
एक मात्र निर्वाचन क्षेत्र रहेको १ नम्बर प्रदेशको पहाडी जिल्ला पाँचथरमा मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर चुनावी माहौल तात्न थालेको छ । चुनावमा पुरानै उम्मेदवारको जम्काभेट हुने अनुमान गरिएको छ ।
२०७४ सालको चुनावजस्तै पुरानै नेताबीच हुने प्रतिस्पर्धाले झन् रोचक बनाउने अनुमान गरिएको छ । नेकपा एमालेबाट नेता वसन्तकुमार नेम्वाङ र नेपाली कांग्रेसबाट सहमहामन्त्री भीष्मराज आङ्देम्बेबीच प्रतिस्पर्धा हुने देखिएको हो ।
२०४८ र २०५६ सालका २ वटा चुनावमा नेम्वाङ विजयी भएका थिए । २ वटै चुनावमा कांग्रेसका दीपक बाँस्कोटालाई नेम्वाङले हराएका थिए । २०५१ सालको चुनावमा नेम्वाङलाई बाँस्कोटाले हराएका थिए । २०७४ सालको चुनावमा नेम्वाङ विजयी हुँदा आङ्देम्बे पराजित बनेका थिए ।
२०५६ र २०६४ सालमा डम्बरसिंह सम्बाहाङ्फेले आङ्देम्बेलाई हराएका थिए । २ वटा निर्वाचन क्षेत्र हुँदा २०७० सालको निर्वाचनमा सहमहामन्त्री आङ्देम्बेले तिनै सम्बाहाङ्फेलाई हराउँदै संसद भवन छिर्ने बाटो बनाएका थिए ।
४ पटक टिकट पाउँदा १ पटक मात्रै आङ्देम्बे निर्वाचित भएका थिए । यसपटक लोकतान्त्रिक गठबन्धन बनेकाले कांग्रेसमा देउवाका विश्वास पात्र मानिएका आङ्देम्बे गठबन्धनकै सहयोगबाट चुनाव जितेर अघिल्ला पटकको हारमा मल्हम लगाउने तयारीमा छन् ।
नेम्वाङ पनि चुनाव जितेर एमाले फुटे पनि त्यसको असर नपरेको देखाउन चाहन्छन् । केपी ओली प्रधानमन्त्री भएका बेला भौतिक पूर्वाधार मन्त्री बन्दा जिल्लामा उनले गरेका कामले नेम्वाङ जनताबीच लोकप्रिय छन् ।
यी २ बलिया उम्मेदवारबीच यसअघि १ पटक प्रतिस्पर्धा भएको थियो । पहिलो प्रतिस्पर्धाको परीक्षामा नेम्वाङ विजयी भएका थिए । यस पटकको परीक्षामा नेम्वाङले जित्नका लागि ठूलो कसरत गर्नुपर्ने पाँचथर एमालेका जिल्ला स्तरीय नेताहरू बताउँछन् ।
गठबन्धनलाई उम्मेदवार मिलाउन नै सकस
पाँचथरबाटै प्रदेश सभामा जितेका माओवादीका इन्द्रबहादुर आङ्वो ‘मौसम’ले गठबन्धनमा नयाँ च्याँखे थापेका छन् । उनी १ नम्बर प्रदेशका प्रभावशाली मन्त्री पनि हुन् ।
नेकपा हुँदा आर्थिक मामिला तथा योजना मन्त्री बनेका आङ्बो नेकपा फुट्दा पनि मन्त्री बने ।
‘म सांसद बन्नका लागि प्रदेशमा उठ्दिनँ भनेको छु । अब प्रदेशमा मन्त्री पनि हुन्न भनेको छु । मुख्यमन्त्री दिने भए मात्रै प्रदेशमा उठ्छु भनेर केन्द्रका नेताहरूलाई भनेको छु ।
मुख्यमन्त्री नदिने भए गठबन्धन नभए एक्लै पनि संघमा उठ्छु,’ उनले भने । यसअघि गठबन्धनको मुख्यमन्त्री माओवादीले पाउने गरी केन्द्रीय नेताहरूबीच सहमति भएको समेत उनले दाबी गरे ।
स्थानीय तहको परिणाम हेर्दा को बलियो ?
स्थानीय तह निर्वाचनमा वडाध्यक्षलाई आएको परिणाम हेर्दा नेकपा एमालेले ३० हजार ९५८, नेपाली कांग्रेसले २५ हजार ६५, नेकपा माओवादी केन्द्रले ११ हजार ८०८, जनता समाजवादी पार्टी (जसपा) नेपालले २ हजार ६४३, नेकपा एकीकृत समाजवादीले २ हजार १६१, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ९०९ मत पाएका छन् । वडागत मतका आधारमा एमालेको सबैभन्दा बढी मत भए पनि सत्ता गठबन्धनका दलहरूको मत एमालेभन्दा साढे १२ हजार बढी छ ।
८ स्थानीय तह रहेको पाँचथरमा गत निर्वाचनमा गठबन्धन हुँदा कांग्रेसले ६ पालिका प्रमुख र १ उपप्रमुख जितेको छ । एमालेले १ प्रमुख र २ उपप्रमुख जितेको छ । माओवादीले ६ उपप्रमुख र १ प्रमुख जितेको छ ।
जिल्लाका ८ पालिकामध्ये ६ पालिका जित्दै कांग्रेस पहिलो दल बनेको छ भने एमाले र माओवादीले १–१ पालिका जितेका छन् । कांग्रेसले कुम्मायक, तुम्मवेवा, फालेलुङ, फाल्गुननन्द र हिलिहाङ गाउँपालिकासहित फिदिम नगरपालिका जितेको छ भने माओवादीले मिक्लाजुङ गाउँपालिका र एमाले याङवरक गाउँपालिका जितेका छन् ।
६० वडा रहेको जिल्लामा कांग्रेसले २२ वडा जितेको छ भने एमालेले १७ वडा, माओवादीले १२ वडा, स्वतन्त्रले ३ वडा, नेकपा एकीकृत समाजवादीले ३ वडा जितेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २ वडा जितेका छन् ।
गत स्थानीय तहको परिणाम हेर्ने हो भने एमालेका लागि असहज हुने देखिएको छ । २०७४ सालको निर्वाचनमा नेम्वाङले फराकिलो मतान्तरले कांग्रेसका आङ्देम्बेलाई पराजित गरेका थिए । नेम्वाङले ३८ हजार ६१६ मत पाउँदा आङ्देम्बेले २८ हजार ३५ मत प्राप्त गरेका थिए । दुवै नेताबीच १० हजार ६१६ मतान्तर थियो ।