेर गरेको आरोप निराधार, कपोकल्पित, मनगढन्ते र निकै मेहनतका साथ रचिएको झूटको पुलिन्दासहितको निकृष्ट कथाबाहेक केही थिएन भन्ने कुरा तथ्य र प्रमाणले क्लियर गरेका छन् । झण्डै १८/२० दिन लामो चारित्रिक आक्रमण अन्ततः हिन्दी उखान ‘खोदा पहाड, निक्ला चुहा’ (पहाड खन्दा मुसा भेटिएको) जस्तै भएको छ ।

संसद्ले छानबिनका लागि संसदीय समिति गठन गर्‍यो । अर्थमन्त्रीबाट शर्माले राजीनामा दिए । अर्थमन्त्रालय निष्क्रिय बन्यो । छानबिन समितिले अर्थमन्त्रालयका कर्मचारीदेखि अर्थमन्त्री शर्मालाई लाइन लगाएर पालैपालो बयान लियो । सीसीटीभी फूटेज नभेटिएपछि नेपाल प्रहरीको फरेन्सिक ल्याब खोजियो । त्यतिले नपुगेपछि रिकभर गरिएका फूटेज अध्ययन विश्लेषणका लागि विशेषज्ञहरू बोलाइयो र अन्ततः रिकभर फुटेजहरूमा न कुनै नयाँ व्यक्ति भित्र प्रवेश गरेको देखियो न त कुनै व्यक्तिले मिडियामा आएका कलात्मक आख्यान झैं करको दर हेरफेर गराएको देखियो ।

जसले आरोपको सत्यताबारे थाहा पाउन वैज्ञानिक विधि र पद्धतिलाई अँगाल्न चाहेका थिए, उनीहरू अनुसन्धानका विधि पद्धतिबाट प्राप्त नतिजापछि क्लियर भए । संसदीय समितिमा रहेका एमालेका मित्रहरू जो अनुसन्धानका विधि र पद्धतिबाट प्राप्त नतिजाभन्दा आफ्नो आग्रह–पूर्वाग्रह नै स्थापित गर्न चाहन्थे, उनीहरू विभिन्न बहानामा प्रतिवेदनमा आफ्नो वैचारिक प्रतिशोध र राजनीतिक पूर्वाग्रह झल्काउँदै विषयलाई पनि शंकाको घेरामा राख्ने र आफ्नो मेहनत, जिद्दी र बालहठ पनि गलत थिएन भन्ने पुष्टि गर्न अन्तिम कसरतमा छन् । प्रतिवेदनमा फरक मतका रूपमा संलग्न हुने उत्तेजनात्मक तर कलात्मक सारांश नै एमालेको पूर्वाग्रह र प्रतिशोधका गतिला उदाहरण हुन् ।

विगतका छानबिनमा एमालेको इतिहास

मल्लिक आयोगको छानबिन, रायमाझी आयोगको छानबिन, दरबार हत्याकाण्डको छानबिन र शाही आयोगको छानबिनमा एमालेको भूमिका कति निष्क्रिय थियो दुनियाँलाई थाहा छ ।  नेकपा एमालेको पार्टी जीवनमा बज्रपात भएको २०५० जेठ ३ को त्यो कालो दिन जहाँ एउटा बहादुर योद्धाको रहस्यमय हत्याकाण्डलाई दासढुंगा दुर्घटना बनाएर सामान्यीकरण गरियो । त्यही हत्याको छानबिन गरी सत्यतथ्य पत्ता लगाउने चुनावी मूल नाराकै कारण २०५१ मा एमाले अल्पमतको सरकारमा पुग्यो । नौ महिने शासनकालमा मदन–आश्रित हत्याकाण्डको छानबिन हुन सकेन । तर नेकपा एमालेले दासढुंगाको त्यस अप्रिय रहस्यमय घटनालाई छानबिनको डिक्सनरीबाट बाहिर राखेन । गणतन्त्र आइसकेपछि पनि मदन–आश्रित हत्याकाण्डको निष्पक्ष छानबिन हुन सकेन ।

प्रतिवेदनमा फरक मतका रूपमा संलग्न हुने उत्तेजनात्मक तर कलात्मक सारांश नै एमालेको पूर्वाग्रह र प्रतिशोधका गतिला उदाहरण हुन् ।

