असोज १६, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अशिम शाहले क्रिकेट खेलाडीलाई दिने भनिएको पुरस्कार रकम नदिएको भन्दै सरकारको आलोचना गरेका छन् । मंगलवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद शाहले सरकारले खेला...
साउन ३१, २०७९
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाको प्रतिनिधित्व बढाउन महिला नेत्रीहरूले कसरत गरिरहेका छन् ।
अघिल्लोपटकको निर्वाचनमा ६ जना महिला प्रत्यक्षतर्फबाट प्रतिनिधिसभामा आएका थिए ।
प्रत्यक्षतर्फ पनि महिलालाई ३३ प्रति सिट सुनिश्चित गर्न भन्दै कार्यकाल सकिन लागेको प्रतिनिधिसभा बैठकमा दुईवटा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल भयो ।
सत्ता पक्षका तर्फबाट माओवादी सांसद अमृता थापा प्रस्तावक रहेको र प्रतिपक्षका तर्फबाट बिन्दा पाण्डे प्रस्तावक रहेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल भएको थियो ।
छलफलमा सांसदहरूले महिलाका लागि निश्चित सीट छुट्ट्याएर ती क्षेत्रमा महिला–महिलाबीच प्रतिस्पर्धा गराउन माग गरे ।
प्रत्यक्षमा टिकट पाउनुपर्ने माग गरेपनि कतिपय महिला नेत्रीहरू सकेसम्म जोखिम नमोली समानुपातिकतर्फ नै सीट सुरक्षित गर्ने लबिङमा लागेका छन् ।
टिकट पाउनै महाभारत रहेको र टिकट पाएपनि चुनाव जित्न कठिन रहेकाले दलका महिला नेत्रीहरू चुनाव लड्न हच्किएको नेताहरू बताउँछन् ।
अहिले प्रतिनिधिसभामा रहेका महिला सांसद, पार्टीको पदाधिकारीदेखि केन्द्रीय समितिसम्मका महिला नेत्रीहरू सांसद पद सुरक्षित गर्नका लागि लागिपरेका छन् ।
प्रदेशको सीट सुरक्षित गर्नका लागि पनि कतिपयले प्रतिनिधिसभामा उठ्ने बताइरहेका छन् ।
जो नेपाली कांग्रेसबाट प्रतिस्पर्धा गर्न तम्सिएका छन्
सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसमा कम्तिमा एक दर्जन महिला नेत्रीहरू प्रतिनिधिसभामा प्रत्यक्ष चुनाव लड्नका लागि प्रयास गरिरहेका छन् ।
स्थानीय तह निर्वाचनमा कांग्रेसको पक्षमा लहर देखिएपछि महिलाहरूले प्रत्यक्षमा लड्ने हिम्मत जुटाएका हुन् ।
गठबन्धनमा सीट बाँडफाँड गर्दा १०० सीट प्राप्त गरेमा प्रत्यक्षतर्फ कम्तिमा १० प्रतिशत सीटमा महिलालाई उठाउन सकिने कांग्रेस नेताहरू बताउँछन् ।
गठबन्धन गर्दा कांग्रेसले ८० को हाराहारीमा सीट पाउने सम्भावना छ ।
महालक्ष्मी उपाध्याय डीना
नेपाली कांग्रेसको पदाधिकारीमा एक मात्र महिला रहेकी महालक्ष्मी उपाध्याय ‘डीना’ मकवानुरबाट चुनाव लड्ने मूडमा छिन् ।
२०७४ सालको चुनावमा डीना तत्कालीन वाम गठबन्धनका एमाले उम्मेदवार विरोध खतिवडासँग पराजित भएकी थिइन् । त्यो बेला खतिवडाले ४४ हजार ७ सय ४४ मत ल्याउँदा डीनाले ३२ हजार ६ सय ५८ मत पाएकी थिइन् ।
भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा मकवानपुर २ मा एमालेको मत धेरै छ । तर, गठबन्धनको भोट जोड्दा एमालेको भन्दा धेरै मत हुन आउँछ । यो क्षेत्रमा एमालेले ३६ हजार ८ सय ६६ मत पाउँदा कांग्रेसले ३४ हजार २ सय ४० र माओवादी केन्द्रले २२ हजार ६ सय ७ मत प्राप्त गरेका छन् ।
