मंसिर १९, २०८०
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
साउन २४, २०७९
विगत केही समययता युक्रेनका विषयमा पश्चिमा सञ्चारमाध्यमहरूमा आएका सामग्री हेर्दा भोलोदीमीर जेलेन्स्कीलाई पश्चिमले परित्याग गर्न खोजेको संकेत पाइन्छ ।
एम्नेस्टी इन्टरनेसनल नामक मानवअधिकारवादी संस्थाले पाँच दिनअघि (अगस्ट ४) मा प्रकाशित गरेको प्रतिवेदनमा युक्रेनी सेनाले सर्वसाधारण बस्ने आवासीय क्षेत्र, विद्यालय र अस्पताललाई सैन्यीकरण गर्दै हातहतियार राखेको आरोप लगाएको छ । उनीहरूको यस्तो रणनीतिले सर्वसाधारणलाई जोखिममा पारेको र अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लंघन गरेको एम्नेस्टीको दाबी छ ।
रुसले यही कुरा युद्ध शुरू भएदेखि नै भन्दै आएको छ । युक्रेनमा रुस द्रुत गतिमा अघि बढ्न नसक्नुको कारण पनि यही हो । सकेसम्म कम सर्वसाधारणको क्षति होस् भन्ने संवेदनशीलताका साथ सैन्य कारवाही चलाएकाले रुसलाई विजय पाउन समय लागिरहेको हो ।
पश्चिमले अन्य मुलुकलाई नैतिकताको पाठ पढाउनका लागि मानवअधिकारलाई शस्त्रीकरण गर्ने गरेको आरोप आलोचकहरूले लगाउने गरेका छन् । त्यसअर्थमा मानवअधिकारवादी संस्थाहरू पश्चिमका हतियार हुन् भन्न सकिन्छ । त्यसमध्येको एक मानवअधिकारवादी संस्थाले यथार्थ जानकारी प्रकाशित गर्दा युक्रेन आक्रोशित भएको छ भने पश्चिमलाई पनि नैतिक संकट आइलागेको छ ।
एम्नेस्टीले रुसी प्रचारबाजी दोहोर्याएको आरोप युक्रेन सरकारले लगाएको छ । अहिलेसम्म निर्दोष देवदूततुल्य युक्रेनी सैनिकहरूले दानवीय रुसीहरूका विरुद्ध बहादुरीपूर्वक प्रतिकार गरिरहेको भाष्य युक्रेनले पश्चिमाहरूमाझ स्थापित गरिरहेको थियो । तर एम्नेस्टीको प्रतिवेदनले त्यो भाष्य झूटो आधारमा खडा गरिएको कुरालाई उदांगो बनाइदिएको छ ।
कतिपयले यसलाई युक्रेनी मामिलामा आफूलाई निर्दोष देखाउने अमेरिकाको प्रयास समेत भनेका छन् । अमेरिकाले युक्रेनी सैनिकलाई हातहतियार तथा गोप्य सूचना उपलब्ध गराइरहेको छ ।
तर युक्रेनी सैनिकले गर्ने सम्भावित मानवअधिकार उल्लंघनमा अमेरिका नजोडिने भनी पन्छिनका लागि युक्रेनविरुद्ध लागेको मानवअधिकार उल्लंघन आरोपलाई प्रकाशन गर्ने अनुमति दिएको उनीहरू बताउँछन् । त्यसो त विरोध भएपछि एम्नेस्टीले आफ्नो प्रतिवेदनका कारण युक्रेनीहरूलाई चोट पुगेको भए क्षमा दिन अनुरोध गरेको छ । तर प्रतिवेदनको निष्कर्ष फिर्ता लिन उसले मानेको छैन ।
एम्नेस्टीको प्रतिवेदनसँगै अमेरिकी मूलधारे सञ्चारमाध्यम सीबीएसको एक वृत्तचित्र (डकुमेन्ट्री) ले पनि युक्रेनमा भइरहेको गडबडीको खुलासा गरेको छ । सीबीसीको उक्त वृत्तचित्रमा युक्रेनसमर्थक गैरनाफामूलक संस्था ब्लु–येल्लोका संस्थापक जोनास ओहम्यानको उद्धरणले विवाद निम्त्याएको हो । ओहम्यानले युक्रेनलाई दिइएको हातहतियार सहायतामध्ये ३० प्रतिशत जति मात्र युद्धको अग्रमोर्चामा पुग्ने गरेको बताएका थिए ।
