
कैलालीका धेरै पालिका साक्षर पालिका घोषणा भइसकेका छन् । पालिका साक्षर घोषणा भए पनि पालिकाभित्र लेखपढ गर्न नजान्नेको पढ्न, लेख्न सिक्ने धोको पूरा भएको छैन ।
कैलालीको जानकी गाउँपालिका पनि साक्षर घोषणा भइसकेको छ । करीब १५–५९ वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा धेरै नागरिक साक्षर भएको तथ्यांकपछि पालिकालाई साक्षर घोषणा गरिएको हो तर पालिकामा केहीले पढ्न, लेख्न नजान्ने भएकाले सबैलाई साक्षर बनाउन २ नम्बर वडामा अहिले साक्षरता कक्षा सञ्चालन भइरहेको छ ।
विगतमा पढ्न नपाएर साक्षर हुन नसकेकी २ नम्बर वडाको खैरेहनीकी निर्मला जोशी अहिले निकै मेहनतका साथ साक्षरता कक्षामा सहभागी छिन् । ‘पहिला पढेको छैन, अहिले नाम लेख्न जान्न सकिन्छ कि भनेर पढ्न थालेकी हुँ,’ निर्मलाले भनिन्, ‘आफ्नो नाम लेख्ने, सामान्य अरुले लेखेको पढ्न सक्ने भए पुग्छ ।’
उनले पहिलेको जमाना छोरी पढाउने नभएकाले पढ्न नपाएको बताउँदै भनिन्, ‘आजभोलि बैंक जानुपर्छ । समूहमा जानुपर्छ । पढ्न नजान्दा समस्या भएको छ त्यसैले पढ्न सिक्ने जाँगर पलाएको छ ।’
निर्मलाजस्तै अन्य महिलालाई पनि पढ्ने उमेरमा घाँस, दाउरा, गोठालो बनेर आमाबुवालाई सघाएर जीवन बितेकामा पछुतो लाग्छ । पढ्ने उमेरमा पढ्नुपर्छ भन्ने थाहा नपाएका, अभिभावकले विद्यालय देख्ने वातावरण नबनाइदिएका यी महिला अहिले पनि सकिन्छ भनी पढ्न थालेका हुन् । उमेर छिप्पिदै जाँदा सावा अक्षर चिन्ने रहर जागेको निर्मलाको भनाइ छ ।
४७ वर्षीया निर्मला गाउँघरमा हुने बैठक, समूहमा जाँदा आफ्नो नाम आफैं लेख्ने धोको चाँडै पूरा गर्ने आशामा छिन् । जानकीकै वासु जोशी पनि अहिले ४४ वर्षकी भइन् । उनलाई अहिले किताबसँग खेल्ने, रमाउने रहर छ ।
‘पहाडमा जन्मियौं, बाबाले पढ्न जा भने पनि गइएन । घाँस मात्र काटियो,’ वासु भन्छिन्, ‘अहिले रमाइलोसँगै सिक्न थालेकी छु । केही त सिकौला ।’
वासु नातिनातिना स्याहार गर्ने बेलामा साँझ बिहान घरको काममा सघाएर दिउँसो फुर्सदको समय निकालेर पढ्न आउँछिन् । उनीजस्तै साक्षरता कक्षामा अहिले ३२ महिलाले नियमित कक्षा लिइरहेका छन् । कक्षामा सहभागी महिला सबै पाको उमेरका भएकाले पढ्न अप्ठ्यारो नलागेको बताउँछन् ।
निरक्षरलाई साक्षर बनाउनका लागि एक गैरसरकारी संस्थाले गाउँपालिकामा ९ महिने साक्षरता कक्षा सञ्चालन गरेको हो । कक्षा सञ्चालनका लागि आवश्यक पुस्तक समेत सबै उपलब्ध गराउने गरेको छ । गाउँघरमा निरक्षर रहेका महिलालाई साक्षर बनाई सहयोग गर्ने गरी अहिले कक्षा सञ्चालन भइरहेको शिक्षिका भागरथी बमले बताए ।
‘नपढेका दिदीबहिनी धेरै छन् । हस्ताक्षर गर्नसमेत जान्दैनन्,’ शिक्षिका बम भन्छन्, ‘महिलाले ठूला अक्षर मात्र चिने पनि सजिलो हुन्छ । हामीले उहाँहरूलाई पढ्न सिकाउनुका साथै सामाजिक काममा अग्रसर हुन समेत हौसला दिने गरेका छौं ।’
कैलालीका जानकी, जोशीपुर गाउँपालिकासहित टीकापुर, लम्कीचुहा लगायतका नगरपालिका साक्षर घोषणा भइसकेका छन् । – दुर्गा देवकोटा/रासस