वाम तालमेल हुँदा मकवानपुर २ मा एसका नेता खतिवडाले दाबी गरिरहेका छन् । मकवानपुर १ मा कांग्रेस प्रदेश सभापति इन्द्र बानियाँले उठ्ने तयारी गरेका छन् ।
यो अवस्थामा डीना समानुपातिकमा बस्नुपर्ने अवस्था आउन सक्छ । पदाधिकारी भएकाले समानुपातिकको अग्रपंक्तिमा रहँदा उनका लागि सीट सुरक्षित हुन्छ ।
डा. आरजू देउवा
प्रधानमन्त्री शेरबहादुर देउवापत्नी समेत रहेकी कांग्रेस केन्द्रीय सदस्य डा. आरजू देउवा यसपटक पनि प्रत्यक्ष चुनाव लड्न कोशिश गरिरहेकी छिन् ।
माइती जिल्ला बर्दियादेखि, कैलाली र कञ्चनपुरसम्मबाट आरजूलाई चुनाव लड्नका लागि प्रस्ताव आएको छ । २०७४ सालमा कैलाली– ५ बाट चुनाव लडेकी आरजू यसपटक पनि सोही क्षेत्रबाट चुनाव लड्ने गृहकार्य गरिरहेकी छिन् ।
चुनावपछिको पाँच वर्षमा कुनै कालखण्डमा प्रधानमन्त्री बन्ने भनेर ‘प्रोजेक्सन’ गरिएकी आरजूले मिति घोषणा हुनुअगावै देखि चुनावको तयारी गरेकी थिइन् । २०७४ सालमा एमालेका नारदमुनि रानासँग आरजू पराजित भएकी थिइन् ।
आरजूले ताकेको कैलाली ५ मा भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनको नतिजामा कांग्रेस एक्लै राम्रो पोजिसनमा छ । माओवादीको पनि राम्रो भोट छ ।
कांग्रेसले २२ हजार ७ सय ७९ मत ल्याउँदा एमालेले १७ हजार ४ सय २० मत पाएको थियो । माओवादीले ८ हजार १ सय मत पाउँदा नेकपा एसले २ हजार मत पाएको छ ।
गठबन्धनका सबै दलको भोट जोड्दा यो क्षेत्रमा झण्डै दोब्बर मतको फरक छ ।
पुष्पा भुसाल
प्रतिनिधिसभाको कार्यकाल सकिने बेलामा उपसभामुख निर्वाचित पुष्पा भुसाल पनि टिकट पाएमा प्रत्यक्षतर्फ नै चुनाव लड्ने मूडमा छिन् ।
२०७४ सालमा समानुपातिबाट सांसद बनेकी भुसाल फेरि समानुपातिकमा बस्नुभन्दा चुनाव लड्ने मूडमा रहेकी हुन् ।
२०७० सालको संविधानसभा निर्वाचनमा उनी अर्घाखाँचीमा पराजित भएकी थिइन् ।
टिकट पाएमा उनले एमालेका सचिव टोपबहादुर रायमाझीसँग प्रतिष्पर्धा गर्नुपर्नेछ ।
भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेले अर्घाखाँचीमा कांग्रेसभन्दा झण्डै ११ हजार बढी मत पाएको छ । एमालेले ४८ हजार २ सय ६० मत पाउँदा कांग्रेसले ३७ हजार ९ सय २५ मत पाएको थियो ।
गठबन्धनका अन्य दल माओवादी केन्द्र, जनमोर्चा र नेकपा एस समेतको मत जोड्दा ५३ हजार ७ सय जति पुग्छ । अर्घाखाँची कांग्रेसको भागमा पर्यो भने कांग्रेसभित्रै भुसालले अन्य नेताहरूसँग टिकटका लागि प्रतिस्पर्धा गर्नुपर्नेछ ।
डा. डिला संग्रौला पन्त
गत मंसिरमा सम्पन्न कांग्रेस महाधिवेशनमा डिला संग्रौलाले महिलातर्फ सर्वाधिक मत प्राप्त गरेकी थिइन् । प्रतिनिधिसभा सदस्य रहेकी संग्रौला विराटनगर महानगरपालिकाको मेयर उठ्न चाहेकी थिइन् । टिकट पाएमा उनी मोरङबाट चुनाव लड्ने मूडमा छिन् ।
‘समानुपातिक निर्वाचन प्रणाली भनेकै महिलाका लागि र प्रत्यक्ष पुरुषहरूको लागि हो भन्ने गलत मान्यता स्थापित गर्न खोजिँदैछ,’ संग्रौलाले लोकान्तरसँग भनिन्, ‘म प्रत्यक्षमै चुनाव लड्ने हो, अहिले पनि फिल्डमा खटिएकी छु ।’ मोरङ २ या ६ बाट चुनाव लड्ने योजना रहेको उनले बताइन् ।
चित्रलेखा यादव