मदन भण्डारीको जबज हत्याउने र फाल्ने दुवै अधिकार आफूसँग सुरक्षित राख्न सफल वर्तमान अध्यक्ष केपी ओली प्रधानमन्त्री र मदन भण्डारीकी धर्मपत्नी विद्यादेवी भण्डारी राष्ट्रपति हुँदा कुनै दिन मदन भण्डारी हत्याकाण्डको फाइल पल्टाइएन । सत्तामा चढ्ने भर्‍याङ बनाइएको दास ढुंगा काण्ड अब सधैँका लागि च्याप्टर क्लोज भएको छ । त्यस विषयमा मदन भण्डारीका दाजुको चित्त दुखाइ अहिले पनि प्रस्ट छ ।

ललितपुरको च्यासलमा पार्टीका जिम्मेवार सहयोद्धाहरूले शहीद परिवारको रेखदेख र पार्टीभित्रको सांस्कृतिक विचलनबारे जे कुरा उठाए त्यसको कहिल्यै छानबिन भएन । बरु सांस्कृतिक विचलनको मुद्दा होस्टाइल भयो र जसले त्यस विषयमा कुरा उठाउने तयारी गर्दै थिए । उनीहरूका मुखमा बिर्को लगाइयो । समयक्रममा मदन भण्डारीको पारिवारिक विरासतको राजनीतिक लगायतका जिम्मा लिँदै उनको जबज र संगठन सञ्जाललाई नियन्त्रणमा लिएर केही मानिसहरूले एमालेभित्र आफ्नो हर्ष राइडिङ चमत्कार देखाए ।

मदन भण्डारीको विचार र संगठनमाथि ती मानिसहरूको अवस्था बाघको छालामा स्यालको रजाईं जस्तै भयो । त्यस्तो किन भयो भन्दा मदन भण्डारी राजालाई मैदानमा ओर्लन चुनौती दिन्थे ।  उनको त्यही विद्रोही र हक्की स्वभावले बनेको देशव्यापी संगठन अहिले कसको हातमा पुगेको छ, दुनियाँले देखेकै छन् ।

एमालेका अहिलेका हस्तीहरू राजालाई सिंहासनमा यथावत राख्न जनआन्दोलनकै बीचमा पनि दरबारका प्रेस वक्तव्य लेखेर बसे । त्यो राजतन्त्रको पक्षमा थियो वा गणतन्त्रको पक्षमा, विषय क्लियर छ ।  त्यो बहादुरी थियो वा कायरता, त्यसको विश्लेषण देशको प्रबुद्ध वर्गदेखि आमनागरिकले गर्नैपर्छ ।  

मदन भण्डारीको नाम लिँदा एउटा महत्त्वपूर्ण कुराको सधैँ सम्झना आउने गर्छ, इमानहरू शालिक हुन्छन् र बेइमानहरू मालिक हुन्छन्, एमालेमा त्यो प्रवृत्ति स्पष्ट छ । त्यही पीडालाई सहन नसकेर डेकेन्द्र राजवंशीले बल्खुको रातो घर छेउमा पासो लगायर झुण्डिनुपर्‍यो । डेकेन्द्र राजवंशी झुण्डिएको रुख र केपी ओलीले राजाको रक्षार्थ दरबारको वक्तव्य लेखेको रुद्राक्षको रुखको दूरी पनि शायद धेरै टाढा छैन । सच्चा ह्रृदयदेखि गणतन्त्रको नारा बोकेर हिँडेका डिकेन्द्र गरिबी, अभाव, विपन्नता र यो अस्तव्यस्तता देखेर आजित भए ।

मनदेखि नै गणतन्त्रविरुद्ध सबै हर्कतमा उत्रिएका ओली सत्ता, सम्पन्नता, समृद्धि र वैभवबाट प्रफुल्लित भएर गम्भीर मिर्गौला समस्यालाई पचाउँदै राजनीतिक दाउपेच र अराजनीतिक खुरापातको मैदानमै छन् । तर एमालेले डिकेन्द्र राजवंशीको आत्महत्या दुरुत्साहनका पछाडि को जिम्मेवार छ र हाम्रो पार्टी कार्यालय छेउमै किन झुण्डियो भन्नेबारे कहिल्यै सोचेन र बोलेन पनि । त्यसका लागि छानबिन समिति गठन गर्ने कुरा त एमाले नैतिकताको डिक्सनरीको दायराभित्रै पर्दैन ।  