युक्रेन सरकारले त्यस्तो उद्धरणबाट रुसी प्रचारबाजीलाई सहयोग पुग्ने र युक्रेनी सेनाको मनोबल खस्किने भनी आपत्ति जनायो । हंगामा भएपछि सीबीएसले वृत्तचित्रलाई आंशिक रूपमा फिर्ता लिँदै उक्त उद्धरण हटाएर अद्यावधिक गरिएको वृत्तचित्र सार्वजनिक गर्ने बताएको छ ।
सीबीएसले यसो भने पनि सीएनएनले तीन महिनाअघि युक्रेनलाई दिइएको सहायताको हिसाब राख्न नसकिएको अमेरिकी अधिकारीहरूले स्वीकार गरेको सामग्री प्रकाशित गरेको थियो । अधिकांश हतियार युद्धमोर्चामा खटिएका सैनिककहाँ नपुगी बिचौलियाहरूले विभिन्न आपराधिक तथा आतंकवादी समूहलाई बेच्ने गरेको खबर पनि सार्वजनिक भएका छन् ।
युक्रेनी अधिकारीहरूप्रति अमेरिकीहरूको अविश्वास सीबीएस र सीएनएनको सामग्रीले झल्काउँछ । अझ यस सन्दर्भमा सबभन्दा ठूलो खुलासा त अमेरिकी प्रशासनको गोप्य सूचना राख्ने द न्युयोर्क टाइम्सका स्तम्भकार टमस फ्रिडम्यानले गरेका छन् ।
अगस्ट १ मा उनले लेखेको सामग्रीमा युक्रेनी नेतृत्वका विषयमा अमेरिकी अधिकारीहरू चिन्तित रहेको उल्लेख छ । ह्वाइट हाउस र जेलेन्स्कीबीच गहिरो अविश्वासको स्थिति रहेको अनि त्यसको खासै रिपोर्टिङ नभएको उनको भनाइ छ ।
यसरी फ्रिडम्यानमार्फत अमेरिकाले जेलेन्स्कीलाई चेतावनी दिएको संकेत मिल्छ । तर अमेरिकाका हतियार व्यापारीहरूलाई खुशी बनाउन बाइडन प्रशासनले युक्रेनलाई हातहतियार सहयोग चाहिँ जारी राखेको छ । भर्खरै मात्र अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले १ अर्ब डलर बराबरको हतियार प्याकेजको घोषणा गरेको छ ।
तथापि अमेरिकामा जेलेन्स्कीप्रतिको असन्तुष्टि चुलिँदै गएको प्रमाण रिपब्लिकन पार्टीकी सांसद भिक्टोरिया स्पार्जले दिएकी छन् । युक्रेनी मूलकी अमेरिकी व्यापारी स्पार्जले जेलेन्स्की र उनका सहयोगीहरूमाथि भ्रष्टाचारको आरोप लगाएकी छन् ।
उनले अमेरिकी सेनाका सर्वोच्च अधिकृत जोयन्ट चीफ्स अफ स्टाफका अध्यक्ष जनरल मार्क मिल्लीलाई समेत भेटेर अमेरिकी हतियार युक्रेनी सैनिककहाँ नपुगेको बताएको सीएनएनले खबर दिएको छ । मिल्लीले उनको कुरा ध्यान दिएर सुनेको र युक्रेनमा भ्रष्टाचार समस्याका रूपमा रहेको अमेरिकी अधिकारीहरूले स्वीकार गरेको सीएनएन लेख्छ ।
स्पार्जले युक्रेनलाई दिइएको हतियार तथा अन्य सहायताका विषयमा उपयुक्त पर्यवेक्षण संयन्त्र बनाउनुपर्ने भनी राखेको मागलाई युक्रेनले अस्वीकार गरेको छ । युक्रेनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले स्पार्जको माग पूरा गर्दा विद्यमान संयन्त्रको अवमूल्यन हुने र रुसविरुद्धको प्रतिकार कमजोर बन्ने बताए ।
