
हाम्रो पात्रो एपको ‘हाम्रो पात्रो हेल्थ’ सेवाको नयाँ संस्करणमा विभिन्न सुविधाहरू थपिएका छन् ।
स्वास्थ्यसँग सम्बन्धित समस्या तथा जिज्ञासाहरूको बारेमा घरमै बसेर विज्ञ डाक्टरसँग परामर्श लिन सकिने यो सेवाले छोटो समयमै प्रयोगकर्ताहरूबाट पाएको उत्साहजनक सहभागिताले हाम्रो पात्रोको टीमलाई सुविधाहरू थप्न हौस्याएको बताइएको छ ।
देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मूलका मानिसहरूको दैनिक तथा सांस्कृतिक जीवनमा महत्त्वपूर्ण साथी बन्न सफल लोकप्रिय हाम्रो पात्रो एपले, विज्ञ डाक्टरसँग स्वास्थ्य समस्या भएका र स्वास्थ्य सेवा जिज्ञासु मानिसहरूको सहज पहुँच होस् भन्ने उद्देश्यले यो सेवा शुरू गरेको छ ।
‘अहिले थपिएका सुविधाहरूमा विशेषज्ञ डाक्टरहरूले आफ्नो उपलब्धता राख्न सक्ने र उक्त समय तालिका अनुसार सेवा उपभोक्ताले विशेषज्ञ डाक्टरहरूसँग अपोइन्टमेन्ट लिएर र डाक्टरसँग कुराकानी गर्न सकिने छ । पहिलेको अनलाइन डाक्टरसँग तत्काल कुरा गर्न सकिने सेवा यथावत् नै रहेको छ,’ हाम्रो पात्रोद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।
यसअघि बिरामी र डाक्टर २ जना मात्र कलमा सहभागी हुन सकिने सुविधालाई पनि आफ्नो आवश्यकता अनुसार परिवार या सहयोगी थप्न या बहुविधाका डाक्टरहरूले कन्फरेन्स कल गरेर एकैपटक कुराकानी गर्न सकिने सुविधामा अपग्रेड गरिएको जनाइएको छ ।
यसै सन्दर्भमा हाम्रो पात्रो इंकका फाउन्डर तथा सीईओ शंकर उप्रेतिले यो नयाँ सुविधा आएपछि वैदेशिक रोजगारी र अध्ययनको क्रममा विदेशमा या देशभित्रै परिवारबाट टाढा भएका हरेक व्यक्तिले आफ्ना आमाबुवा तथा परिवारका सदस्यको स्वास्थ्य परामर्शमा परिवारका सदस्यहरूसँग कन्फरेन्स कलमा बस्न सक्ने बताए । उनले यो थपिएका सुविधाहरूले प्रयोगकर्ताहरूको दैनिक स्वास्थ्य समस्या तथा जिज्ञासाहरूको समाधान गर्न थप सहयोगी हुने विश्वास प्रकट गरे ।
त्यसबाहेक अनलाइन र व्यस्त डाक्टरको डाक्टरको विशेषज्ञता र अनुभवको सूची हेरेर बिरामीलाई कुन डाक्टरसँग कुरा गर्ने भन्ने सजिलै निर्णय गर्न यो अपडेटले सजिलो बनाउन सेवाहरू थपेको छ । डाक्टरले आफ्नो अनुभवको आधारमा एपमा आफ्नो सेवाशुल्क निर्धारण गर्न सक्नेछन् । डाक्टरले आफ्नो समय अनुकूल मिलाएर बिरामीका लागि उपलब्ध हुने समय तालिका अपडेट गर्न सक्नेछन् र सेवाग्राहीलाई डाक्टरले तोकेको समयावधिभित्र निःशुल्क फलो–अपको सुविधा पनि राखिएको छ । यसका साथै बिरामीले डाक्टरलाई उनीहरूको परामर्शको आधारमा रेटिङ र रिभ्यु पनि गर्न सक्नेछन् ।
अहिले व्यस्त जीवनशैलीका कारण आफ्नो स्वास्थ्यमा समय दिन नसकिरहेका मानिसहरूलाई पनि यो सेवा अति उपयोगी भएको पाइएको छ । साना स्वास्थ्य समस्या तथा जिज्ञासाहरूमा पनि डाक्टरलाई भेट्न थुप्रो समय खर्च गर्नुपर्ने र असहजता भोग्नुपर्ने अवस्थालाई हाम्रो पात्रो हेल्थले सहज बनाएको छ ।
विज्ञप्तिमा उल्लेख छ, ‘प्रविधिको माध्यमबाट इन्टरनेट उपलब्धता भएको जुनसुकै सुगम र दुर्गम ठाउँका सबै स्थानमा टेलिहेल्थको सेवा सबैको लागि सहयोगी मात्र भएको छैन, खर्च र समयको पनि बचत गरेको छ र अनावश्यक यात्रा घटाएको छ ।’ कतिपय स्थानहरूमा उचित स्वास्थ्य परामर्शको अभावमा धेरै मानिसहरूले समस्या भोग्नुपरेको छ । सम्पूर्ण नेपालीहरूलाई सहज रूपमा स्वास्थ्य परामर्श उपलब्ध गराउन र भौगोलिक र आर्थिक विविधताका बाबजुद स्वास्थ्य सेवाको आवश्यकता र उपलब्धताको विषमतामा प्रविधिको माध्यमबाट सहजता निर्माण गर्ने उद्देश्यले हाम्रो पात्रो एपले हाम्रो हेल्थ शुरू गरेको थियो ।
प्रयोगकर्ताले हाम्रो पात्रोको यो सेवा प्रयोग गर्न एन्ड्रोइड र गुगल प्ले स्टोरमा गएर तथा आईओएस एप स्टोरमा गएर हाम्रो पात्रोको एप डाउनलोड अथवा अपडेट गर्नुपर्नेछ । साथै वेबसाइटबाट समेत हाम्रो पात्रो हेल्थ सेवा प्रयोग गर्न सकिने छ ।