नेपाली कांग्रेस संसदीय दलको मुख्य सचेतक समेत रहेकी चित्रलेखा यादव २०५६ सालमा सिरहा– २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । सो कार्यकालमा उनी उपसभामुख बनेकी थिइन् ।
२०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी समानुपातिक कोटाबाट सांसद बनेकी हुन् ।
समानुपातिक सूचीको मापदण्ड बनाउँदा लगातार दुईपटक समानुपातिकमा बसेकोलाई नराख्ने निर्णय पार्टीले गर्यो भने उनी प्रत्यक्षमा जानुपर्ने हुन सक्छ । तर कांग्रेसले त्यस्तो निर्णय गर्ने सम्भावना कम छ ।
सुजाता कोइराला
कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाताले पनि प्रत्यक्षतर्फ चुनाव लड्ने संकेत गरेकी छिन् ।
पटक–पटक समानुपातिक सांसद बनेकी सुजाताले मोरङ २ बाट चुनाव लड्ने आकांक्षा देखाएको कांग्रेस स्रोत बताउँछ । यो क्षेत्रबाट विगतमा मीनेन्द्र रिजालले चुनाव जितेका थिए ।
यसपटक पनि रिजालले यही क्षेत्रबाट चुनाव लड्ने बताएका छन् । २०७४ सालमा रिजालले ३५ हजार ८ सय १९ मत पाउँदा एमालेका ऋषिकेश पोखरेलले ३४ हजार १४ मत पाएका थिए ।
सीता गुरुङ
२०७४ सालको चुनावमा तेह्रथुमबाट पराजित सीता गुरुङ यसपटक पनि चुनाव लड्ने मूडमा छिन् । अघिल्लोपटक उनी वाम गठबन्धनका एमाले उम्मेदवार भवानी खापुङसँग पराजित भएकी थिइन् ।
खापुङले २१ हजार ३ सय ३५ मत पाउँदा सीताले १९ हजार ३ सय १४ मत प्राप्त गरेकी थिइन् । चुनाव हारेपछि सीता जिल्लामै बसेर राजनीति गरिरहेकी छिन् । अहिले पनि कांग्रेसका तर्फबाट उनी प्रमुख दाबेदार हुन् ।
स्थानीय तह निर्वाचनमा तेह्रथुममा एमालेले २२ हजार ३ सय १२, नेपाली कांग्रेसले २१ हजार ९ सय ११ र माओवादीले ६ सय ८६ मत प्राप्त गरेको थियो । मन्त्री खापुङको पार्टी एसले मात्र ५ सय ४६ मत प्राप्त गरेको छ ।
कांग्रेसका अन्य महिला नेत्रीहरू
२०७४ सालको चुनावमा काठमाडौं– ३ मा प्रतिस्पर्धा गरेकी अम्बिका बस्नेत पनि टिकट पाएमा चुनाव लड्ने पक्षमा छिन् । गत वर्ष राष्ट्रियसभाको कार्यकाल सकिएकी सरिता प्रसाईं झापाबाट चुनाव लड्ने मूडमा छिन् ।
कांग्रेसका पूर्व महामन्त्री स्व. खुमबहादुर खड्कापत्नी शिला शर्मा खड्का, महिला बालबालिका मन्त्री समेत रहेकी उमा रेग्मी र सांसद लक्ष्मी परियार पनि टिकट पाएमा चुनाव लड्ने पक्षमा छन् । यी तनैजना अहिले प्रतिनिधिसभामा समानुपातिक सांसद हुन ।
विगतमा काठमाडौं– २ बाट चुनाव लडेकी प्रतिमा गौतम, अहिले संसद्मा रहेकी हुम्लाकी रंगमती शाही तथा संविधानसभा सदस्य उषा गुरुङ पनि टिकट पाएमा चुनाव लड्ने तयारीमा छन् ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले झापा– १ मा चुनाव नलडे कांग्रेसको वैकल्पिक उम्मेदवार उषा गुरुङ हुन् ।
एमालेमा प्रत्यक्ष चुनाव लड्न चाहने धेरै
नेपाली कांग्रेसको तुलनामा नेकपा एमालेमा प्रत्यक्ष चुनाव लड्न चाहने महिलाको संख्या धेरै छ ।
गठबन्धनमा सीट बाँडफाँडमा झमेला हुने भएपनि एमालेले राप्रपा, राप्रपा नेपाल लगायत साना दललाई केही सीट छाड्दा पनि प्रतिनिधि सभाका १६५ मध्ये १५० हाराहारीका सीटमा उम्मेदवारी दिन पाउने छ । यसो हुँदा एमालेका धेरै महिला प्रत्यक्षमा आउन पाउने छन् ।
अष्टलक्ष्मी शाक्य
