
लोकतन्त्रको सुन्दर पक्ष भनेको जनताले जनताका लागि योग्य नेतृत्व छनोट गरी असल शासनको अनुभूति गर्नु/गराउनु हो । आवधिक निर्वाचनबाट निश्चित समयका लागि योग्य र सक्षम जनप्रतिनिधि निर्वाचित गरी शासकीय प्रभावकारिता बढाउन राजनीतिक भूमिका महत्त्वपूर्ण छ । राजनीतिक भूमिकाले नै अरू शासकीय पात्र र संयन्त्रलाई परिचालन गर्ने हुँदा शासकीय नेतृत्वमा राजनीति नै मुख्य परिचालक हो ।
विश्व परिवेशलाई हेर्दा विकसित देशहरूमा स्वच्छ, गतिशील र उत्तरदायी राजनीतिक भूमिकाबाट शासकीय प्रभावकारिता देखिएको अवस्था छ । राजनीतिमा धेरै मानिसको संलग्नता देखिँदैन । राजनीतिमा लागेकाहरू पनि पेशा व्यवसायमा व्यस्त हुने र निर्वाचनको समयमा मात्र केही सक्रिय भएको पाइन्छ । नेतृत्वमा नैतिकता, इमान्दारिता, जिम्मेवारीपन र उत्तरदायित्वको सन्तोषजनक अवस्था देखिन्छ ।
केही विकासशील एवं अल्पविकसित देशहरूमा राजनीतिको स्वच्छ र गतिशील भूमिका कमजोर भई जनतामा राजनीतिक चेतना कम भएका कारण राजनीतिज्ञलाई मालिक ठान्ने र जनतालाई मतबैंकका रूपमा हेर्ने प्रवृत्तिले शासकीय भूमिकामा राजनीतिको सन्तोषजनक अवस्था देखिँदैन । बेरोजगारी र चेतनाको कमीले राजनीतिको सरोकारमा सधैँ सक्रिय भएको तर आर्थिक उपार्जन र अन्य क्षेत्रमा ध्यान दिएको पाइँदैन ।
नेपालको शासकीय व्यवस्थामा राजनीतिक प्रभाव बढ्दो छ भने राजनीतिक भूमिका सन्तोषजनक नभएको गुनासो रहेको छ । राजनीतिक सोच र व्यवहारबीचमा अन्तर बढ्दै गएको छ । जनतामा राजनीतिक चेतनाको कमीका कारण राजनीतिक छनोट प्रक्रियामा जनताको दबाब र प्रभावको कमी देखिन्छ ।
राजनीतिक नेतृत्वलाई शासकीय रूपमा सर्वस्वीकार्य बनाउन सकिएको छैन । पटक–पटकको क्रान्तिपछि प्राप्त उपलब्धिलाई संस्थागत गर्न सकिएको छैन ।
विधि पद्धतिको पालनामा कमी कमजोरी देखिएका छन् । संघीय शासन पद्धतिको संस्थागत प्रभावकारिता बढाउन नसक्दा संघीय शासनप्रति वितृष्णा बढ्दै गएको छ । राजनीतिक नेतृत्वले अरू शासकीय पात्र र सयन्त्रलाई क्रियाशील बनाउन नसक्दा जनसन्तुष्टिमा ह्रास आएको छ । शासनका सहभागीहरूबीच समन्वय र सहकार्यको कमजोर अवस्थाले शासनको प्रभावकारिता बढाउन सकिएको छैन ।
जनताको अपेक्षा र शासकीय तत्परता बीचमा ठूलो अन्तर देखिएकाले शासकीय प्रभावकारिता हुन नसकेको आरोप छ । राजनीति नेतृत्वले नागरिक र शासनबीच सौहार्द वातावरण बनाउन मूख्य भूमिका निर्वाह गर्नु पर्ने हो तर शासनप्रति नागरिकको गुनासैगुनासो रहेको पाइन्छ । नेपालको शासकीय भूमिकामा संलग्न मूख्य पात्रहरूको भूमिका निम्नानुसार चित्रण गरेको पाइन्छ ।
शासकीय क्रियाकलापमा प्रस्तुत विवरणले सकारात्मक सन्देश दिन सकेको देखिँदैन । मूख्य शासकीय भूमिकामा रहेका संयन्त्रहरूले आ–आफ्नो भूमिका निर्वाह गर्न नसक्दा समग्र शासनमा कमजोर अवस्था हुन पुग्यो । राजनीतिक भूमिकाको कमजोर अवस्था नै यसको परिणाम हो ।
