२९ असार २०८३, सोमबार
'बोयकट बलिउड'को चर्चा

भारतमा बलिउड बहिष्कार अभियानभित्रको राजनीति– किन निशानामा पर्दैछन् मेगा स्टारहरू ?

साउन २७, २०७९
भारतमा बलिउड बहिष्कार अभियानभित्रको राजनीति– किन निशानामा पर्दैछन् मेगा स्टारहरू ?

विगत केही वर्षयता हिन्दी सिनेमा जगत् अर्थात् बलिउडलाई बहिष्कार गर्नुपर्ने माग सामाजिक सञ्जालमा जोडतोडका साथ उठिरहेको छ । 

ट्विटरमा ह्याशट्याग बोयकटबलिउड तथा विभिन्न संस्करण प्रायः ट्रेन्डिङमा रहने गरेको छ । विशेषगरी बलिउडका ठूला स्टारहरूको चलचित्र सार्वजनिक हुने बेलामा यस्तो किसिमको ह्याशट्याग चलाउने गरिएको छ ।

बिहीवार सार्वजनिक भएको आमिर खानको फिल्म लाल सिंह चड्ढा र अक्षय कुमारको फिल्म रक्षा बन्धन दुवैले सामाजिक सञ्जालमा शस्त्रीकृत गरिएको बलिउडघृणाको शिकार बन्नुपरेको छ । यस्तो बहिष्कार अभियानले यी फिल्महरूको व्यापारलाई समेत असर पारेको छ । 

आमिरको फिल्मले पहिलो दिन कम्तीमा २० करोड भारुको व्यापार गर्ने अपेक्षा ट्रेड एनालिस्टहरूले गरेका थिए तर त्यसको आधा जति मात्र व्यापार गरेको बताइन्छ ।

अक्षयको फिल्मले झन् ७ करोड भारु जतिको मात्र व्यापार गरेको छ । बलिउडप्रति किन यस्तो किसिमको घृणा फैलिरहेको हो ? यसमा विभिन्न कारण छन् । 

पहिलो त, भारतमा चलिरहेको हिन्दूत्वको राजनीतिको कोपभाजनमा बलिउड परेको हो । बलिउड फिल्महरूले हिन्दू धर्मको अपमान गर्ने गरेको हिन्दूत्ववादीहरूको आरोप छ । 

आमिर खानको अघिल्लो फिल्म पीकेले हिन्दू धर्मका देवीदेवताको मानमर्दन गरेको अनि आफ्नो मुस्लिम धर्ममा रहेका तमाम विकृतिको कहिले पनि चर्चा नगरेको उनीहरूको गुनासो छ । अनि पछिल्लो फिल्म लाल सिंह चड्ढामा पाकिस्तानी आतंकवादीलाई भारतीय सैनिकले साथी तथा व्यापारिक साझेदार बनाएको कुरा अपाच्य भएको उनीहरूको भनाइ छ ।

बलिउडमा मुसलमानहरूको सशक्त उपस्थिति पहिलेदेखि नै रहिआएको छ । गत मे महिनामा प्रकाशित इरा भास्कर र रिचर्ड एलनको पुस्तक ‘बम्बे सिनेमाज इस्लामिकेट हिस्ट्रीज’ मा उर्दू पारसी नाटक, लखनउको गणिका नाच संस्कृति, गजल, कव्वाली लगायतका पर्सियाली–अरबी परम्पराबाट बलिउडका कथावाचन प्रणालीहरू प्रभावित भएको उल्लेख छ । 

बलिउडमा व्याप्त मुस्लिम प्रभावका कारण हिन्दूविरोधी प्रचारबाजी हुने गरेको हिन्दूत्ववादीहरू बताउँछन् । एक महिनाअघि आएको ‘जनहित में जारी’ नामक फिल्ममा शौचालयको कमोडलाई तिलक लगाउने दृश्यदेखि आउन लागेको फिल्म ‘ब्रह्मास्त्र’मा रणवीर कपूरको चरित्रले जुत्ता लगाएर मन्दिरभित्रको घन्टी बजाएको दृश्यसम्मलाई बलिउडको हिन्दूविरोधी एजेन्डाका रूपमा हेरिएको छ । 