२०७४ सालको चुनावमा मुख्यमन्त्री बन्न भन्दै प्रदेशमा चुनाव लडेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य यसपटक प्रतिनिधिसभामा चुनाव लड्ने सम्भावना छ ।
पार्टीभित्रको शक्ति सन्तुलनका कारण शाक्य छोटो समय बागमती प्रदेशको मुख्यमन्त्री बन्न सफल भइन् । २०५६ सालमा काठमाडौं– ६ बाट प्रत्यक्ष चुनाव लडेकी शाक्यले काठमाडौं– ८ बाट उम्मेदवारी दिने सम्भावना छ ।
काठमाडौं ८ मा यसअघि एमालेबाट जीवनराम श्रेष्ठ लड्दा शाक्य प्रदेशबाट चुनाव लडेकी थिइन् । श्रेष्ठले १३ हजार ३ सय ७ मत पाउँदा कांग्रेसका नवीन्द्रराज जोशीले १२ हजार ९ सय ५३ मत पाएका थिए ।
स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा कांग्रेसले १० हजार ८ सय ७२, एमालेले ९ हजार २ सय ५३ र नेकपा एसले ५ हजार १ सय ४२ मत प्राप्त गरेका छन् ।
पद्मा अर्याल
२०७४ सालको चुनावमा स्याङ्जा– २ बाट नेपाली कांग्रेसका प्रभावशाली नेता गोपालमान श्रेष्ठलाई पराजित गरेर पद्मा एमालेको राजनीतिमा उदाएकी थिइन् ।
पहिलो संविधानसभामा समानुपातिक सांसद बनेर आएकी पद्माले २०७४ सालमा ‘हेभी वेट’ उम्मेदवारलाई पराजित गरेपछि सरकारमा सहभागी भइन् ।
अर्यालले ३५ हजार १ सय ४२ मत ल्याउँदा गोपालमानले ३१ हजार ४ सय ३६ मत पाएका थिए ।
भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले ३६ हजार ८ सय ६, नेकपा एमालेले ३४ हजार ८ सय ९ र माओवादीले १ हजार २ सय ४३ मत प्राप्त गरेका छन् ।
स्वास्थ्य राज्यमन्त्रीबाट सरकारमा डेब्यु गरेकी अर्यालले भूमि व्यवस्था र कृषि मन्त्रालयको नेतृत्व गरिन् । महाधिवेशनबाट एमाले सचिव बनेकी अर्याल फेरि पनि सोही क्षेत्रबाट प्रत्यक्ष चुनाव लड्ने तयारीमा छिन् ।
पवित्रा निरौला खरेल
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ झापा– २ बाट निर्वाचित खरेल यसपटक पनि आकांक्षी हुन् । टिकट वितरण गर्दा यसअघि चुनाव जितेको मापदण्ड राखेमा उनले स्वतः टिकट पाउने छिन् । तर सो क्षेत्रबाट अग्नि खरेल चुनाव लड्न खोजिरहेका छन् । केपी ओली सरकार कायम रहेकै बेला महान्यायाधिवक्ताबाट राजीनामा गरेर खरेल चुनावको तयारीमा लागेका थिए ।
अग्निले टिकट पाए भने पवित्रा समानुपातिकमा बस्नुपर्नेछ । गठबन्धनसँग भिड्न झापामा एमालेलाई राप्रपाको साथ अनिवार्य छ । सबै निर्वाचन क्षेत्रमा निर्णायक मत लिएर बसेको राप्रपाले झापामा यसपटक २ सीटमा दाबी गर्ने अडान लिएको छ । झापा ३ का अतिरिक्त राप्रपाले अर्को कुनै सीटमा दाबी गर्ने सम्भावना छ ।
विद्या भट्टराई
२०७६ सालमा भएको उपनिर्वाचनबाट प्रतिनिधिसभा निर्वाचित भएकी विद्या भट्टराई यसपटक पनि कास्की– २ बाट चुनाव लड्न खोज्दैछिन् ।
प्रतिनिधिसभाको कार्यकाल सकिनै लाग्दा भएको उपसभामुखको निर्वाचनमा विद्यालाई एमालेले उम्मेदवार बनाएको थियो । स्व. रवीन्द्र अधिकारीको सेन्टिमेन्टका कारण पनि कास्कीमा विद्यालाई उठाउँदा नै चुनाव जितिने एमालेको विश्लेषण छ । २०७४ सालमा कास्की– २ बाट रवीन्द्रले चुनाव जितेका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रहेको समयमा हेलिकोप्टर दुर्घटनामा रवीन्द्रको निधन भएपछिको उपनिर्वाचनमा विद्या विजयी भएकी थिइन् । स्थानीय तह निर्वाचनमा कास्की २ मा एमालेको पोजिसन राम्रो छ ।
