२६ असार २०८३, शुक्रबार
चुनावी तालमेल

गठबन्धनभित्र सिट बाँडफाँटमा माओवादी र एसको तर्क : कांग्रेसलाई बहुमत दिलाउने गरी होइन !

साउन २४, २०७९
गठबन्धनभित्र सिट बाँडफाँटमा माओवादी र एसको तर्क : कांग्रेसलाई बहुमत दिलाउने गरी होइन !

आगामी मंसिर ४ गते हुने आम चुनावमा तालमेल गर्ने निर्णय गरेको सत्तारूढ ५ दलीय गठबन्धनले सिट बाँडफाँटबारे औपचारिक छलफल थालेको छ । सिट बाँडफाँट गर्न गठबन्धनले कार्यदल बनाएको छ ।

चुनावी तालमेलको सैद्धान्तिक सहमति गरेको भए पनि दलहरूका लागि सिट बाँडफाँट सबैभन्दा पेचिलो विषय हो । सबैभन्दा रोचक कुरा त राजनीतिक सिद्धान्त र दर्शन नै नमिल्ने दलहरू चुनावमा गठबन्धन गरिरहेका छन् । 

२०७४ मंसिरको चुनावमा नेकपा एमाले र माओवादी केन्द्रले देशव्यापी गठबन्धन गरेका थिए । त्यसबेला उनीहरू पार्टी एकताको नारा लिएर चुनावमा गएका थिए । 

अहिले माओवादी केन्द्रले चुनावी सहयात्री दल कांग्रेसलाई रोजेको छ । माओवादीले सैद्धान्तिकरूपमा कांग्रेसलाई दक्षिणपन्थी पार्टीको रूपमा चित्रित गर्छ भने कांग्रेसले माओवादीलाई उग्रपन्थीको आरोप लगाउँछ । 

अबको आम चुनाव नेकपा एकीकृत समाजवादीको लागि नयाँ हो । पार्टी स्थापना भएको १ वर्ष पुग्दै गरेको नेकपा एकीकृत समाजवादी अघिल्लो वर्ष भदौमा एमालेबाट विभाजन भएर बनेको हो ।

माओवादी केन्द्र र एकीकृत समाजवादीका सबैजसो एजेण्डा समान छन् । एकीकृत समाजवादीले पनि गठबन्धनमा सहभागी भएर चुनावी प्रतिस्पर्धामा जाने सम्झौतामा हस्ताक्षर गरेको छ । 

आगामी चुनावमा सिट बाँडफाँटमा सबैभन्दा अप्ठ्यारो पनि माओवादी केन्द्र र एकीकृत समाजवादीकै कारण हुने कांग्रेस नेताहरू बताउँछन् ।

२०७४ सालको स्थानीय र आम चुनावदेखि गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावसम्म माओवादी केन्द्र एक्लै चुनावी प्रतिस्पर्धामा गएको छैन । त्यसो हुँदा माओवादी केन्द्रका आफ्नो मतदाताको आकार स्पष्ट नभएकाले के कुरालाई आधार मानेर सिट बाँडफाँट गर्ने भन्नेमा अन्योल रहेको कांग्रेस नेताहरू बताउँछन् । 

कांग्रेसका एक नेता भन्छन्, ‘माओवादी केन्द्रसँग अहिले भएको सिट उसले एक्लै चुनाव लडेर ल्याएको होइन । अघिल्लो चुनावमा माओवादीको जीतमा एमालेको साथ थियो । एकीकृत समाजवादीका लागि यो पहिलो चुनाव हो । उनीहरूलाई कुन सूत्रमा सिट दिने भन्ने कठिन विषय छ ।’

यस्तो अवस्थामा गठबन्धनका शीर्ष नेताहरू बसेर आ–आफ्नो पार्टीको हैसियत अनुसारको ‘विशेष निर्णय’ हुनुपर्ने कांग्रेसका नेताहरूको भनाइ छ । 