बलिउडमा व्याप्त त्यही मुस्लिम प्रभावका कारण हिन्दूविरोधी प्रचारबाजी हुने गरेको हिन्दूत्ववादीहरू बताउँछन् । एक महिनाअघि आएको ‘जनहित में जारी’ नामक फिल्ममा शौचालयको कमोडलाई तिलक लगाउने दृश्यदेखि आउन लागेको फिल्म ‘ब्रह्मास्त्र’मा रणवीर कपूरको चरित्रले जुत्ता लगाएर मन्दिरभित्रको घन्टी बजाएको दृश्यसम्मलाई बलिउडको हिन्दूविरोधी एजेन्डाका रूपमा हेरिएको छ । 

त्यसो त बलिउडमा हिन्दूहरूकै बाहुल्य छ तर उनीहरू धर्मलाई सम्मान नगर्ने नाम मात्रका हिन्दू (हिन्दुज इन नेम ओन्ली) भएको आरोप लगाइन्छ । त्यससँगै बलिउडको वामपन्थी–उदारवादी धारले हिन्दूहरूको मजाक उडाउनका लागि कुनै मौका नछोड्ने गरेको हिन्दूत्ववादीहरू आरोप लगाउँछन् ।

उनीहरू दक्षिण भारतीय फिल्म कलाकारसँग बलिउड कलाकारको तुलना गर्दै बलिउडको आलोचना गर्ने गर्छन् । दक्षिण भारतीयहरूले धर्मको उच्च सम्मान गर्दै रीतिरिवाज र संस्कृतिलाई गर्वका साथ अपनाउने गरेको तर बलिउड कलाकारहरू धर्मलाई मजाकमा उडाउन मन पराउने उनीहरूको तर्क छ । 

एसएस राजामौलीको ब्लकबस्टर फिल्म ‘आरआरआर’को सफलतापछि त्यसका प्रमुख कलाकारहरू राम चरण र जुनियर एनटीआरले हिन्दू व्रत पालन गरेको यहाँ स्मरणीय छ । 

राम चरणले ४१ दिनसम्म अयप्पा दीक्षा व्रत लिएका थिए । कालो वस्त्र लगाएर निधारमा तिलकका साथ उनी व्रत बसेका थिए । त्यस्तै जुनियर एनटीआरले गेरुवा वस्त्र लगाएर आञ्जनेय माला (हनुमान दीक्षा) व्रत ४१ दिनसम्म लिएका थिए । हिन्दू परम्परा र संस्कृतिको अनुशीलन गरेको भनी उत्तर भारतीयहरूले समेत उनीहरूको प्रशंसा गरेका छन् । 

हिन्दूत्ववादीहरूलाई चित्त नबुझ्ने गरी विगत तीन दशकमा बलिउडमा राज गर्ने सुपरस्टारहरू मुसलमान हुन् । उदारीकरणको युग शुरू भएपछि भारतमा देखिएको आर्थिक प्रगति तथा विश्वव्यापीकरणलाई प्रतिबिम्बित गर्ने शाहरुख, सलमान र आमिरका फिल्महरू नै थिए । 

अहिले खानहरूको प्रभाव क्रमशः अस्ताउँदै गएको बेलामा उनीहरूमाथिको आक्रमण पनि बढिरहेको हो । उनीहरूको धार्मिक पहिचानलाई राष्ट्रवादसँग जोडेर समेत प्रहार हुन थालेको देखिन्छ । शाहरुख र आमिरले भारतमा बस्न डर लाग्न थालेको भन्ने किसिमको बयान दिएपछि उनीहरूको देशभक्तिमा प्रश्न उठाएर घृणाका सन्देशहरू तीव्रताका साथ प्रवाहित गरिएको थियो । 

