१२ साउन २०८३, मंगलबार

बालबालिकालाई भदौ ५ गतेदेखि कोभिड खोप दिइने

बालबालिकालाई भदौ ५ गतेदेखि कोभिड खोप दिइने
प्रतिकात्मक तस्वीर

बागलुङसहित ५० जिल्लाका ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आगामी भदौ ५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ । 

सरकारले गत असार ९ गतेदेखि पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई लक्ष्य गरी खोप अभियान सञ्चालन गरेको थियो ।

दोस्रो चरणमा बाँकी ५० जिल्लाका बालबालिकालाई खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पहिलो चरणमा गण्डकी प्रदेशका कास्की, नवलपुरसहित धेरै जनघनत्व भएका जिल्ला र ठूला शहर केन्द्रित गरेर खोप अभियान चलाइएको हो । ती जिल्लाका बालबालिकाले खोपको दोस्रो मात्रा समेत पाइसकेका छन् ।

स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीका अनुसार जिल्लामा रहेका सो उमेर समूहका झण्डै ५० हजार बालबालिकालाई फाइजर खोप दिइनेछ । ‘सुइँ आइसकेको छ, खोप यही २५ गतेपछि आउँछ,’ उनले भने, ‘बालबालिकालाई विद्यालयमै तोकिएका खोप केन्द्रबाट खोप दिइन्छ ।’ 

उनले बर्सातका कारण खोप ढुवानी र अरु व्यवस्थापकीय तयारीमा बाधा नपरे मन्त्रालयले तोकेकै दिनबाट खोप अभियान सञ्चालन हुने बताए । दोस्रो चरणअन्तर्गत भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप बालबालिकालाई दिइनेछ ।

स्वास्थ्य कार्यालयले त्यसअघि साउन भित्रैमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोपको थप मात्रा (बुस्टर) दिने तयारी थालेको छ । जिल्लाको बागलुङ, जैमिनी, गलकोट नगरपालिका, काठेखोला, बरेङ र ताराखोला गाउँपालिकाका सो उमेर समूहका बालबालिकालाई साउन २० र २१ गते खोपको थप मात्रा दिइनेछ ।

ढोरपाटन नगरपालिका, बडिगाड, निसीखोला र तमानखोला गाउँपालिकाका बालबालिकालाई साउन २५ र २६ गते खोपको थप मात्रा दिइने खोप सुपरभाइजर खत्रीले जानकारी दिए । स्वास्थ्य कार्यालयका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले खोप अभियानका लागि स्वास्थ्यकर्मीलाई तालिम दिनेदेखि व्यवस्थापकीय तयारीका काम अघि बढेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्