यो क्षेत्रमा एमालेले २१ हजार १६४ मत पाउँदा कांग्रेसले १९ हजार ८ मत पाएको छ ।
राप्रपाले २ हजार ७९ मत पाउँदा नेकपा एसले २ हजार ५३ र माओवादीले १ हजार १९८ मत पाएका छन् ।
भगवती चौधरी
पछिल्ला दुई निर्वाचनमा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई कडा टक्कर दिएकी भगवती चौधरीले फेरि पनि सुनसरी ३ बाट टिकट पाउने सम्भावना छ । २०७४ सालको चुनावमा गच्छदारले ३८ हजार ९ सय ७२ मत पाउँदा चौधरीले ३८ हजार ६ सय ५१ मत पाएकी थिइन् ।
यसपटकको स्थानीय तह निर्वाचनमा एमालेले ३५ हजार भोट पाउँदा कांग्रेसले ३३ हजार ल्याएको छ । जसपाले ५ हजार ५ सय र माओवादीले ३ हजार ८ सय मत पाएको छ ।
उषाकला राई
कोदोको घरेलु रक्सीलाई ब्रान्डिङ गरेर विदेशी रक्सी आयातमा रोक लगाउनुपर्ने अभियान शुरू गरेर चर्चामा रहेकी एमाले नेत्री उषाकला राई अहिले १ नम्बर प्रदेश सभाको सदस्य छिन् । पहिलो संविधानसभामा महिला सभासद समूहकी अध्यक्ष समेत रहेकी राई यसअघि प्रदेश १ सरकारमा सामाजिक विकास मन्त्री थिइन् ।
एमाले संसदीय दलको मुख्य सचेतक रहेका विशाल भट्टराई र उषाकलाको निर्वाचन क्षेत्र खोटाङ हो । २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा चुनावमा भट्टराई प्रत्यक्ष निर्वाचित भएका थिए ।
भट्टराईलाई प्रदेश कमिटीको अध्यक्ष हुँदै प्रदेश १ को मुख्यमन्त्री बनाउन भन्दै एमालेको महाधिवेशनमा शुरूमा केन्द्रीय समितिमा राखिएको थिएन ।
टिकट वितरण गर्ने मापदण्डमा यसअघि चुनाव जितेकाले प्राथमिकता पाए भने विशालले नै टिकट पाउने छन् । जित्ने सम्भावना भएको क्षेत्रमा महिला उम्मेदवार उठाउनुपर्ने भएकाले प्रत्यक्ष चुनाव लड्ने लिस्टमा उनी पर्ने एमालेका नेताहरू बताउँछन् ।
‘राज्यका हरेक निकायमा ३३ प्रतिशत सहभागिताको कुरा स्थापित गर्ने नेकपा एमाले हो । स्थानीय तह निर्वाचनमा पनि हाम्रो पार्टीले अरूले भन्दा धेरै महिलालाई अवसर दिएको छ,’ एमाले केन्द्रीय सदस्य समेत रहेकी राईले भनिन्, ‘महिलाहरू प्रत्यक्षमा चुनाव लड्न सक्षम छन्, आगामी निर्वाचनमा म पनि प्रत्यक्षमै लड्ने हो ।’
बिन्दा पाण्डे
चुनावमा ३३ प्रतिशत महिलालाई टिकट दिनुपर्छ भनेर प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा छलफल गराएकी बिन्दा पाण्डे यसपटक प्रत्यक्ष चुनाव लड्न खोज्दैछिन् ।
संविधानसभा र २०७४ सालमा प्रतिनिधिसभामा समानुपातिक सांसद बनेकी पाण्डे यसपटक चुनाव उठ्ने तरखरमा लागेकी हुन् । उनी काठमाडौंकै कुनै क्षेत्र या नुवाकोटबाट चुनाव लड्ने सम्भावना रहेको एमाले नेताहरू बताउँछन् । एमालेनिकट जिफन्टमा लामो समय काम गरेकी पाण्डे संसदीय गतिविधि र नीति निर्माणमा सक्रिय सांसद हुन् ।
शान्ता चौधरी
नेकपा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरी पनि टिकट पाएमा दाङबाट चुनाव लड्ने मूडमा छिन् । उनको निर्वाचन क्षेत्र र महासचिव शंकर पोखरेलकै भएका कारण उनी कहाँबाट चुनाव लड्ने भन्ने टुंगो छैन ।