शासकीय प्रभावकारिता बढाउन राजनीतिले महत्त्वपूर्ण भूमिका खेल्न दुरदृष्टि र सोचसहित अन्य शासकीय सयन्त्रलाई सक्रिय बनाई असल शासनको प्रत्याभूत गर्न राज्य र नागरिक लाग्नु पर्दछ ।
नेपालको शासकीय सुधारमा राजनीतिको भूमिकालाई यसरी प्रभावकारी बनाउनु पर्दछ–
पहिलो, राजनीतिले समग्र शासनको चित्र कोर्ने र सोहीअनुसार अन्य संयन्त्रलाई परिचालन गर्न रणनीतिसहित अघि बढ्नु पर्छ । जनताको अपेक्षाको भार अन्य संयन्त्रले लिनुपर्ने र गैरराजनीतिक क्रियाकलापमा तटस्थ र निष्पक्ष भई शासकीय उत्तरदायित्व निर्वाह गर्न तत्परता देखाउनुपर्दछ ।
दोस्रो, जनताको समग्र स्थितिमा आफ्नो भूमिका के हो स्पष्ट हुने र आफ्नो कर्तव्य र जिम्मेवारीको कार्ययोजना बनाई कार्यान्वयनमा जानु पर्दछ । माथि उल्लेखित अवस्थामा कहाँ कसको कमी कमजोरी रह्यो, सुधारको पाटो के हो र कसरी आफ्नो भूमिकामा प्रभावकारिता ल्याउन सकिन्छ भन्ने विषयमा सजक बन्नु आवश्यक छ ।
तेस्रो, शासकीय जिम्मेवारी पूरा गर्न विधि, स्रोत साधन र संयन्त्रहरूको व्यवस्थापन गर्ने र आफ्नो जिम्मेवारी पूरा गर्न राज्यका मुख्य समस्या र चुनौतीहरूको तालिका बनाई अन्तर भिन्नताको पूर्ति गर्न प्राथमिकता तोकी अघि बढ्नुपर्ने हुन्छ ।
चौथो, राज्यको सुशासन, लैंगिक समानता, समावेशी शासन, कानूनी शासन र विश्वले अवलम्बन गरेको दिगो विकास लक्ष्य हाँसिल गर्न शासकीय भूमिकामा सहभागीहरूलाई जिम्मेवार बनाउन राजनीतिले दिशानिर्देश गर्नुपर्छ ।
पाचौं, राज्यको उत्पादन, वितरण र उपभोगको सरलीकरण गर्ने, रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर अर्थतन्त्रका लागि शासकीय संयन्त्रलाई प्रभावकारी बनाउन राजनीतिले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्दछ ।
छैटौं, शासकीय प्रभावकारिता बढाउन राज्य एक्लैको प्रयास कमजोर हुने हुँदा अन्तर्राष्ट्रिय सम्बन्ध बढाई विश्व साझेदारीका लागि पहल गर्नुपर्ने हुन्छ । राजनीतिक नेतृत्वले अन्तर्राष्ट्रिय समझदारी बनाउन सरकार, निजी क्षेत्रसहित संस्थागत सक्रियताको खाँचो देखिन्छ ।
अन्त्यमा, नागरिकको अत्यावश्यक सेवा प्रवाह गर्ने, आकस्मिक सेवाका लागि तत्पर रहने, सार्वजनिक काममा नागरिक परिचालन गर्ने र अपनत्व गराउने, सार्वजनिक सम्पत्तिको संरक्षण र उपयोग गर्ने जस्ता महत्त्वपूर्ण काममा राजनीतिक नेतृत्वले अरू शासकीय संयन्त्रसँग समन्वय गरी परिचालन गर्नु/गराउनु पर्दछ ।
शासकीय सक्रियताका लागि राजनीतिले मुख्य भूमिका निर्वाह गरी कमजोर अवस्थालाई सुदृढ गर्न राजनीतिक अग्रसरता चाहिन्छ । राजनीतिक क्रियाशीलताले प्रभावकारी शासनको सुखद् अनुभूति दिने हुँदा राजनीतिको सुधार गर्न नागरिक सचेत र सक्रिय हुनुपर्ने देखिन्छ ।
नागरिकले असल नेतृत्व छनोट गर्ने, छनोट भएको नेतृत्वलाई क्रियाशील बनाउने, शासनको बागडोर समाल्न निजी क्षेत्र, संघ–संस्था र नागरिक समाजको समन्वय गरी परिचालन गर्ने र असल शासनको लाभ स्वयं नागरिकले प्राप्त गर्ने हुँदा शासकीय भूमिकामा राजनीतिले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नैपर्ने हुन्छ ।