
राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजामा कर्णाली प्रदेश ‘कमजोर’ देखिएको छ । बोर्डले पहिलोपटक प्रदेशगतरुपमा सार्वजनिक गरेको नतिजाअनुसार कर्णालीमा ११४ परीक्षार्थीले मात्र ३.६ देखि ४ जीपीए अर्थात उच्च अङ्क ल्याए ।
शैक्षिक सत्र–२०७८ को एसइईमा कर्णाली प्रदेशबाट ३७ हजार तीन सय ६२ परीक्षार्थी सहभागी थिए । तीमध्ये नौ सय ५१ ले ३.२ देखि ३.६ जीपीए ल्याए । जसलाई ए–गे्रड भन्ने गरिन्छ । सार्वजनिक प्रदेशगत नतिजाअनुसार कर्णालीका चार हजार ३५ परीक्षार्थीले २.८ देखि ३.२ जीपीए, आठ हजार ३८३ ले २.४ देखि २.८ जीपीए, १० हजार ७३ ले २.० देखि २.४ जीपीए, सात हजार ७७६ ले १.६ देखि २.० जीपीए, दुई हजार ९९४ ले १.२ देखि १.६ जीपीए, १७५ ले ०.८ देखि १.२ जीपीए ल्याए । प्रदेशगतरुपमा उच्च अङ्क ल्याउने परीक्षार्थी बागमति प्रदेशका सबैभन्दा बढी छन् ।
शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक दीपा हमालले प्रदेशगतरुपमा कर्णालीको नतिजा कमजोर हुनुमा विभिन्न तत्वको सम्मिश्रण रहेको बताइन् । “प्रदेशको तुलना गर्दा यहाँ निकै कम विद्यार्थी परीक्षामा सहभागी हुन्छन्, त्यसले स्वभाविक रुपले प्रतिशतमा कम देखिने नै भयो,” उनले भनिन्, “कर्णालीको समग्र विकास, गरिबी, शैक्षिक विकास लगायतले नतिजामा प्रभाव पर्दछ ।”
कोरोना महामारीका कारण अघिल्ला दुई शैक्षिक सत्रमा लिखित परीक्षा नभएपछि विद्यार्थीमा मनोवैज्ञानिक असर परेको निर्देशक हमालको भनाइ छ ।
शैक्षिकसत्र २०७६ र २०७७ मा कोरोना महामारी बढ्दै गएपछि विद्यालय क्वारेन्टिानका रुपमा प्रयोग भए । जसले गर्दा भौतिक उपस्थितिमा पढाइ, परीक्षालगायतका शैक्षिक गतिविधि प्रभावित भएको थियो । ती दुई वर्ष विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई शिक्षा विकास तथा समन्वय इकाइको सिफारिसको आधारमा परीक्षा नियन्त्रण कार्यालयले प्रमाणीकरण गरी एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा बोर्डले यसपटक प्रदेशअनुसार अनिवार्य विषयको बेग्ला–बेग्लै प्रश्नपत्र बनाउनुका साथै उत्तरपुस्तिका पनि प्रदेशमै जाँच गर्ने व्यवस्था मिलाएको थियो ।
वीरेन्द्रनगर नगरपालिकाका शिक्षा उपसचिव धिरेन्द्रप्रसाद लम्सालले विषयगत शिक्षक दरबन्दी न्यून हुनु, शिक्षण सामग्री, पाठ्यपुस्तक समयमै उपलब्ध नहुनुजस्ता कारणले विद्यार्थीको सिकाइमा असर पुगेको बताए ।