पार्टी महासचिव पोखरेलको चुनाव परिचालनमा खट्नुपर्ने भएकाले उनी समानुपातिकमा दोहोरिने सम्भावना पनि छ । विगतमा कमलरी पृष्ठभूमिबाट राजनीति शुरू गरेकी शान्ताले राजनीतिमा आएपछि आफूलाई सशक्त बनाउँदै लगेकी छिन् । उनी अहिले एमालेको पोलिटब्यूरो सदस्य छिन्।
एमालेका अन्य महिला नेत्री
पोलिटब्यूरो सदस्य जुली महतोले धनुषा ३ बाट चुनाव लड्ने सम्भावना छ । पति रघुवीर महासेठसँगै जुलीले पनि प्रत्यक्ष चुनाव लड्ने गृहकार्य गरिरहेको नेकपा एमाले धनुषाका नेताहरू बताउँछन् ।
प्रतिनिधिसभाको पूर्व उपसभामुख समेत रहेकी डा. शिवमाया तुम्बाहाम्फेले पनि प्रत्यक्ष चुनाव लड्ने सोच बनाएकी छिन् । उनले मोरङ– १ बाट टिकट पाउने सम्भावना छ ।
समानुपातिक सांसद गंगा चौधरी सत्गौवा दाङ १ बाट चुनाव लड्ने चर्चा छ । उनले अहिले शहरी विकास मन्त्री समेत रहेका मेटमणि चौधरीसँग प्रतिष्पर्धा गर्ने सम्भावना रहेको एमाले नेताहरू बताउँछन् ।
संविधानसभा निर्वाचनमा कास्की १ बाट निर्वाचित सीता गिरी ओलीले पनि प्रत्यक्षमा चुनाव लड्ने आकांक्षा राखेकी छिन् । यस्तै अखिलको अध्यक्ष बनिसकेकी र अहिले समानुपातिक सांसद नवीना लामा पनि टिकट पाए काभ्रेबाट चुनाव लड्ने पक्षमा छिन् ।
माओवादीमा जसले चुनाव लड्ने तरखर गर्दैछन्
पहिलो संविधानसभा निर्वाचनमा माओवादीका धेरै महिलाले प्रत्यक्ष चुनाव जितेका थिए ।
२०६४ सालमा माओवादीले महिला उम्मेदवार उठाएपछि अन्य दललाई पनि महिला सांसद बनाउन दबाब परेको थियो ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भने पम्फा भुसाल, वीना मगर र कमला रोकाले प्रत्यक्ष चुनाव जितेका थिए ।
पम्फा भुसाल
माओवादीबाट प्रत्यक्ष चुनाव लड्ने पहिलो पंक्तिकी नेत्री हुन्, पम्फा भुसाल । समानुपातिकमा बसे सूचीको पहिलो नम्बरमा पर्ने भएपनि उनले प्रत्यक्ष चुनाव लड्ने योजना बनाएकी छिन् ।
माओवादी केन्द्रले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये जित्ने सुनिश्चित भएको ललितपुर– ३ नै हो । माओवादीले उपत्यकामा रोज्ने पहिलो क्षेत्र नै ललितपुर– ३ हुने उक्त पार्टीका नेताहरू बताउँछन् ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भुसाल २०६४ सालको चुनावमा पनि यही क्षेत्रबाट चुनाव जितेका थिइन् ।
विद्यार्थी कालदेखि यही क्षेत्रमा राजनीति गरेकी भुसालको व्यक्तिगत लोकप्रियताका भोट छन् । २०७० सालको संविधानसभा चुनाव नलडेको समयमा पनि स्थानीयहरू समस्या लिएर उनकोमा जाने गरेका थिए ।
२०७४ सालको चुनावमा भुसालले २४ हजार ३२ मत प्राप्त गर्दा कांग्रेसका मदन अमात्यले २२ हजार २ सय २९ मत प्राप्त गरेका थिए । यो क्षेत्रमा गठबन्धनको बहुमत छ ।
वीना मगर
२०७४ सालको प्रतिनिधिसभा चुनावमा कलिलो उमेरमै कञ्चनपुर– १ बाट प्रत्यक्ष चुनाव जितेर सांसद बनेकी थिइन्, वीना मगर ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको निधन भएको केही दिनमा उनले चुनाव जितेकी थिइन् ।
चुनावी अभियान चलिरहेको समयमा प्रचण्डपुत्र प्रकाशको निधन भएको थियो । चुनाव जितेर आएपछि केपी ओली सरकारमा उनी खानेपानी मन्त्री बनिन् ।
वीनाले ३८ हजार ४ सय ६७ मत पाउँदा कांग्रेसका दिवानसिंह विष्टले १९ हजार २ सय १९ मत पाएका थिए । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा गठबन्धनको बहुमत छ ।