महाकाली प्रकरणदेखि एमाले सत्तामा गएपछिका अनगिन्ती काण्डहरूमा छानबिन न इतिहासमा कहिल्यै भएको छ, न वर्तमानमा शायद भविष्यमा पनि एमालेको बलबुताले थेगेसम्म उसका जतिसुकै अक्षम्य प्रकरणमा पनि छानबिन समिति बन्ने छैन । आफ्ना बलिया प्रतिद्वन्द्वीविरुद्ध कथा बनाउन मिडियादेखि सडकसम्म नेटवर्क तयार पार्ने र विरोधमा उत्रन तानावाना बुन्ने आफू र आफ्नो पार्टीले जतिसुकै गल्ती गरेपनि जे आउँछ, मज्जाले पचाउँछ भन्ने उक्तिलाई चरितार्थ गर्ने एमाले विशेषता हो । त्यहि विशेषताले सो पार्टी आजसम्म टिकेको छ ।

सत्ताका लागि गिरिजाप्रसादसँग मिलेर संवैधानिक राजतन्त्रको वकालत, शाहीकालमा सक्रिय राजतन्त्रको स्वीकारोक्तिले र दोस्रो जन आन्दोलनपछि  प्रचण्डसँग मिलेर गणतन्त्रको वकालत गर्ने अनि सत्ताबाट बाहिरिनेबित्तिकै सम्पूर्ण शक्तिको एकैसाथ अराजनीतिक आलोचनाको संस्कारमा झर्ने एमाले प्रवृत्तिको वैचारिक धरातल र राजनीतिक एजेण्डामा कति स्थायित्व छ भन्ने विषयमा आजको पुस्ताले बहस गर्नैपर्छ ।

सत्ताका लागि गिरिजाप्रसादसँग मिलेर संवैधानिक राजतन्त्रको वकालत, शाहीकालमा सक्रिय राजतन्त्रको स्वीकारोक्तिले र दोस्रो जन आन्दोलनपछि  प्रचण्डसँग मिलेर गणतन्त्रको वकालत गर्ने अनि सत्ताबाट बाहिरिनेबित्तिकै सम्पूर्ण शक्तिको एकैसाथ अराजनीतिक आलोचनाको संस्कारमा झर्ने एमाले प्रवृत्तिको वैचारिक धरातल र राजनीतिक एजेण्डामा कति स्थायित्व छ भन्ने विषयमा आजको पुस्ताले बहस गर्नैपर्छ ।

कहिले राजाको पक्ष र कहिले गणतन्त्रको पक्षमा उभिने, संविधानअघि धर्मनिरपेक्षताको वकालत गर्ने र संविधानमा धर्मनिरपेक्षता राखेपछि कृत्रिम अयोध्या र राममन्दिर खोज्दै हिन्दू धर्मको सेन्टिमेन्ट लिन योजना बनाउने, पार्टीको दबाबमा लिम्पियाधुराको चुच्चे नक्सा जारी गर्न पहिला आनाकानी गर्ने र बनाइसकेपछि त्यसको जस व्यक्तिगत रूपमा लिने, त्यही राजनीतिक प्रशासनिक नक्सा शिक्षामन्त्रीले पाठ्यपुस्तकमा राख्न निर्देशन दिँदा असहमति प्रकट गर्ने, सत्तामा हुँदा आफैँले तयार गरेको नागरिकता विधेयक प्रतिपक्षमा रहँदा राष्ट्रघात हो भन्दै हंगामा मच्चाउन सक्ने, आफू सत्तामा रहँदा संसद्मा छिराएको एमसीसीबारे प्रतिपक्षमा रहँदा विरोध गर्ने, आफूले सत्तामा रहँदा हस्ताक्षर गरेको एसपीपी सम्बन्धमा प्रतिपक्षमा रहँदा विरोध गर्न भ्याउने, बाहिर राष्ट्रवादको डिङ हाँक्ने र भित्र प्रधानमन्त्री निवासमा विदेशी गुप्तचरहरू बोलाउने, यस्तो छिन–छिनमै आफ्नो डबल बडी सो गर्न सक्ने अर्को कुनै पार्टी नेपालमा छैन । शायद मौसमले झैँ रूप बदल्न सक्ने र छेपारोले झैँ रङ बदल्न सक्ने यस्तो पार्टी विश्व दलीय व्यवस्थामा बिरलै देख्न पाइन्छ ।

salt training

कमेन्ट गर्नुहोस्