यसो भनेर उनले युक्रेनी अधिकारीहरूको भ्रष्टाचारलाई ढाकछोप गर्न खोजेको देखिन्छ । त्यस्तो ढाकछोपले पनि अमेरिकीहरूलाई जेलेन्स्की सरकारप्रति निराश बनाएको आभास हुन्छ ।
अमेरिकाका मूलधारे सञ्चारमाध्यमले युक्रेनमा रुसको अग्रतालाई बेमनले भए पनि स्वीकार गर्दै लेखेका छन् । द न्युयोर्क टाइम्स, द वाशिङटन पोस्ट, एनपीआर लगायतमा प्रकाशित सामग्री हेर्दा डोनबास र दक्षिणी युक्रेनमा रुसी सेनालाई युक्रेनी सेनाले पछि हटाउन नसकेको यथार्थलाई स्वीकार गरिएको प्रशस्त सामग्री पाइन्छ । अमेरिकाले दिएको हिमार्स रकेट प्रणालीले पनि रुसी अग्रतालाई रोक्न सकेको छैन, उल्टो सबै हिमार्स ध्वस्त भइसकेको खबर छ ।
अमेरिकी सैन्य विश्लेषक ल्यारी जोनसनका अनुसार, अमेरिकी सेनाको चेन अफ कमान्डलाई युक्रेन अब उद्धार गर्न नसकिने भइसकेको सैन्य सल्लाहकारहरूले बताइसकेका छन् । डिफेन्स इन्टेलिजेन्स एजेन्सीका कर्मचारीहरू युक्रेनले जित्ने कुनै गुञ्जायस नरहेको निष्कर्षमा पुगिसकेका छन् । त्यसैले अब अमेरिका थप हतियार युक्रेनी ‘ब्ल्याक होल’ मा खन्याउन इच्छुक नहुनुपर्ने जोनसनको निष्कर्ष छ ।
अझ युक्रेनी सेनाबाट लीक गरिएको भनिएको एक दस्तावेजले त युक्रेनी प्रतिरक्षा धराशायी भइसकेको संकेत गर्छ । युक्रेनी भाषामा रहेको उक्त दस्तावेजमा ५० हजार युक्रेनी सैनिकको मृत्यु भइसकेको र १ लाख ४० हजारजना युद्ध गर्न नसक्ने गरी घाइते वा बेपत्ता रहेको उल्लेख छ ।
यसरी युक्रेनी सेनाको संख्या घटिरहेको अनि नेटोले आफ्नो सेना युक्रेनी भूमिमा नपठाउने निर्णय गरेको अवस्थामा युक्रेन यस युद्धमा हावी हुने कुनै सम्भावना छैन ।
अनि त्यसमाथि अमेरिकाको ध्यान अब युरोपमा नभई हिन्द प्रशान्त क्षेत्रमा मोडिएको छ । ताइवानमा अहिले भइरहेको तनाव त्यसैको परिणाम हो ।
अमेरिकी जनता पनि युक्रेन युद्धबाट अघाइसकेको पछिल्ला सर्वेक्षणहरूले देखाएका छन् । ग्यालप नामक संस्थाको पछिल्लो सर्वेक्षणमा जम्मा १ प्रतिशत सहभागीले रुस अमेरिकाका लागि महत्त्वपूर्ण समस्या रहेको बताएका छन् । युक्रेन भन्दा पनि खस्किँदो अर्थतन्त्र सुधारमा अमेरिकी प्रशासनको ध्यान जानुपर्ने उनीहरूको भनाइ छ । त्यसलाई अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन सलिभानले पनि बुझेका छन् ।
गत जुलाई महिनामा एस्पन सिक्योरिटी फोरम नामक थिंकट्यांकले आयोजना गरेको कार्यक्रममा उनले अमेरिकी जनताको चासो युक्रेनमा घटेको भए पनि बाइडन प्रशासनले अन्तिम समयसम्म युक्रेनलाई साथ दिने बताए । तर प्रशासनमा यस्तो उत्साह कहिलेसम्म कायम रहन्छ भन्न सकिन्न ।