एमालेले १८ हजार ७७३ मत पाउँदा कांग्रेसले १८ हजार ७३२ मत पाएको थियो । माओवादीले १५ हजार २८९ र नेकपा एसले ३ हजार ५२१ मत पाएका थिए ।
कमला रोका
२०७४ सालको प्रतिनिधिसभामा माओवादीका लागि तेस्रो जीत निकाल्ने महिला नेत्री कमला रोका हुन् । उनले पूर्वी रुकुमबाट चुनाव जितेकी थिइन् ।
माओवादीको उद्गम थलो रहेको रुकुमबाट उनले १० हजार ४ सय मत पाउँदा कांग्रेसका हरिशंकर घर्तीले ४ हजार ४ सय ४ मत प्राप्त गरेका थिए ।
पूर्वी रुकुममा यसपटक पनि उनी दोहोरिन खोजेकी छिन् । उनी समानुपातिकमा बसेर अन्य कुनै नेता प्रत्यक्षमा लड्ने पनि सम्भावना छ ।
समानुपातिकबाट सांसद बनेकी पूर्वसभामुख ओनसरी घर्ती र जयपुरी घर्तीले चुनाव लड्न चाहेपनि रोल्पाबाट वर्षमान पुन नै दोहोरिने भएकाले उनीहरूको निर्वाचन क्षेत्रबारे अन्यौल छ ।
रेखा शर्मा, अमृता थापा, इन्दु शर्मा लगायत महिला नेत्रीहरूले पनि टिकट पाए प्रत्यक्षमा प्रतिस्पर्धा गर्न सकिने बताएका छन् ।
२०६४ सालको संविधानसभा चुनावमा प्रत्यक्ष जितेका धर्मशिला चापागाईं, पूर्णाकुमारी सुवेदी पनि टिकट पाएमा चुनाव लड्ने मूडमा छन् ।
अहिले समानुपातिक सांसद रहेकी चापागाईं संविधानसभामा झापाबाट र सुवेदी बाँकेबाट प्रत्यक्ष निर्वाचित हुन् । प्रदेश सांसद रहेकी दामाकुमारी शर्मा पनि चुनाव लड्न इच्छुक छिन् ।
अन्य दलका महिला सांसद
दुर्गा पौडेल
२०७४ सालको प्रतिनिधिसभामा ६ जना महिला मात्र प्रत्यक्ष निर्वाचित भएर आएका थिए । तीमध्ये राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल पनि एक हुन् ।
वामपन्थी गठबन्धनबाट चुनाव लडेकी दुर्गा पौडेल अहिले सत्ता गठबन्धनमा सहभागी छन् । उनले यसपटक पनि प्यूठानबाट चुनाव लड्ने तयारी गरेकी छिन् ।
अघिल्लोपटक पौडेलले ४७ हजार मत ल्याउँदा कांग्रेसका डा. गोविन्द पोखरेलले ३१ हजार २ सय ८६ मत पाएका थिए । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा प्यूठानमा कांग्रेस र माओवादीले समान ३ पालिका जित्दा एमाले दुई स्थानमा खुम्चिएको थियो । जनमोर्चाले एक मात्र पालिका जितेको छ ।
वडामा पाएको भोटका हिसाबले एकल रूपमा एमाले सबभन्दा बलियो छ, तर गठबन्धनको समग्र भोट भने एमालेको भन्दा बढी छ ।
यो क्षेत्रबाट वामदेव गौतमले पनि चुनाव लड्न इच्छा व्यक्त गरेका छन् । माओवादीको चुनाव चिह्नबाट उम्मेदवारी दिने सहमति गरेका वामदेव सकेसम्म यही क्षेत्रबाट चुनाव लड्न चाहन्छन् ।
रामकुमारी झाँक्री
नेकपा एसकी सचिव रामकुमारी झाँक्रीले यसपटक प्रत्यक्षतर्फ चुनाव लड्न खोजेकी छिन् । उनी काठमाडौंको कुनै क्षेत्र या गुल्मी– २ बाट चुनाव लड्ने चर्चा छ । विद्यार्थी राजनीतिबाट स्थापित झाँक्री अहिलेसम्म प्रत्यक्ष चुनाव लडेकी छैनन् । सत्ता गठबन्धनबीच तालमेल गर्दा काठमाडौंमा नेकपा एसले बढीमा २ सीट पाउने सम्भावना छ । माधव नेपालले चुनाव लड्दै आएको २ नम्बर र अहिले संस्कृति, पर्यटन मन्त्री रहेका जीवनराम श्रेष्ठको ८ नम्बरमा एसको दाबी छ ।