घृणाका सन्देश फैलाउने क्रममा बग्रेल्ती खुलेका यूट्युब च्यानलहरूको पनि ठूलो भूमिका छ । ती च्यानलहरूमा बलिउड कलाकारका यौन जीवन तथा लागूऔषध दुर्व्यसनका विषयमा निकै सनसनीखेज सामग्रीहरू पस्किइने गरेको छ । चरित्रहत्या गर्ने यस किसिमका भिडियोहरूका बारेमा बीबीसीले तयार पारेको सामग्री दर्शनीय छ ।  

घृणामा आधारित यस बहिष्कार अभियानमा बलिउड घराना भन्दा फरक पृष्ठभूमिका कलाकारका समर्थकहरू समेत जोडिएका छन् । विशेषगरी दुई वर्षअघि सुशान्त सिंह राजपूतको मृत्युपछि बलिउड बहिष्कारको अभियानले गति पाएको हो । बलिउडको भाइभतिजावादी संस्कृतिले सुशान्तलाई सधैं खेदेको र अघि बढ्न नदिएको गुनासो उनका समर्थकहरू लगाउने गर्छन् । 

त्यसैले बलिउड घरानाका कलाकारहरूको फिल्म सार्वजनिक भएपिच्छे सुशान्तका समर्थकहरूले बोयकट बलिउड अभियान चलाउने गरेका छन् । नेपोकिड्स (बलिउडमा स्थापित कलाकारका छोराछोरी) को फिल्मलाई फ्लप बनाउनुपर्ने आग्रह गर्दै उनीहरूले यस्तो अभियान चलाउने गरेका हुन् । 

यस्तो अभियान चलेपछि करीना कपूरलाई एक पत्रकारले प्रश्न सोध्दा उनले ‘बलिउडमा नेपोटिजमको समस्या छ जस्तो लाग्छ भने हाम्रो फिल्म नहेरे भैगो नि, कसले कर गरेको छ’ भनी ठाडो जवाफ दिइन् । त्यही जवाफलाई आधार बनाएर करीनाका पछिल्ला फिल्महरूलाई बहिष्कार गर्ने सिलसिला चलिरहेको छ । 

तर हिन्दूहरूले यस्तो किसिमको बहिष्कार गर्नुको तुक नरहेको स्वराज्य पत्रिकामा तुषार गुप्ता तर्क गर्छन् । उनका अनुसार, बलिउडलाई बहिष्कार गर्नुभन्दा आफ्नो बनाउनु हिन्दूहरूका लागि उचित विकल्प हो । 

दोस्रो विश्वयुद्धपछि युरोपको पुनर्निर्माणमा अमेरिकाले गरेको सहयोगका विषयमा बनेका लगभग २५० वटा फिल्ममा अमेरिकी लगानीका कारण अमेरिकाको सफ्ट पावर बढेको उदाहरण उनी पेश गर्छन् । 

अहिले भारतको अर्थतन्त्रमा वृद्धि भइरहेको बेलामा बलिउडलाई बन्द गराउने नभई हिन्दूसमर्थक फिल्म बनाउन जोड दिनुपर्ने उनको भनाइ छ । तान्हाजी र द कश्मीर फाइल्सको सफलताले त्यसको पथप्रदर्शन गरिसकेको गुप्ता उल्लेख गर्छन् । 

त्यसो त बलिउड आफैंले पनि आफ्नोविरुद्ध घृणाको वातावरण बनाउने काम गरिरहेको भन्न सकिन्छ । मौलिक कथाको अभावमा बलिउडले हलिउड, अन्य विदेशी सिनेमा र दक्षिण भारतीय वा अन्य क्षेत्रीय सिनेमाको रिमेकमा बढी जोड दिन थालेको छ । 