विगतको झलक

अघिल्लो चुनावमा एमाले र माओवादी केन्द्रले ६०–४० प्रतिशतको अनुपातमा सिट बाँडफाँट गरेका थिए । एमालेको भागमा ९९ सिट थियो । त्यसबाहेक हृदयेश त्रिपाठी, पशुपति दयाल मिश्र, वृजेशकुमार गुप्ता र ईश्वर दयाल मिश्रले सूर्य चिह्नबाट चुनाव लडेका थिए । त्यसो हुँदा सूर्य ध्वजाबाहक उम्मेदवारको संख्या १०३ थियो । 

सूर्य चिह्न लिएर उम्मेदवार भएकामध्ये ८० जनाले चुनाव जितेका थिए । जीतमा माओवादी केन्द्रको पनि मत समावेश भएको थियो । 

माओवादी केन्द्रले ५९ सिटमा उम्मेदवारी दिएको थियो । त्यसमध्ये माओवादीले ३६ स्थानमा मात्रै जितेको थियो । माओवादी केन्द्रका उम्मेदवारको जीतमा एमालेको पनि सहयोग थियो । त्यसबेला उनीहरूले जनमोर्चाका लागि १ सिट र राप्रपाका राजेन्द्र लिङ्देनका लागि १ सिट छाडेका थिए ।

एमालेले प्रत्यक्ष निर्वाचनमा जितेको ८० सिटमध्ये १३ सांसद एकीकृत समाजवादीतिर गएका छन् । समानुपातिकसहित अहिले एकीकृत समाजवादीमा २३ जना सांसद छन् । 

कांग्रेसले २३ सिट जितेको थियो । जनता समाजवादी पार्टी (जसपा) नेपालले १० सिट जितेको थियो । त्यसबेला अहिलेको जसपामा रहेको उपेन्द्र यादव समूह एक्लै निर्वाचनमा थियो । डा. बाबुराम भट्टराईको तत्कालीन नयाँ शक्ति पार्टीले १ सिट र जनमोर्चाले १ सिट जितेको थियो । 

सिट बाँड्ने सूत्र

गठबन्धनमा रहेकामध्ये कांग्रेस बाहेकका दलहरूका लागि सिट बाँडफाँटको पहिलो सुत्र हो – अघिल्लो चुनावमा जितेको स्थानमा आफूले उम्मेदवार उठाउने र एमालेले जितेका ६७ सिट (एकीकृत समाजवादीमा गएका १३ घटाउँदा बाँकी रहेको) बाँडफाँट गर्ने ।

त्यसो हुँदा कांग्रेसले २३, माओवादी केन्द्रले ३६, एकीकृत समाजवादीले १३ र जनता समाजवादीले १० सिट न्यूनतम रूपमा पाउँछन् । त्यसबाहेक, ६७ सीट बाँड्दा आएको सीट उनीहरूको भागमा पर्छ । यो सुत्रमा कांग्रेस सहमत छैन् ।
पहिलो सुत्रमा कांग्रेस सहमत नभए माओवादी र एकीकृत समाजवादीले अर्को तर्क अघि सारेका छन । उनीहरूले प्रत्यक्ष तर्फको १६५ निर्वाचन क्षेत्रमध्ये ५० प्रतिशत कांग्रेसले राखेर ५० प्रतिशत सिट गठबन्धनमा रहेका अन्य दललाई दिनुपर्ने माग गरेका छन् ।

माओवादी केन्द्रका एक केन्द्रीय सदस्य भन्छन्, ‘हामीले कांग्रेससँग गठबन्धन गर्ने भनेको कांग्रेसलाई बहुमत ल्याइदिनका लागि होइन् । सीट बाँडफाँड गर्दा सबैलाई वीन–वीन हुने गरी बाँड्नुपर्छ । कसको बढी जीत हुन्छ भन्ने कुरा नतिजामा भरपर्छ । पहिल्यै कुनै एउटा पार्टीलाई बहुमत दिने गरी सीट बाँडफाँट हुँदैन । हामी त्यसको विपक्षमा रहन्छौं ।’