यो कुरा बुझेरै शायद जेलेन्स्कीले अमेरिकीहरूलाई सहयोग जारी राख्न आग्रह गरेका छन् । बेलायती पत्रकार पियर्स मोर्गनसँगको अन्तर्वार्तामा जेलेन्स्कीले मूल्यवृद्धि वा कोभिड प्राथमिकतामा नपर्ने बताए । अमेरिकीहरूले आफ्नो भन्दा पनि युक्रेनीहरूको चिन्ता गर्नुपर्ने उनको भनाइ छ ।
तर कहिलेसम्म अमेरिकाले यसरी सहयोग गरिरहन्छ भन्ने प्रश्न ज्वलन्त छ । युक्रेन सरकारले पश्चिमलाई बढी नै दुहिरहेको छ र अब उसलाई सहयोग जारी राख्न सकिँदैन भन्ने बेला आइसक्यो भन्ने मत पश्चिममा विकसित हुन थालेको देखिन्छ ।
यही सोचलाई प्रतिबिम्बित गर्दै नेसनल इन्टरेस्ट पत्रिकाले गत साता अमेरिकाका दुईजना प्रभावशाली थिंकट्यांक विश्लेषकहरूको लेख छापेको थियो । ओबामा प्रशासनमा परराष्ट्र मन्त्रालयमा रहेका स्टिभन साइमन र जोनाथन स्टिभनसनले युद्ध अन्त्यका लागि राजनीतिक समाधान खोज्नुपर्ने सुझाव दिएका छन् । बाइडन प्रशासनले उनीहरूको कुरा मान्नुपर्ने हो ।
यस्तो स्थितिमा टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले रुस र युक्रेनबीच वार्ताको मध्यस्थता गर्न आफू तयार रहेको बताएका छन् । मार्च महिनाको अन्त्यतिर टर्कीको इस्तानबुलमा दुई पक्षबीच भएको वार्ता सकारात्मक रहे पनि त्यसलाई अगाडि बढ्न पश्चिमाहरूले दिएका थिएनन् । त्यसको परिणामस्वरूप युक्रेनले आफ्नो २० प्रतिशतभन्दा बढी भूमि गुमाइसकेको छ ।
अब राजनीतिक र कूटनीतिक समाधान खोज्न अमेरिकाले युक्रेनलाई उत्प्रेरित गर्नुको विकल्प छैन ।
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ’ अभियानका नाममा भोलि (मंसिर ७ गते) मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गर्न लागेको कार्यक्रमलाई लिएर राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्...
कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाएपछि नेपाली समाजमा यसको पक्ष र विपक्षलाई लिएर बहस भइरहेको छ । कतिले टिकटकले सामाजिक सद्भाव र एकतामा खलल पुर्याएको भन्ने स...
यसअघि पनि थुप्रैपटक दशैंतिहार र छठपछि केही न केही राजनीतिक उथलपुथल भएको इतिहास छ । यसै मेसोमा यसपटक पनि चाडबाडपछि अहिलेको सत्ता समीकरण फेरिनेसम्मको चर्चा भएको थियो । तर, चाडबाड अगाडि आकलन गरिएजस्तो परिस्...
असल सामाजिक मूल्य मान्यता, सुसंस्कृत भाषा, सांस्कृतिक आचरणले मात्र सभ्य समाज निर्माण गर्न सक्छ । तर, पछिल्लो समय कथित लोकप्रियताका नाममा बग्रेल्ती देखिएका अभियन्ताबाट हुँदै आएका क्रियाकलापले हाम्रो सामाजिक मूल्य मा...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...