झाँक्रीले लड्न चाहेको काठमाडौं– १ प्रकाशमान सिंहको क्षेत्र भएकाले कांग्रेसले अरूलाई दिने सम्भावना छैन । त्यसो हुँदा उनी गुल्मी– २ बाट प्रत्यक्ष चुनाव लड्नुपर्नेछ । गुल्मी– २ एमाले सचिव गोकर्ण विष्टले जित्दै आएको क्षेत्र हो ।
नेकपा एसबाट अन्य केही महिला नेत्री पनि प्रत्यक्षमा चुनाव लड्ने सम्भावना छ । माधव नेपाल काठमाडौं २ बाट चुनाव लडेमा रौतहट १ बाट सरलाकुमारी यादव या कल्याणी खड्काले चुनाव लड्न सक्ने एसका एक नेताले बताए । स्थानीय तह निर्वाचनको नतिजामा रौतहट– १ मा नेकपा एस सबैभन्दा बलियो छ ।
हिसिला यमी र मानुषी पनि
नवगठित जनता समाजवादी पार्टी नेपालकी उपाध्यक्ष हिसिला यमी पनि काठमाडौंबाट प्रत्यक्ष चुनाव लड्ने तयारीमा छिन् । नेकपा माओवादीको चुनाव चिह्न हँसिया हथौडाबाट चुनाव लड्ने गरी दुई पार्टीबीच सहमति भएको छ ।
हिसिला २०६४ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं– ७ बाट विजयी भएकी थिइन् । पछि उनले सोही क्षेत्रमा एमालेका रामवीर मानन्धरसँग चुनाव हारेकी थिइन् ।
बाबुराम–हिसिलापुत्री मानुषी यमी भट्टराई पनि काठमाडौंबाट प्रत्यक्ष चुनाव लड्ने तरखरमा छिन् । मानुषीले काठमाडौं– ५ या ७ बाट उम्मेदवारी दिने तयारी गरेकी छिन् ।
हिसिला या मानुषीमध्ये एकजना मात्र चुनाव लड्ने सो पार्टीका एक नेताले बताए ।
भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं– ७ मा कांग्रेसको धेरै मत छ । कांग्रेसले १४ हजार १६७ मत पाउँदा एमालेले १२ हजार २०२ मत पाएको थियो ।
नेकपा एसले ३ हजार ८३९ मत पाउँदा राप्रपाले २ हजार २७ र माओवादीले ५ सय ७६ मत पाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अशिम शाहले क्रिकेट खेलाडीलाई दिने भनिएको पुरस्कार रकम नदिएको भन्दै सरकारको आलोचना गरेका छन् । मंगलवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद शाहले सरकारले खेला...
भूकम्पका कारण बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ४ गोलाईमा विद्यालय भवन भत्किएको छ । मंगलवार दिउँसो आधा घण्टाको बीचमा दुईपटक भूकम्प जाँदा बालविकास माध्यमिक विद्यालय गोलाईको भवन भत्किएको हो । पहिल...
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद ईश्वरबहादुर रिजालले वर्तमान सरकारको मुखमा लक्षिन नभएको भन्दै उसले गरेका सबै निर्णय उल्टो हुने गरेको टिप्पणी गरेका छन् । मंगलवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयम...
प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको विरोध गर्ने सांसदको सातो लिन खोजिएको आरोप लगाएका छन् । मंगलवार प्रतिनिधिसभा बैठकमा समय लिएर ओलीले कांग्रेस सांसद डा. सुनिल शर्...
सरकारले आसन्न चाडपर्वहरूको अवसरमा उच्च माग हुने खाद्य तथा गैर खाद्य वस्तुहरूको कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धि, कालोबजारी र अखाद्य वस्तु मिसावट गरी गुणस्तरहीन वस्तु विक्री वितरण गर्नेजस्ता अनुचित कार्...
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यसपटक विश्वासको मत नदिने भएको छ । यसअघि प्रदेश सरकारमा सहयात्री बनेको राप्रपाले योपटक भने विश्वासको मत नदिने भएको ह...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...