
नेपाल विद्यालय कर्मचारी परिषद्ले शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमीमा बुधवार धर्ना दिएको छ ।
सरकार र नेपाल शिक्षक महासंघबीच भएको सम्झौता कार्यान्वयन गर्न माग गर्दै उनीहरूले धर्ना दिएका हुन् ।
सरकारले विद्यालय कर्मचारीलाई विभेद गरेको र आफैंले गरेको सहमति पालना नगरेका कारण काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिनु परेको नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगा तिवारीले बताए ।
सरकारसँग भएको सहमति कार्यान्वयन गर्न पटक–पटक माग गर्दा पनि सुनुवाइ नभएको भन्दै उनले सर्वोच्च अदालतले दिएको निर्देशन कार्यान्वयन गर्नुपर्ने, सरकार र महासंघबीच भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने, तत्काल पूर्ण सेवा सुविधाको ग्यारेन्टी गर्नुपर्ने, विद्यालय कर्मचारी सहायक लेखापालको तलब ३६ हजार ७३० रुपैयाँ र विद्यालय सहयोगीको तलब २६ हजार २१० रुपैयाँ कायम गरिनुपर्ने माग राखेको बताए ।
आर्थिक वर्ष २०७९/८० मा सरकारले वृद्धि गरेको १५ प्रतिशत तलब वृद्धि विद्यालय कर्मचारीको हकमा पनि लागू हुनुपर्ने, निजामती कर्मचारी तथा शिक्षकलाई दिइरहेको महंगी भत्ता २ हजार उपलब्ध गराउनुपर्ने, विद्यालय कर्मचारीको कोटालाई तहगत दरबन्दीमा परिणत गरिनुपर्ने र विद्यालयमा ६० वर्षसम्म कार्यरत रहेर अवकाश भएका कर्मचारीलाई तहगत रूपमा निजामती कर्मचारीले पाए सरहको सेवा सुविधा दिनुपर्ने लगायतको माग राखेर उनीहरूले धर्ना दिएका हुन् ।
अध्यक्ष तिवारीले बुधवार शिक्षा तथा मानव विकास स्रोत केन्द्र अगाडि दिनभर धर्ना दिने र भदौ २ गते बिहीवारदेखि केन्द्रमा तालाबन्दी गरी अनिश्चितकालीन धर्नामा बस्ने जानकारी दिए ।