०९ असार २०८३, मंगलबार

शिवाङमा सुविधायुक्त छात्रावास निर्माण

शिवाङमा सुविधायुक्त छात्रावास निर्माण

पश्चिम म्याग्दीको दुर्गम गाउँ शिवाङमा गण्डकी प्रदेश सरकारको २ करोड रुपैयाँभन्दा बढी लगानीमा सुविधा सम्पन्न छात्रावास निर्माण गरिएको छ । छात्रावास निर्माणपछि विद्यार्थीलाई सहज भएको छ । 

धौलागिरि गाउँपालिका–७ शिवाङस्थित हेम माध्यमिक विद्यालयमा छात्रावास निर्माण गरिएको हो ।

दशैंपछि नयाँ भवनमा विद्यार्थी राख्ने तयारी रहेको प्रधानाध्यापक शेरबहादुर केसीले जानकारी दिए । २४ कोठे ३ तले भवनमा ८० विद्यार्थी राख्न सकिने क्षमताको छ ।

‘विद्यार्थीको हेरचाह र खानपानको व्यवस्था मिलाउन ३ कर्मचारीको व्यवस्था गरेका छौं,’ उनले भने । 

४ वर्षअघि प्रदेश सरकारको नमूना आवासीय विद्यालय कार्यक्रमअन्तर्गत छनोट भएपछि छात्रावास निर्माण थालिएको हो । भवन निर्माणपछि विद्यालयले विद्यार्थीलाई आवासीय सुविधा दिएको छ ।

विद्यालयमा नै आवासीय सुविधा पाउने भएपछि भिर, पहरो, जंगल र खोलाको बाटो छिचोल्दै दैनिक ३–४ घण्टा हिँडेर विद्यालय आउजाउ गर्ने विद्यार्थीलाई अब सहज भएको छ । ‘अभिभावक समेत खुशी भएका छन्,’ प्रधानाध्यापक केसीले भने । 

छात्रावासको सुविधा भएपछि बीचमा नै पढाइ छोड्ने क्रम घट्ने केसी बताउँछन् । गरीबी र पारिवारिक वातावरण नभएर पढाइ छोड्न बाध्य विद्यार्थी लाभान्वित हुनेछन् । यसअघि    जीर्ण छात्रावासमा निकै असुविधा थियो ।

आवासीय सुविधा प्रदान गर्न गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ देखि विद्यालयमा नमूना आवासीय विद्यालय कार्यक्रम लागू गरेको थियो । विद्यालय नजिकको झिनडाडाँमा भवन निर्माण गरिएको हो ।

गाउँपालिकाका शिक्षा शाखाका प्राविधिक सहायक ख्यामराज सुवेदीका अनुसार छात्रवास व्यवस्थापनका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्