एकीकृत समाजवादीका नेताको पनि उस्तै मत छ । एकीकृत समाजवादीका उपमहासचिव डा. गंगालाल तुलाधर भन्छन्, ‘गठबन्धनमा रहेका दलहरूका बीचमा सम्मानजनक ढंगले सिटको बाँडफाँट हुनुपर्छ । स्थानीय चुनावको बेला केही कमीकमजोरी भएका छन् । त्यतिबेला पनि हामीले हाम्रो विद्रोहको शक्ति, भावना र त्यागको सम्मान हुनुपर्छ भनेका थियौं । अहिले पनि त्यही भनिरहेका छौं ।’

सिट बाँडफाँटबारे छलफल गर्न कार्यदलभित्र छलफल भइरहेकाले अहिल्यै सिट संख्याको दाबी भई नसकेको एकीकृत समाजवादीका नेताहरू बताउँछन् । 

सत्तारूढ गठबन्धनभित्र वामपन्थी पार्टीहरू मिलेर उपगठबन्धन बनाउने प्रयास गरिरहेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणबाट फर्किएलगत्तै उपगठबन्धन बनाउने कामले गति लिने माओवादी केन्द्रका नेताहरू बताउँछन् ।

वामपन्थी गठबन्धन बनाउँदा कांग्रेससँग बार्गेनिङ शक्ति बढ्ने र धेरै सिटमा वामपन्थीहरूको उम्मेदवारी दिन सकिने सोचका साथ उनीहरू उपगठबन्धन अर्थात वामपन्थी मोर्चा बनाएर चुनावी तालमेलको प्रयास गरिरहेका छन् । गठबन्धन भित्रको मोर्चाको एउटै घोषणा पत्र बनाउनेबारे उनीहरू लगभग सहमति नजिक रहेका नेताहरू बताउँछन् ।

अर्कोतर्फ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनावबाट माओवादी केन्द्रलाई कांग्रेसपछिको दोस्रो ठूलो दल बनाउने कांग्रेसले सहयोग गर्नुपर्ने बताउने गरेका छन् । प्रचण्डले भनेअनुसार माओवादी केन्द्रलाई दोस्रो ठूलो दल बनाउन कांग्रेसले सहयोग गर्ने हो भने उम्मेदवारी दिँदा पनि कांग्रेसपछिको दोस्रो ठूलो सिट संख्या माओवादी केन्द्रलाई चाहिन्छ ।

प्रचण्डले आगामी चुनावमै वामपन्थी दलहरूमध्ये माओवादी केन्द्र पहिलो हुने सपना देखिरहेका छन् । केही हप्ताअघि प्रेस सेन्टरको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले भनेका थिए, ‘कम्तीमा पनि ‘लेफ्ट मुभमेन्ट’ पहिलो हुने पूरै सम्भावना छ । मैले नेपाली कांग्रेसका नेतासँग कुरा गर्दा भनेको छु, सायद पहिलो अहिले तपाईंहरू नै हुनुहुन्छ, त्यो देखियो, दोस्रो माओवादी केन्द्र हुने हो, त्यसमा सहयोग गर्ने हो भने सब चिज सहज जान्छ, नभए सहज जाँदैन ।’

प्रचण्ड पार्टीको साइज बनाउने कुरामा मात्रै होइन, त्यसकै आधारमा आगामी चुनावपछिको प्रधानमन्त्री बन्ने ध्याउन्नमा छन् । त्यसो हुँदा गठबन्धनभित्र माओवादी केन्द्र र एकीकृत समाजवादीलाई दिने सिटको निर्णय त्यति सजिलो भने देखिँदैन ।

salt training

कमेन्ट गर्नुहोस्