त्यसैले कतिपय बलिउडविरोधी अभियन्ताले गिल्ला गर्दै यसलाई कपीउडको संज्ञा समेत दिएका छन् । अहिले त दक्षिण भारतीय फिल्मले निकै राम्रो व्यापार गर्न थालेकाले बलिउडमाथि चुनौती तेर्सिएको छ । बलिउडले अर्ग्यानिक विषयवस्तु प्रस्तुत गर्न नसकिरहेको अवस्थामा झन् धर्म तथा राष्ट्रभक्तिको कसीमा राखेर त्यसको तीव्र आलोचना भइरहेको हो । 

तर जतिसुकै बहिष्कारको नारा लागे पनि वा पतनतर्फ उन्मुख भए पनि बलिउडको सफ्ट पावर अझै कायम छ । यसको शक्तिको महत्त्व मोदी सरकारले बुझेको छ । त्यही बुझाइका साथ यसलाई नियन्त्रणमा लिन खोजेको पत्रकार कावेरी बामजई बताउँछिन् । 

हिन्दी सिनेमाको हिन्दूकरणकै अभीष्टका साथ उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आफ्नो राज्यमा फिल्म नगरी निर्माण गर्न खोजिरहेका छन् । ग्रेटर नोइडाको गौतमबुद्ध नगरमा बनाउन खोजिएको फिल्म नगरी १६ सय बिघाभन्दा बढी क्षेत्रमा फैलिएको हुनेछ । यसको लागत ६ हजार करोड हुने बताइन्छ । यसमा हिन्दू धर्मलाई सम्मान गर्ने कलाकार तथा निर्माता निर्देशकलाई प्रोत्साहन गरिनेछ । 

उनका अनुसार, सरकारले फिल्म उद्योगका प्रभावशाली हिन्दूहरूलाई हिन्दू राज्य निर्माणका लागि माहोल तयार पार्न लगाइरहेको छ । त्यस राज्यको आधारशिला हिन्दू धर्मप्रतिको आस्था र देशभक्ति हुनेछ ।

अजय देवगण, अक्षय कुमार, कंगना रनावत र विवेक अग्निहोत्री त्यस कार्यमा बढी अग्रसर देखिएका छन् । दी एक्सिडेन्टल प्राइम मिनिस्टर, उरी : द सर्जिकल स्ट्राइक, सूर्यवंशी, सम्राट् पृथ्वीराज चौहान लगायतका फिल्महरू त्यही कडीमा बनेका हुन् ।

हिन्दी सिनेमाको हिन्दूकरणकै अभीष्टका साथ उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आफ्नो राज्यमा फिल्म नगरी निर्माण गर्न खोजिरहेका छन् । ग्रेटर नोइडाको गौतमबुद्ध नगरमा बनाउन खोजिएको फिल्म नगरी १६ सय बिघाभन्दा बढी क्षेत्रमा फैलिएको हुनेछ । यसको लागत ६ हजार करोड हुने बताइन्छ । यसमा हिन्दू धर्मलाई सम्मान गर्ने कलाकार तथा निर्माता निर्देशकलाई प्रोत्साहन गरिनेछ । 

नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि निर्वाचित भएमा बलिउडमाथिको आक्रमण थप बढ्ने आकलन गर्न सकिन्छ । पोहोर साल शाहरुख खानका छोरा आर्यन खान लागूऔषध मुद्दामा फस्दा उनीहरूमाथि गरिएको शाब्दिक आक्रमणले त्यसको झलक दिइसकेको छ । 

त्यससँगै बलिउडको हिन्दूकरण अभियानले पनि तीव्रता पाउनेछ । हिन्दू इतिहासलाई गौरवका साथ प्रस्तुत गर्ने फिलमकर्मीहरूलाई प्रोत्साहन गरिनेछ । तर कलामा नभई एजेन्डामा जोड दिइएमा ती फिल्महरूको हविगत अक्षय कुमारको ‘सम्राट् पृथ्वीराज चौहान’को जस्तो हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्